• २८ असोज २०८२, मङ्गलबार

जग्गाको प्लट रजिस्टर बनाइँदै

blog

जग्गाको प्लट रजिस्टर हातले लेखेर पुनर्स्थापना गर्ने काम गर्दै नापी कार्यालयका कर्मचारी । तस्बिर : ललित बसेल

ललित बसेल

सुर्खेत, असोज २८ गते । जेनजी पुस्ताको आन्दोलनका क्रममा गत भदौ २४ गते आगजनीबाट जलेर नष्ट भएको सुर्खेतस्थित नापी कार्यालयको सेवा अझै सुरु हुन सकेको छैन । कार्यालयको आन्तरिक व्यवस्थापनको काममा व्यस्त हुन परेपछि एक महिना नाघिसक्दा पनि कार्यालयको सेवा सुरु हुन नसकेको हो । अहिले कार्यालयका सबै कर्मचारीले जग्गाको प्लट रजिस्टर हातले लेखेर पुनस्र्थापनाको गरिराखेका छन् । 

नापी कार्यालय सुर्खेतका प्रमुख दिनेश भण्डारीले एक महिनाको अवधिमा कार्यालय सरसफाइको कामका साथै प्राविधिक फाँट मर्मत तथा पुनर्निर्माणको काम गरिएको बताउनुभयो । उहाँका अनुसार सेवाग्राहीलाई सेवा दिन अझै सकिएको छैन । अहिले कार्यालयमा २५ जना कर्मचारी कार्यरत छन् । सेवाग्राहीलाई सुरुमा नक्सा वितरणको काम गर्न सकिन्छ कि भनेर सबै कर्मचारीलाई जग्गाको प्लट रजिस्टर पुनस्र्थापनाको काम गर्न लगाइएको प्रमुख भण्डारीले बताउनुभयो । उहाँका अनुसार यो काम धमाधम हातले गर्न लगाइएको छ । आगजनीबाट महत्वपूर्ण कागजात जलेर नष्ट भएपछि बचेका स्थानको प्लट रजिस्टरको पुनस्र्थापनाको काम गर्न सकिए सेवाग्राहीलाई नक्सा वितरण गर्न सकिने लक्ष्य लिइएको उहाँको भनाइ छ । आगजनीमा करिब चार सय प्लट रजिस्टर जलेका थिए । नयाँ रजिस्टर विभागबाट मगाएर हातले पुनस्र्थापना गर्ने काम भइरहेको उहाँको भनाइ छ । आन्दोलनका क्रममा कार्यालय पूर्ण रूपमा ध्वस्त छ । कागजात तथा सर्भरहरू नष्ट छन् । जलेका कागजात हेर्दा पाँच प्रतिशत मात्रै काम लाग्ने खालका रहेको जानकारी दिँदै कार्यालय प्रमुख भण्डारीले अन्य सबै जलेर खरानी भएको उल्लेख गर्नुभयो । एक महिनाको अवधिमा कार्यालयको न्यूनतम सेवा दिन सकिने गरी आन्तरिक काम थालिएको छ। अन्य जिल्लाका कार्यालयबाट कम्प्युटर, स्क्यानर तथा प्रिन्टर माग गरिएको छ । प्राविधिक फाँटमा मर्मत तथा रङरोगन लगाउने काम गरिएको छ । हार्ड डिस्क रिकभर गर्ने काम भए पनि सफलता पाउन नसकिएको उहाँले बताउनुभयो । मर्मतमा बजेट नभएकाले स्थानीय तहलगायत अन्य कार्यालयसँग समन्वय गरी उपकरणका साथै मर्मतका लागि गुहार माग गरिएको कार्यालय प्रमुख भण्डारीले जनाउनुभयो । 

हाललाई काम सुरुवात गर्न पनि कम्तीमा १५ वटा कम्प्युटर, त्यत्तिकै मात्रामा स्क्यानर र प्रिन्टरको खाँचो रहेको छ । अहिले यी कुनै पनि छैनन् । अन्य जिल्लाका नापी कार्यालय तथा स्थानीय तहसम्म समन्वय गरी उपकरणहरू सहयोग माग गरिएको भन्दै कार्यालय प्रमुख भण्डारीले तिहारपछि सामान्य नक्सा वितरणको सेवा सुरु गर्न सकिन्छ कि भनेर लागिएको बताउनुभयो । विभागसँग हार्ड डिस्क रिकभर गर्न सकिए नक्सा वितरण गर्न सकिने उहाँको भनाइ छ । आगजनीबाट सो कार्यालयको करिब तीन करोडभन्दा बढीको क्षति भएको थियो । अहिले आगजनीमा नष्ट भएका सामानको मिनाहा वा लिलामी प्रक्रिया पनि थालिएको छ । कार्यालयको क्षतिग्रस्त भएका सामानको लगत लिइएको र मिनाहा गर्ने वा लिलामी गर्ने प्रक्रियामा लागिएको नापी प्रमुख दिनेश भण्डारीले बताउनुभयो ।