• ४ साउन २०८१, शुक्रबार

नयाँसडककाे फुटपाथ विस्तार सुरु, स्थानीयवासी विरोधमा

blog

बिहीबार नयाँ सडक क्षेत्रमा विरोधमा उत्रिएका स्थानीयवासीहरु र सुरक्षामा खटिएका सुरक्षाकर्मी । तस्बिर:विकास द्वारे

काठमाडौँ, साउन ४ गते । काठमाडौँ महानगरपालिका– २२ मा पर्ने नयाँसडक गेटदेखि जुद्ध शालिकसम्मको सडकमा पेटी विस्तारको काम सुरु भएको छ । उच्च अदालत पाटनले काम अघि बढाउन आदेश दिएसँगै महानगरपालिकाले सडकको पेटीको विस्तारको काम अघि बढाएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो । 

सडक पेटी विस्तार गर्न नपाउने भन्दै स्थानीयवासीले शुक्रबार बिहान नयाँ सडक क्षेत्रमा विरोध जनाएका छन् । अदालतको आदेशलाई समेत बेवास्ता गर्दै स्थानीयवासीले विरोध जनाएपछि प्रहरी प्रशासनले सुरक्षा सतर्कता अघि बढाएको थियो । महानगरले भने अदालतको आदेश दिएकाले सडकको दुवैतर्फ ३ फिटको दरले पेटी विस्तार गर्ने कार्य अघि बढाएको जनाएको छ । यसका लागि महानगरपालिकाले बुधवारदेखि पुनः काम सुरु गरेको थियो ।

उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्यूरोडमा फुटपाथ विस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले काठमाडौँ महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न भनेपछि महानगरपालिकाले काम थालेको प्रवक्ता मानन्धरले जानकारी दिनुभयो ।