• ४ साउन २०८१, शुक्रबार

कर्मचारीको तलब मर्यादाक्रम अनुसार लागू गर्न सर्वोच्चको परमादेश (पूर्णपाठसहित)

blog

काठमाडौँ, साउन ४ गते । सर्वोच्च अदालतले निजामती सेवाका राजपत्राङ्कित प्रथम, द्वितीय, तृतीय श्रेणीका कर्मचारीहरुको आधारभूत तलबमा समान मर्यादाक्रममा रहेका अन्य सरकारी सेवाका कर्मचारीसरह हुने गरी अविलम्ब सुरु तलबमान समायोजन–निर्धारण लागू गर्न–गराउन परमादेश जारी गरेको छ ।

गत असार १० गते सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले सो परमादेश दिएको थियो ।

सहन्यायाधिवक्ता गोविन्द खनाल, उपन्यायाधिवक्ता सन्तोष शर्मा, पदमबहादुर कार्की, विमला रेग्मी, युवराज महत, चपला पोखरेल र प्रकाश गौमतलगायतले तलबमानमा भएको विभेदले निजामती सेवाको राजपत्राङ्कित प्रथम, द्वितीय र तृतीय श्रेणीमा कार्यरत राष्ट्रसेवक कर्मचारीहरूको समानताको हकमा आघात पुगेको जिकिर गर्नुहुँदै सर्वोच्चमा रिट निवेदन दायर गर्नुभएको थियो ।

उहाँहरुद्वारा दायर रिटमा आफूसँगकै वरीयतामा रहे पनि सुरक्षा निकायतर्फका अधिकृतको तलबमान निजामतीतर्फका कर्मचारीको तुलनामा बढी भएको रिटमा भनिएको छ ।

हालै सार्वजनिक फैसलाको पूर्णपाठमा संसदीय समितिले आर्थिक वर्ष २०७९–०८० कै तलबमानलाई वैज्ञानिक ढङ्गले समायोजन गर्न निर्देशन दिएको र सरकारले नै बनाएको समितिले प्रतिवेदन पेस गरिसकेको अवस्थामा समेत तलबमान समायोजनतर्फ ठोस पहल भएको नदेखिएको उल्लेख छ ।

कर्मचारी प्रशासनमा आत्मसम्मान, उत्प्रेरणा र मनोबललाई उच्च राख्न मर्यादाक्रम अनुसार वेतनमान आवश्यक र महत्त्वपूर्ण तत्त्व भएको कुरालाई स्वीकार गरी तलब निर्धारण भएको नपाइएको सर्वोच्चले भनेको छ ।