अनिल पराजुली
हेटौँडा, असोज २८ गते । मकवानपुरको राक्सिराङमा चार्जमा राखेको मोबाइल पड्केर घरमा आगलागी भएको छ । राक्सिराङ गाउँपालिका–७ झ्याङजुवाङमा सोमबार दिउँसो सोलारको ब्याट्रीमा मोबाइल चार्ज गर्ने क्रममा मोबाइलको ब्याट्री पड्केर शेरबहादुर प्रजाको घरमा आगलागी भएको भएको हो ।
मोबाइलको ब्याट्री पड्किन गई कुर्सीमा आगलागी हुँदा सोही आगोबाट ढुङ्गा माटोले बनेको जस्ताको छानो भएको कच्ची घरमा आगो सल्किन जाँदा घर र घरभित्र रहेको अन्नपात, लत्ताकपडा लगायतका सामानहरू जली पूर्ण रूपमा क्षति भएको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
घरबाट नागरिकता निकाल्ने क्रममा २६ वर्षीय प्रजाको दाहिने कान र घाँटीमा आगोले पोलेको छ । पोलेर घाइते भएका प्रजाको घरायसी उपचार गरिएको छ । आगो स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।
आगलागीबाट भएको क्षतिको यकिन विवरण खुल्न सकेको छैन । घटना भएको स्थान विकट रहेकाले थप जानकारी लिनका लागि प्रहरी चौकी कान्द्राङबाट प्रहरी गइरहेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले बताउनुभयो ।