• ४ साउन २०८१, शुक्रबार

विकासका संरचनालाई वैज्ञानिकरण नगर्दा विपद्जन्य क्षति बढी भयो : सांसद शेर्पा

blog

नेकपा (एमाले)का सांसद सोनाम गेल्जेन शेर्पा राष्ट्रिय सभाको बैठकमा बोल्नुहुँदै ।

काठमाडौँ, साउन ४ गते ।  नेकपा (एमाले)का सांसद सोनाम गेल्जेन शेर्पाले विकासका संरचनालाई वैज्ञानिकरण गर्न नसक्दा नेपालले विपद्जन्य क्षति बढी व्यहोरिरहेको बताउनुभएको छ । शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले विपद् व्यवस्थापनमा वैज्ञानिक प्रणाली अपनाउन नसकिएको बताउनुभयो । उहाँले देशले अहिले बाढीपहिरो लगायतका विपद्जन्य घटना व्यहोरिरहेको बताउनुभयो । उहाँले बाढी, पहिरो लगायत विपदमा परी साउन ३ गते दिउँसोसम्म १२५ जनाको मृत्यु भएको बताउनुभयो ।

सांसद शेर्पाले जसअन्तर्गत कोशीमा २२, मधेशमा पाँच, बागमतीमा २२, गण्डकीमा ३८, लुम्बिनीमा २३, कर्णालीमा सात जना र सुदूरपश्चिममा दुई जनाको मृत्यु भएको बताउनुभयो । उहाँले गृह मन्त्रालयको आपत्कालीन कार्य सञ्चालन केन्द्रकाअनुसार ५३ जना बेपत्ता रहेको बताउनुभयो । उहाँले चितवनको भरतपुर, २९ सिमलटारमा लेदोसहितको पहिरोले २ वटा बस बगाउँदा दुई वटा बसको यात्रुमध्ये साउन ३ गतेसम्म २० जनाको शव फेला परेको जानकारी दिनुभयो ।

प्रहरीकाअनुसार जारी मनसुन अवधिमा १८२ घर डुबानमा, २२२ घर क्षतिग्रस्त, ४३ पुल नष्ट, एक विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको औंल्याउनुभयो ।  उहाँले यस अवधिमा ५८५ वटा पशुचौपाय मरेका र तीन हजार ७२१ परिवार विस्थापित भएको बताउनुभयो ।

सांसद शेर्पाले सडक सुरक्षामा विशेष ध्यान दिनुपर्ने भनाइ राख्नुभयो । उहाँले पूर्वसूचना प्रणालीलाई विश्वासिलो बनाउन जरुरी रहेको बताउनुभयो ।