• २१ कात्तिक २०८२, शुक्रबार

४७ वर्ष पहिला चोरीको मुद्दामा फरार पक्राउ

blog

अर्जुन काफ्ले 
 स्याङ्जा, कात्तिक २१ गते ।
४७ वर्ष पहिलाको चोरी मुद्दामा फरार एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ ।  विसं २०३५ साल वैशाख १५ गते साविक पेलाकोट गाउँपञ्चायत –२ हाल गल्याङ नगरपालिका –७ कल्लेरीका दिलबहादुर रानाको घरबाट २१ वर्षको उमेरमा सुनका गहना र रेडियो चोरी प्रकरणमा संलग्न गिरिप्रसाद गुरुङ ६८ वर्षको उमेरमा प्रहरीले पक्राउ गरेको हो । 

चोरी प्रकरणमा अदालतले २०४५ असोज १६ गते वालिङ् नगरपालिका –१२ घुरुङ्खाका गुरुङलाई नकबजनी चोरी आरोपमा एक महिना १५ दिन कैद र चार हरजार पाँच सय रुपियाँ जरिवाना तोकेको थियो भने फैसला भएपछि गुरुङ फरार भएका थिए ।

यसअघि, सोही मुद्दामा संलग्न ६८ वर्षीय लालबहादुर राना कात्तिक १७ गते प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक पसान्त राज चौधरीले जानाकारी दिनुभयो ।

यस्तै साविक आरेष्टे वडा नं.–१ हाल विरूवा गाउपालिका वडा नम्बर–४ मा भएको कुटपिट घटनामा फरार ७४ वर्षीय थम प्रसाद पोख्रेललाई प्रहरीले पक्राउ गरेको छ ।

२०५४ वैशाख १० गते स्याङ्जा जिल्ला अदालतबाट दुई वर्ष कैद र  दस हजार जरिवाना फैसला भएकोमा पोख्रेल लुकिछिपी बस्दै आउनुभएको थियो ।

उहाँ नवलपरासी (पश्चिम) बर्दघाट नपा वडा नं.–५ मा परिवारसँगै लुकिछिपी बस्दै आईरहेकोमा कसूरदारलाई जिल्ला प्रहरी कार्यालय, स्याङ्जाबाट खटिएको विशेष अप्रेसन टोलीले पक्राउ गरेको चौधारीले बताउनुभयो ।