• ४ साउन २०८१, शुक्रबार

सङ्घीय संसद् भवन निर्माण कार्य सन्तोषजनक छैन : सभामुख घिमिरे

blog

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे

काठमाडौँ, साउन ४ गते । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सङ्घीय संसद् भवन निर्माण कार्यमा ढिलासुस्ती भएकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

शुक्रबार सिंहदरबारमा उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह र सम्बन्धित निकायसँगको छलफलमा उहाँले सो असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

सभामुख घिमिरेले सो भवनको निर्माणका कार्य आगामी मङ्सिरभित्र सम्पन्न गर्ने लक्ष्य लिएपछि सो अनुसारको काम नभएको भन्दै आपत्ति जनाउनुभयो ।

उहाँले सो भवनको निर्माण कार्य छिटो र गुणस्तरीय ढङ्गले सम्पन्न गर्न पनि मातहतका निकायलाई सचेत गराउनुभयो । सो भवनमा अत्याधुनिक प्रविधिको प्रयोग गर्ने कुरामा भने कुनै कन्जुस्याइँ नगर्न पनि सभामुख घिमिरेले सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो । त्यसका लागि कुनै समस्या भए शहरी विकास मन्त्रालयले हेर्ने र त्यसमा आफूहरुले पनि आवश्यक सहयोग गर्ने सभामुख घिमिरेको भनाइ थियो  ।

सभामुख घिमिरेले सो भवन निर्माणका लागि आवश्यक जनशक्ति परिचालन गर्न पनि सम्बन्धित निकायलाई ध्यान दिन आग्रह गर्नुभयो ।