• १५ वैशाख २०८१, शनिबार

मध्यरातमा मानव तस्करी

blog

काठमाडौँ, भदौ ११ गते । भ्रमण प्रवेशाज्ञा (भिजिट भिसा) मा जजिरा विमानबाट कुवेत हुँदै दुबई उड्न लागेकी झापाकी ३१ वर्षीया सम्झना लिम्बू (नाम परिवर्तन) लाई प्रहरीले विमानस्थलबाट फर्कायो । दलालले राहदानी, टिकट बैङ्किङ कागज र दुई सय अमेरिकी डलर हातमा थमाएर बुधबार बिहान साढे तीन बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुर्याएका सम्झनासहित ३९ जना महिला यतिबेला माइती नेपालको संरक्षणमा छन् । 

मकवानपुरकी २७ वर्षीया सुनीता परियार (नाम परिवर्तन) भिजिट भिसामा दुबई उड्न विमानस्थल पुग्दै गर्दा कुन ठाउँ जाने र कसलाई भेट्नेसम्म पत्तो थिएन । दलालले विमान टिकट, अमेरिकी डलर तथा आवश्यक काजपत्र हातमा थमाएर हतार हतार विमानस्थल पुर्याएकी उहाँलाई कुन कागजपत्र कहाँ देखाउने भन्नेसमेत जानकारी थिएन । प्रहरीले उहाँलाई उद्धार गरी माइती नेपालमा पुर्याएको छ । 

नक्कली काजपत्र तयार गरी भिजिट भिसाको आवरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खुलेआम मानव तस्करी हुन थालेपछि नियन्त्रणका लागि नेपाल प्रहरीको विमानस्थल सुरक्षा कार्यालयले विशेष अपरेसन सुरु गरेको छ । सुरक्षा कार्यालयले बुधबार र बिहीबार विभिन्न उडानबाट दुबई जान लागेका ९२ महिला र ८४ पुरुष गरी जम्मा १७६ जनालाई फिर्ता गराई माइती नेपालको जिम्मा लगाएको छ । विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक श्याम ज्ञवालीले भिजिट भिसाको आवरणमा मध्यरातमा हुने उडानमार्फत खुलेआम मानव तस्करी हुन थालेको सूचनापछि नियन्त्रणका लागि विशेष अपरेसन सुरु गरिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “भिजिट भिसामा जान लागेका यात्रुको कागजपत्र शङ्कास्पद छ । सोधपुछका क्रममा कसलाई भेट्न कहाँ जान लागेको भन्नेबारे समेत उनीहरूलाई जानकारी छैन । मानव तस्करीमा पर्ने आशङ्का देखिएपछि फिर्ता गरिएको हो ।”

भिजिट भिसालाई पारदर्शी बनाउन अध्यागमन विभागले कार्यविधि बनाएको छ । कार्यविधिमा विदेश घुम्न जानेका हकमा वार्षिक न्यूनतम आय छ लाख रुपियाँ हुनुपर्ने, त्यसको आय कर तिरेको हुनुपर्ने र कम्तीमा तीन लाख रुपियाँ बैङ्क ब्यालेन्स देखाउनुपर्ने प्रावधान स्पष्ट छ । 

नक्कली काजपत्र तयार गरी भिजिट भिसाको आवरणमा मानव तस्करी हुन थालेपछि विशेष अपरेसन सुरु ।

गत जेठबाट गृह मन्त्रालयले भिजिट भिसा खुला गरेपछि ५० हजारभन्दा बढी खाडी मुलुक पुगिसकेका छन् । १५ दिनभित्र फर्किन अनुमति लिएर गएका अधिकांश अहिलेसम्म फर्किएका छैनन् । बुधबार र बिहीबार भिजिट भिसामा दुबई उड्न लागेका अधिकांशको कागजपत्र बनावटी तथा कार्यविधिअनुरूप मापदण्ड नपुगेको पाइएको छ । यसमा अध्यागमन विमागको गम्भीर लापरबाही वा मिलेमतोको समेत आशङ्का गरिएको छ । 

विमानस्थलबाट फर्काइएका मध्ये अधिकांश महिलाले आफ्नो पासपोर्ट तयार गर्नेदेखि प्रवेशाज्ञा, टिकट र आर्थिक स्रोत (बैङ्क ब्यालेन्स)समेत दलालले नै तयार पारी विमानस्थलसम्म पुर्याएको स्वीकारेका छन् । 

अध्यागमन विभागका महानिर्देशक ऋषिराम तिवारीले विभागले जारी गरेको कार्यविधिभन्दा बाहिर गएर भिजिट भिसा लिएको भए त्यसमा संलग्न कर्मचारीलाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कुनै गलत काम भएको रहेछ वा बाहिर आएजस्तो मिलेमतो वा सेटिङबारे अध्यागमनले आन्तरिक रूपमा निगरानी गरिरहेको छ,” उहाँले भन्नुभयो । उहाँले कार्यविधि पूर्ण रूपमा लागू हुनेगरी कार्यसम्पादन गर्न निर्देशन दिएको जानकारी दिनुभयो । 

यसअघि पटक पटक भिजिट भिसामा दुबई पुर्याइएका ६० महिलालाई अबुदाबीभन्दा टाढा मरुभूमिमा बन्धक बनाइएको खुलेको छ । मानव तस्करको फन्दामा परी इराक र कुवेतमा अलपत्र एक सयभन्दा बढीको उद्धारका लागि माइती नेपालले पहल गरिरहेको जनाइएको छ । विमानस्थलबाट उद्धार गरिएका ९२ महिलालाई माइती नेपालले आवश्यक परामर्श र संरक्षण गरिरहेको छ । माइती नेपालका संस्थापक अनुराधा कोइरालाले खुला सिमानाबाट महिला तस्करी हुने गरेकामा पछिल्लो समय हवाईमार्गबाट हुनु चिन्ताको विषय रहेको बताउनुभयो । “खाडी मुलुकमा नेपाली महिलाको खुलेआम मानव तस्करी हुनु डरलाग्दो विषय हो । यस्ता मुलुकबाट मानव बेचबिखनमा परेका महिलालाई उद्धार गर्न ठूलो चुनौती छ,” उहाँले भन्नुभयो । 

केही व्यक्ति भिजिट भिसामा खाडी पुगेर अलपत्र परेपछि गृह मन्त्रालयले गत माघमा कार्यदल गठन गरेको थियो । सो कार्यदलले भिजिट भिसामा दुबई पुर्याइएकाहरू त्यहाँबाट इरानदेखि केन्यासम्म पुर्याउने र बन्धक बनाई घरायसी तथा यौनजन्य क्रियाकलाप गर्न बाध्य बनाउने गरेको तथ्य बाहिर ल्याएको थियो ।