• ५ साउन २०८१, शनिबार

कांग्रेस–एमाले सहकार्यको विकल्प छैन : उपप्रधानमन्त्री पौडेल

blog

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल ।

गोरखापत्र अनलाइन

काठमाडौं, साउन ४ गते । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपाली कांग्रेस र नेकपा (एमाले) विच सहमति भई बनेको गठबन्धन सरकारको आयुलाई लिएर कोही भ्रममा नपर्न आग्रह गर्नुभएको छ । दुई दलविचको सहकार्यको विकल्प अहिले नभएको उहाँले प्रष्ट पार्नुभयो । 

एमाले उपाध्यक्षसमेत रहनुभएका अर्थमन्त्री पौडेलले कांग्रेस–एमाले गठबन्धन पूरा कार्यकाल टिक्ने बताउनुभयो । नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गानाको नेतृत्वमा आज मन्त्रालयमा भेटन आएको नगरपालिका सङ्घका पदाधिकारीहरुसँगको छलफलमा उपप्रधानमन्त्री पौडेलले अहिलेको सरकार देश र जनताको लागि भएको भन्दै त्यही गतिमा काम गर्न नगर प्रमुखहरुलाई आग्रह गर्नुभयो ।

‘अव पनि राजनीतिक स्थायित्व हुन्न कि भन्ने चिन्ता नलिन पनि उहाँले आग्रह गर्नुभयो । यो गठबन्धन सरकार पूरै अवधि रहन्छ, काम गर्दा केही अप्ठ्यारो भयो भने विकल्प खोज्न लागिँदैन, मिलेर काम गर्छौं’ अर्थमन्त्री पौडेलले भन्नुभयो । उहाँले नगर प्रमुखहरुलाई सङ्घीय गठबन्धनको गतिमा काम गर्न पनि सुझाउनु भयो ।

‘यो गठबन्धन तलमाथि हुन्न, अब यस्को विकल्प पनि छैन, तपाईहरु त्यही गतिमा काम गर्नुुस । देश बनाउने अभियानमा सारथी बन्नोस’ अर्थमन्त्री पौडेलको भनाइ छ । 

भेटको क्रममा उहाँले स्थानीय तहलाई वित्तीय समानीकरणको बाँकी रकम भुक्तानीका लागि पहल गर्ने जानकारी दिनुभयो । ‘वित्तीय समानीकरणको बाँकी रकम निकासाका लागि पनि म पहल गर्छु’ अर्थमन्त्री पौडेलले भन्नुभयो । 

सो क्रममा सङ्घका अध्यक्ष ढुङ्गानाले वित्तीय समानीकरण अनुदानवापतको रकम अझै सात प्रतिशत निकासा हुन बाँकी रहेको भन्दै सो रकम निकासा गरिदिन आग्रह गरेपछि अर्थमन्त्री पौडेलले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । अर्थमन्त्री पौडेलसँगको भेटपछि वित्तीय समानिकरणको पूर्ण अनुदान आउँछ भन्नेमा आफूहरु विश्वस्त बनेको अध्यक्ष ढुङ्गानाले बताउनुभयो ।