गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज २८ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नेपालका ठुला जलविद्युत् आयोजनामा लगानी ल्याउन कोरियाली पक्षलाई आग्रह गर्नुभएको छ । नेपालका लागि कोरियाका राजदूत पार्क ताइयोङले मन्त्री घिसिङसँग गर्नुभएको शिष्टाचार भेटमा उहाँले यस्तो आग्रह गर्नुभएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सोमबार भएको भेटमा राजदूत पार्कले मन्त्री घिसिङलाई कोरियाका तर्फबाट बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा मन्त्री घिसिङले नेपाल र कोरियाबिच लामो समयदेखि सहकार्य हुँदै आएको उल्लेख गर्दै ऊर्जा सन्तुलन र विद्युत् निर्यात लक्षित गर्दै ५०० मेगावाटभन्दा ठुला आयोजना निर्माण गर्न सहयोग गर्न आग्रह गुर्नभयो ।
मन्त्री घिसिङले अरुण नदी कोरिडोर र पूर्वपश्चिम प्रसारण लाइनलाई जोड्ने इनरुवा–अनारमनी ४०० केभी प्रसारण लाइनमा कोरियन आयातनिर्यात (एक्जिम) बैङ्कमार्फत प्राप्त हुने सहायतालाई चाँडो टुङ्ग्याउन, रेलमार्ग निर्माण, सञ्चालन र मर्मतको क्षमता विस्तारलगायतमा आवश्यक सहयोग गर्न आग्रह गर्नुभयो ।
उहाँले दुई देशको सरकारी तहबाट साझेदारीमा या कोरियन निजी कम्पनीको लगानी ल्याउन सकिने उल्लेख गर्नभयो । नेपालमा प्रचुर सम्भावना रहेका हरित हाइड्रोजनको उत्पादनलाई नमुना परियोजनाका निर्माण गर्न पनि उहाँले आग्रह गर्नुभयो ।
रोजगार अनुमति प्रणाली अन्तर्गत कोरिया जाने नेपाली श्रमिकको कोटा बढाउन एवं कोरिया जानुपूर्व सिप विकास तालिम र फर्किएपछि त्यहाँ हासिल सिपलाई स्वदेशमा प्रयोग गरी उद्यमशीलतामार्फत रोजगारी सिर्जनाका लागि सहयोग गर्न मन्त्री घिसिङले आग्रह गर्नुभएको थियो ।
भेटमा राजदूत पार्कले प्रसारण लाइन निर्माणमा सहायता उपलब्ध गराउन अर्थ मन्त्रालयसँग छलफल भइरहेको बताउनुभयो । कोरियन सरकारी कम्पनीको मुख्य लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको प्रगतिका विषयमा राजदूत पार्कले मन्त्री घिसिङलाई जानकारी गराउनुभएको थियो ।
आयोजनाको निर्माण प्रगति करिब ७० प्रतिशत रहेको र आगामी डिसेम्बरमा मुख्य सुरुङ छिचोल्ने तयारी भइरहेको जानकारी गराउनुभयो ।