• ४ साउन २०८१, शुक्रबार

निर्माणका लागि असार कुर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छः सांसद अर्याल

blog

नेकपा (माओवादी केन्द्र) की सांसद उर्मिला अर्याल राष्ट्रिय सभा बैठकमा बोल्नुहुँदै ।

काठमाडौँ, साउन ४ गते । नेकपा (माओवादी केन्द्र) की सांसद उर्मिला अर्यालले निर्माण कार्यका लागि असार कुर्ने कुराको अन्त्य गर्न आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार राष्ट्रिय सभा बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

सांसद अर्यालले चैत महिनाअघि निर्माण कार्य सक्नुपर्ने र वैशाखसम्म राम्रोसँग मापदण्डअनुसार बनेको छ वा छैन भन्ने कुरा सरकारले निरीक्षण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले पृथ्वी राजमार्ग कहिलेसम्म सुरक्षित बन्छ ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले पर्याप्त अनुसन्धानअनुसार योजना बन्न नसक्दा पनि यस्ता दुर्घटना निम्तिएको बताउनुभयो । उहाँले राजमार्गको सकुशल र सुरक्षित यात्राका लागि बाढी, पहिरोले प्रभाव नपर्ने गरी विश्वकै विज्ञलाई अध्ययन गर्न लगा  बाइपास, राजमार्ग निर्माण गर्नुपर्ने जानकारी दिनुभयो ।

‘‘यो वर्ष मात्रै करिव ११५ जनाले यस राजमार्गमा ज्यान गुमाइसकेका छन् । हालसम्मको खर्च र सरकारी बजेटको कुरै नगरौँ । कहिलेसम्म राष्ट्रका सबैभन्दा महत्त्वपूर्ण राजमार्ग सुरक्षित र सकुशल तरिकाले बन्ने हो ? लगभग पाँच दशकको कसरतपछि पनि यस राजमार्गको १५० किलोमिटरभन्दा कम सडक खण्ड अझै सही तरिकाले बनेको छैन । पर्याप्त अनुसन्धानअनुसार योजना बन्न नसक्दा पनि यस्ता दुर्घटना निम्तिएका त छैनन् ।,’’ सांसद अर्यालले भन्नुभयो, ‘‘यस क्षेत्रमा हाम्रो ज्ञान अझै सीमिततामा रहेका त छैनौँ । यसमा सोच्नुपर्ने बेला भएको छ । यस राजमार्गको सकुशल र सुरक्षित यात्राका लागि बाढी, पहिरोले प्रभाव नपर्ने गरी विश्वकै विज्ञलाई अध्ययन गर्न लगाइ बाइपास, राजमार्ग निर्माण गर्नुपर्छ । निर्माण कार्यका लागि असरा कुर्ने ठिक होइन । चैत महिनाअघि सकाउनुपर्छ । वैशाखअगाडि मापदण्डअनुसार बनेको/नबनेको मूल्याङ्कन सरकारले गर्नुपर्छ ।’’

उहाँले महत्त्वपूर्ण निर्माण कार्यमहरु सरकार आफैँले सम्पन्न गर्नुपर्ने बताउनुभयो । नेपालमा सडक निर्माणका लागि छुट्याइएको बजेट ५० प्रतिशत पनि राम्रोसँग लगानी नहुने गरेको जानकारी दिनुभयो ।