• ४ साउन २०८१, शुक्रबार

ताल र खोलामा डुबेर तीन जनाको मृत्यु

blog

लेखनाथ, साउन ४ गते। शुक्रबार दिउँसो कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २६ मा पर्ने गुदेतालमा डुबेर बालकको मृत्यु भएको छ। दिउँसो सवा ३ बजेतिर छ वर्षीय बालक सचिन परियारको डुबेर मृत्यु भएको हो। 

पोखरा–२६ को प्रगतिटोल बस्ने सचिनलाई तालमा डुबेको अवस्थामा देखेपछि स्थानीय र बुवा विकास परियारले उद्धार गरी लेखनाथ सिटी अस्पताल पुर्‍याएकोमा चिकित्सकले दिउँसो ४ बजे मृत घोषणा गरेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले बताउनुभयो। 

शुक्रबार पौडी खेल्ने क्रममा पोखरा–२३, घाँटीछिनामा दुई जनाको ज्यान गएको छ। सिउँदो पौने ४ बजेतिर घाँटी छिना स्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा डुब्नुभएका पोखरा–१ मोहरिया टोल बस्ने वर्ष १८ का प्रकृत बुद्धाचार्य र पोखरा–२, बागलुङ बसपार्क बस्ने १८ वर्षीय स्वयम् ताम्रकारको मृत्यु भएको हो। 

वडा प्रहरी कार्यालय बैदाम र सशस्त्र प्रहरी बल नं. २४ हेडक्वाटर कालिकाबाट खटिएको टोलीले पौने ५ बजे दुवै जनाको शव निकालेको थियो। छ जना पौडी खेल्न गएकोमा बाँकी चार जना सकुशल रहेको प्रहरीले जनाएको छ।