• ५ साउन २०८१, शनिबार

निलम्बित प्रधानन्यायाधीशविरुद्धको महाअभियोग अघि बढ्छ : उपसभामुख भुसाल

blog

काठमाडौं, साउन १९ गते । प्रतिनिधिसभाका उपसभामुख पुष्पा भुसाल (गौतम)ले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाअिभयोग संसदको यही अधिवेशनमा अघि बढ्ने बताउनुभएको छ ।

उपसभामुख भुसालले महाअभियोगको विषयलाई संसदबाट नै विशेष छलफल गरेर अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।

प्रतिनिधिसभाको आगामी बैठकमा महाअभियोगको कार्यसूची राख्ने र संसदमा छलफल गरी महाअभियोग समितिमा संसदबाट प्राप्त सुझाव महाअभियोग समितिमा पठाउने जानकारी उपसभामुखले दिनुभयो ।

संसदबाट प्राप्त सुझावका आधारमा निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग अघि बढाउन आवश्यक रहेको उहाँको भनाइ छ ।

जबराविरुद्धको महाअभियोगका लागि समिति गठन भइसकेको छ । समितिले आफ्नो काम शुरु गर्नुपूर्व नै संसदमा यसमाथि छलफल गर्न आवश्यक रहेको उहाँ बताउनुहुन्छ ।

उपसभामुख भुसालका अनुसार संसदमा प्राप्त सुझावलाई समितिमा पठाउनका लागि पनि महाअभियोगलाई कार्यसूचीमा राखेर छलफल गर्न आवश्यक रहेको छ ।

निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग समितिबाट जति चाँडो संसदमा आउँछ त्यति नै छिटो यो विषयमा टुङ्गो लाग्नेछ ।

उपसभामुख गौतमले आगामी निर्वाचनको लागि मनोनयन दर्ता गर्ने दिनसम्म संसदको आयु रहने बताउनुभयो । संविधानले सभामुख र उपसभामुखको मात्रै म्यादको कुरा गरेकाले सभामुख र उपसभामुख संसदबाटै उत्पत्ति हुने भएकोले सोहीअनुसार नै संसदको आयु रहने छ ।

उपसभामुख भुसालले सबै सांसद र संसदको लागि एकै किसिमको नियम हुनुपर्ने कुरामा छलफल र बहस भइरहेको पनि बताउनुभयो ।