• २८ असोज २०८२, मङ्गलबार

ओखलढुङ्गामा एकल महिला मृत फेला, हत्या भएको आशङ्का

blog

शेरबहादुर राई
ओखलढुङ्गा, असोज २८ गते ।
ओखलढुङ्गामा एकल महिला आफ्नै घरमा मृत फेला परेकी छन् । सिद्धिचरण नगरपालिका–४ चार्खुकी ५२ वर्षीया रत्नकुमारी कटुवाल कार्की सोमबार बिहान आफ्नै घरमा मृत अवस्थामा फेला पर्नुभएको हो । घरमा एक्लै बस्दै आउनुभएकी कार्कीको शव शङ्कास्पद अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीका अनुसार मृतकको श्रीमानको केही वर्षअघि निधन भएको थियो । शव भेटिएको स्थान र अवस्थाले घटना शङ्कास्पद देखिएको छ, त्यसैले थप प्रमाण सङ्कलनका लागि तालिम प्राप्त कुकुर (केनाइन) माग गरिएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो ।

स्थानीयले असोज २७ गते बिहान घरमा कार्की मृत अवस्थामा फेला परेको खबर प्रहरीलाई दिएका थिए । त्यसपछि घटनास्थल पुगेर प्रहरीले शव नउठाई प्रारम्भिक अनुसन्धान थालेको हो ।

कोशी प्रदेश प्रहरी कार्यालय धरानस्थित केनाइन शाखाबाट तालिमप्राप्त कुकुर झिकाइएको प्रहरीले जनाएको छ । प्रहरीले घटनालाई हत्या हुनसक्ने आशङ्कामा लिएर प्रमाण सङ्कलन र अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।