• २८ असोज २०८२, मङ्गलबार

पहिरोले माइजोगमाई गाउँपालिकाको प्रशासनिक भवनमा एक करोडको क्षति

blog

पहिरोले क्षति गरेको माइजोगमाई गाउँपालिकाको कार्यालयभित्रबाट लेदो निकाल्ने काम गर्दै सुरक्षाकर्मी । तस्बिर : प्रेम अधिकारी

प्रेम अधिकारी 
पशुपतिनगर(इलाम)असोज २८ गते ।
यही असोज १८ गते अविभर वर्षासँगै माथिबाट झरेको पहिरो इलामको माइजोगमाई गाउँपालिकाको मुख्य प्रशानिक भवमा पस्दा एक करोड बराबरको क्षति भएको छ । गाउँपालिकाको भवनभन्दा माथिबाट पहिरो पालिकाको झ्यालबाट भित्र पस्दा एक करोड बराबरको क्षति भएको हो ।

लेदोसहितको पहिरोले गाउँपालिकाका प्रायः सबै कोठा पुरिएको गाउँपालिकाका विपद् फोकल पर्सन गोकुल संजेलले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाभित्र रहेको प्राविधिक शाखा र लेखा शाखामा पूरै क्षति गरेको छ । अन्य शाखा समेत लेदोसहितको पहिरोले पुरिएको छ ।

पहिरोले पालिकाभित्र रहेका सबै फाइल नष्ट भएका छन् भने एक दर्जनभन्दा बढी ल्यापटप, कम्प्युटर, दराज, टेबल, कुर्सी, कार्पेट आदिको क्षति भएको छ ।

पालिकाभित्रको लेदो हटाउन नेपाली सेना र सशस्त्र प्रहरीले कोशिस गरे पनि सम्भव नभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले जानकारी दिनुभयो ।

पालिकाभित्रको माटो निकाल्न पर्याप्त जनशक्ति नहुँदा अझै तीन/चार दिन लाग्ने भएको छ । विपदको समयमा कार्याल भित्र पस्नेसम्म अवस्था नभएपछि पालिकालाई काम गर्न समस्या भएको छ । फोकल पर्सन संजेलले भन्नुभयो, ‘‘पालिकाभित्र पस्ने अवस्था छैन, बाहिरै बसेर काम गर्नुपर्ने अवस्था छ ।’’

पालिकामा भएको क्षतिबारे इलामका प्रमुख जिल्ला अधिकारी सुनीता नेपालसहित सुरक्षा प्रमुखहरुले अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।

बाढीपहिरोले माइजोगमाई ६ प्याङमा दुई परिवारका ८ जनाको मृत्यु भएको थियो । यस्तै पालिक भित्र ४७ घरपरिवार पूर्ण रुपमा र ८० घरपरिवारको आंशिक क्षति भएको कार्यालयले जनाएको छ ।

बाढीले पालिकाभित्र रहेका रुलुक, अर्चले पुल, जोगमाई खोला बेलीब्रिज बगाएको छ भने  माइखोला बज्रदेवीको पक्की पुलको एक भागमा क्षति गरेको छ ।

गाउँपालिकामा बसेको सर्वदलीय बैठकले गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेको संयोजकत्वमा राहत वितरण समन्वय समिति गठन गरेको छ ।

बाढीपहिरो लगायतका प्राकृतिक प्रकोपका कारण पुग्न गएको भौतिक तथा मानवीय क्षतिपछि विभिन्न दातृ संस्था, निकाय तथा व्यक्तिबाट गाउँपालिकामा प्राप्त भएका राहत, जिन्सी सामग्री वितरणका लागि स्थानीय राजनीति दल र सरोकारवाला सम्मिलित पालिका स्तरीय विपद् राहत वितरण तथा उद्धार समन्वय समिति गठन गरिएको पालिकाले जनाएको छ ।

गाउँपालिका उपाध्यक्ष प्रविना राईले पालिकाका सबै ठाउँमा बाढी पहिरोले क्षति गरेका कारण भएका स्रोत साधन प्रयोग गरी सडक खुलाउने काम भइरहेको जानकारी दिनुभयो । उहाँले राहत वितरणसँगै पीडितको पुनःस्थापनाका लागि सबैसँग समन्य भइरहेको जानकारी दिनुभयो ।