• ४ साउन २०८१, शुक्रबार

संसद भवनको निर्माण कार्य आधुनिक देखिएन : राष्ट्रिय सभा अध्यक्ष

blog

राष्ट्रिय सभका अध्यक्ष नारायणप्रसाद दाहाल

काठमाडौँ, साउन ४ गते । राष्ट्रिय सभका अध्यक्ष नारायणप्रसाद दाहालले पछुताउन नपर्ने गरी सङ्घीय संसद भवन निर्माण कार्य सम्पन्न गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रबार सिंहदरबारमा उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहलगायतका सम्बन्धित पक्षसँगको छलफलमा उहाँले २१ औं शताब्दीको सन्देश दिनेगरी सो भवन निर्माण गर्नुपर्ने भएकाले त्यसमा सरकारले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताउनुभएको हो ।

अध्यक्ष दाहालले संसद भवनको निर्माण कार्य आधुनिक नदेखिएको उल्लेख गर्नुभयो । निर्माण ढिला भएकोमा अध्यक्ष दाहालको असन्तुष्टि थियो । अध्यक्ष दाहालले सो संसद भवनको हलले पनि नयाँ सन्देश दिनुपर्ने भएकाले त्यसमा पनि विचार गर्न सरकारलाई सचेत गराउनुभयो । उहाँले संसद भवनमा भोटिङको पनि उचित प्रवन्ध गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

‘‘संसद भवन निर्माणमा आधुनिकता देखिएन । हल भित्र पसीसकेपछि माननीयज्यूहरुले अनुभूति गर्नेकुरा देखिएन । हामी २१ औं शताब्दी छौं । हाम्रो संसद भवनले यो खालको सन्देश दिएको छ भन्ने खालको केही छ भने त्यो पनि छलफल गरौं भन्न खोजेको हुँ । मेरो आफ्नो यो भन्ने त भएन अहिले ।,’’ अध्यक्ष दाहालले भन्नुभयो, ‘‘त्यस्तो केही छ भने अहिले नै त्यो विषयमा पनि छलफल गरौं । पछि भन्नेकुरा त पछुताउने कुरा मात्रै हुन्छ भनेर छलफल गर्न खोजिएको हो । यी विषयमा ध्यान दिइयोस । अब माननीय उपप्रधानमन्त्रीजी हुनुहुन्छ । यस विषयमा सरकारको गम्भीरतापूर्वक ध्यान जाओस भन्दाखेरी काम गर्न सजिलो हुन्छ भन्ने लाग्छ ।’’

छलफलमा सो भवन निर्माण आयोजना समन्वय कार्यालयका प्रमुख शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक मचाकाजी महर्जनले सो भवनको निर्माण कार्य सम्पन्न गर्नका लागि आफूहरुले ठेकदार कम्पनीलाई ताकेता गरिरहेको जानकारी गराउनुभएको थियो ।

उहाँले हालसम्म सो भवनको भौतिक प्रगति ८१ दशमलव ५ प्रतिशत हासिल भएको उल्लेख गर्नुहुँदै तोकिएको आगामी चैत १८ गतेसम्म सबै काम सम्पन्न हुनेगरी जनशक्ति परिचालन गर्न सम्बन्धित पक्षलाई ताकेता गराउने काम भइरहेको बताउनुभयो ।

उपमहानिर्देशक महर्जनले भन्नुभयो, ‘‘समग्रता ८१ दशमलव ५ प्रतिशत भौतिक प्रगति हासिल गर्न सकेका छौं । वित्तीय प्रगति हेर्दाखेरी ७० प्रतिशत हुन आउँछ । यो आर्थिक वर्षको प्रगति मात्रै हेर्ने हो भने वित्तीय प्रगति ४५ प्रतिशतबाट सुरु गरेका थियौं । भौतिक प्रगति ५५ प्रतिशत थियो । ५५ प्रतिशतबाट हामीले ८१ प्रतिशत हासिल गरेका छौं । अब करिव १९ प्रतिशत प्रगति हासिल गर्नका लागि आगामी चैत १८ गतेसम्मको हामीसँग समय छ । त्यही अनुसार काम गर्नका लागि जनशक्ति न्युन भएकाले त्यसलाई बढाउन हामीले ठेकदार कम्पनीलाई बारम्बार ताकेता गरिराखेका छौं ।’’

२०७६ साल असोज १६ गते करिव ६ अर्व ३० करोड लागतमा तीन वर्षभित्र सम्पन्न गर्ने सम्झौतासहित सुरु गरिएको सो भवनको निर्माण कार्य तोकिएको समयमा सम्पन्न नभएपछि आगामी चैत्र १८ गते सम्पन्न गरिसक्ने गरी पुनः समय थप गरिएको छ । थपिएको सो समय भित्र निर्माण कार्य सम्पन्न हुने गरी आफूहरुले ताकेता गरेको सहरी विकास मन्त्रालयले जनाएको छ ।