बुलबुले समाचारदाता
सुर्खेत, असार ३२ गते । कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइन विस्तारमा देखिएको विवाद सुल्झिएको छ । जसले गर्दा आयोजना अघि बढाउने बाटो खुलेको छ । लामो समयदेखि विवाद नै विवाद हुँदा आयोजना निर्माणको काम अवरुद्ध हुँदै आएको थियो । जसले गर्दा आयोजना निर्माणमा ढिलाइसमेत भएको छ ।
तीन तहकै सरकारको प्राथमिकतामा विद्युत् विस्तार योजना परेसँगै आयोजनाको अवरोध हटेको हो । अहिले आयोजना निर्माणको काम धमाधम अघि बढेको आयोजना प्रमुख रवि चौधरीले बताउनुभयो । बैजनाथको विवाद समाधान भएसँगै आयोजना निर्माणको कामले गति लिएको उहाँको भनाइ छ ।
विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार बैजनाथ गाउँपालिकाको वडा नं. १ गाभर र वडा नं. ४ को बानियाँभार हुँदै लाइन विस्तार गर्नुपर्ने छ तर उक्त लाइन विस्तारले बस्ती र खेतीयोग्य जमिनमा असर पुग्ने भन्दै स्थानीयले विरोध जनाउँदै आएका थिए । विवाद समाधान भएसँगै उक्त बस्तीमा तीन वटा टावर निर्माण गरिने छ भने ३० घरपरिवार प्रभावित हुने छन् । अबको छ महिनामा काम सक्ने गरी योजना निर्माण गरिएको छ ।
यस्तै वीरेन्द्रनगर नगरपालिका–११, सुब्बाकुनामा पनि विवाद सुल्झिएको छ । उक्त स्थानका नागरिकले पनि काममा अवरोध गर्दै आएका थिए । आयोजनाबाट उक्त वडाका १८ घरपरिवारको जग्गा प्रभावित हुने छ । सरकारले वार्तामार्फत सहमति नभए बल प्रयोग गरेर आयोजना अघि बढाउने भनेपछि स्थानीय पनि सहमतिमा आएका हुन् । वडा नं. ११ सुब्बाकुनामा भने केही दिनमा काम सुरु गरिने आयोजना प्रमुख चौधरीले बताउनुभयो । विवाद सुल्झाउन कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल, सुर्खेतबाट निर्वाचित प्रतिनिधि सभाका सदस्य, सङ्घीय सरकार, जिल्ला प्रशासन बाँके र सुर्खेतको तर्फबाट निरन्तर पहल भइरहेको छ । लामो समयदेखि थालिएको पहलले सार्थकता पाएको छ । अब भने आयोजना निर्माणको कामले गति लिने छ ।
भौतिक प्रगति ९५ प्रतिशत
लाइन विस्तार कार्यको सुरुवात २०७७ असारदेखि गरिएको थियो । हालसम्म आयोजनाको ९५ प्रतिशत प्रगति हासिल भएको छ । अब मात्र पाँच प्रतिशत काम गर्न बाँकी छ । जग्गा र वनका कारण आयोजनाले तोकिएकै मितिमा कामसमेत गर्न सकेको छैन । अहिले भने विवाद समाधान भएसँगै बाँकी ठाउँमा काम अघि बढाइएको छ ।
भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले ७० करोड रुपियाँमा आयोजनाको ठेक्का पाएको हो । रुख कटानको काम धमाधम भइरहेको छ । अहिलेसम्म करिब पाँच हजार रुख काटिएको छ । १५६ फाउन्डेसन निर्माण गरिएको छ । अब छ वटा फाउन्डेसन निर्माण गर्नुपर्ने हुन्छ । उक्त क्षेत्रमा विवादित समाधान भएसँगै फाउन्डेसन निर्माणको काम अघि बढाइएको छ । आयोजनाका लागि १६२ वटा फाउन्डेसन निर्माण गरिने छ । यस्तै हालसम्म ४० किलोमिटर तार तान्ने काम सकिएको छ । जम्मा ५२ किलोमिटर तार तानिने छ ।