• ३२ असार २०८२, बुधबार

बरुवा खोलाको झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा

blog

त्रियुगा नगरपालिका– ११ डिम्किस्थित डाक्टर रणशेर राई समाधिस्थल जोड्ने बरुवा खोलामा बनाइएको झोलुङ्गे पुल । तस्बिर : भक्तिविलास पोखरेल

भक्तिविलास पोखरेल 
गाईघाट, असार ३० गते ।
उदयपुरको त्रियुगा नगरपालिका– ११ र १३ जोड्ने डिम्किस्थित डाक्टर रणशेर राई समाधिस्थल जाने बरुवा खोलामा बनाउन थालिएको झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

सङ्घीय सरकारको स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत सस्पेन्सन बृज डिभिजन आयोजनाद्वारा अघिल्लो वर्ष बनाउन सुरु गरिएको उक्त पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेसँगै वर्षा याममा बरुवा खोला वारपार गर्न सदावहार उच्च जोखिम मोल्दै आएका यस क्षेत्रका स्थानीयहरुमा अब त्यस्तो जोखिम मोल्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।

दुई सय ६६ मिटर लामो यो पुल निर्माणका लागि नेपाल सरकारको आर्थिक वर्ष २०८१/०८२ को सङ्घीय बजेटबाट स्रोत सुनिश्चित गरेपछि सजिव रुजनके जेवि निर्माण कम्पनी दिक्तेलले आगामी २०८३ सम्ममा काम सक्नेगरी तीन करोड ५५ लाख ४६ हजारमा ठेक्का सम्झौता गरेको भएको थियो ।

पुल नहुँदा वर्षायाममा डा.रणशेर राई समाधिस्थलमा शव लिएर जाँदा बिच बाटोमा पर्ने बरुवा खोलामा आउने बाढीका कारण घण्टौं बाटोमै शव बिसाएर बस्नुपर्ने बाध्यता थियो  । तर अब पुल निर्माणसँगै यो परिस्थिति अन्त्य हुने पुल निर्माणका अभियान्ता महेन्द्र राईले बताउनुभयो ।

पुल निर्मासँगै वडा नम्बर १३ स्थित चप्पन, भुसुने र असारीका वासिन्दालाई ठुलो राहत मिलेको त्रियुगा नगरपालिकाका नगरप्रमुख बसन्त बस्नेतले बताउनुभयो ।

पुल निर्माणका लागि आवश्यक पर्ने डिम्कि क्षेत्रको मूल्यवान जग्गा स्थानीय समाजसेवि जितवहादुर खड्काले निःशुल्क रुपमा जग्गा उपलब्ध गराउनुभएको हो । अबको दुई हप्ता भित्रमा सम्पूर्ण काम सम्पन्न गरी सम्बन्धित कार्यालयमा पुल हस्तान्तरण गर्ने तयारी गरेको निर्माण कम्पनिका ठेकेदार बिराज आचार्यले बताउनुभयो ।

आचार्यले २०८३ साल जेठ मसान्त सम्ममा निर्माण सम्पन्न गर्नेगरी २०८१ साल जेठ २३ गते ठेक्का सम्झौता गरेकोमा सम्झौताको समयसिमा भन्दा ११ महिना अगावै सबै काम सम्पन्न गरिने भए पनि हालसम्म आपूmले भ्याटसहित एक करोड ११ लाख रुपियाँ मात्र भुक्तानी पाएको बताउनुभयो ।