• ४ साउन २०८१, शुक्रबार

बागमतीमा कांग्रेस र एमालेबीच सहमति : मुख्यमन्त्री जम्कट्टेललाई मत नदिने

blog

बागमती प्रदेश सभा सचिवालय भवन ।

राममणि दाहाल

हेटौँडा, साउन ४ गते । नेपाली कांग्रेस र नेकपा (एमाले) ले बागमती प्रदेश सभामा सहकार्य गर्ने निर्णयसहित बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले माग्नुभएको विश्वासको मतको विपक्षमा मतदान गर्ने सहमति गरेका छन् । 

कांग्रेस र एमालेका प्रतिनिधिहरु रहेको कार्यदलको शुक्रबार भएकोले बैठकले बागमती प्रदेश सभामा सहकार्य गर्ने प्रतिबद्धतासहित मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकारलाई (एमाले) ले समर्थन फिर्ता भएको सन्दर्भमा विश्वासको मत प्राप्त गर्ने प्रयोजनका लागि यही साउन ६ गते बोलाइएको प्रदेश सभा बैठकमा दुवै दलका प्रदेश सभा सदस्यहरुले विश्वासको मतको विपक्षमा मत जाहेर गर्ने सहमति गरेका हुन् ।

बैठकले तीन बुँदे सहमति गर्दै प्रदेशसभा बैठकमा जम्कट्टेल नेतृत्वको सरकारको विपक्षमा मतदान गर्न प्रदेश सभामा रहेका अन्य दलहरुसँग पनि अनुरोध गर्ने निर्णय गरेको कार्यदलका सदस्य श्रीराम लामिछानेले जानकारी दिनुभयो ।

उहाँले बागमती प्रदेशको समृद्धि र राजनीतिक स्थायीत्वको अनुभूति हुने गरी तत्कालै सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने सहमतिसमेत कार्यदलको बैठकमा भएको बताउनुभयो ।

कार्यदलको बैठकपछि कार्यदल सदस्यहरु कांग्रेसका तर्फबाट बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकार, प्रमुख सचेतक गोविन्द लम्साल, श्रीराम लामिछाने, एमालेका तर्फबाट प्रमुख सचेतक मधुसूदन पौडेल, केशव पोखरेल, किरण थापा मगर र प्रकाश श्रेष्ठद्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा नेपालको लोकतान्त्रिक आन्दोलनका प्रमुख दुई सारथि ठूला दल कांग्रेस र एमालेबीच सहकार्य गर्दै अघि बढ्ने गरी केन्द्रीय तहमा संयुक्त सरकार गठन भई अघि बढेको उल्लेख छ ।

साथै विज्ञप्तिमा २०६२-०६३ को शान्तिपूर्ण जनक्रान्तिबाट प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्दै सङघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनका लागि र मुलुकको राजनीतिक स्थायित्व तथा विकासका लागि नेपालको संविधान २०७२ मासमेत जनअपेक्षा अनुरुपका समयानुकूल संशोधनहरु गर्दै अघि बढ्ने पवित्र उद्देश्यका कांग्रेस र एमालेबीच सहकार्य भएको हो भनिएको छ ।