• ४ साउन २०८१, शुक्रबार

मकवानपुरमा दुई जनाको मृत्यु

blog

अनिल पराजुली

हेटौँडा, साउन ४ गते । मकवानपुरमा शुक्रवार भएको फरक–फरक घटनामा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । 

बागमती–९ बेतिनीका २० वर्षीय रामराज बम्जनको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । 

शुक्रबार दिउँसो ४ बजेको समयमा बकैया गाउँपालिका–४, माझीखोला स्थित नेपाल प्रेम चर्चको भवनमा वाइरिङ गर्ने क्रममा बम्जनलाई करेन्ट लागेको थियो।  करेन्ट लागेर अचेत अवस्थामा रहेको बम्जनलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकोमा डेढ घण्टापछि डाक्टरले मृत घोषणा गरेको हो ।

त्यस्तै खेतको आलीबाट लडेर हेटौँडामा एक वृद्धकोे मृत्यु भएको छ । हेटौँडा–१८ स्थित हर्नाफाटका ७१ वर्षीय प्रेम बहादुर तुम्सिङको मृत्यु भएको हो । तुम्सिङ शुक्रबार बिहान ११ बजेको समयमा आफ्नो घरदेखि ५ सय मिटर पुर्वतर्फ छिमेकीको खेतको आलीबाट लडेर मृत्यु भएको अवस्थामा भेटिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।