प्रवीणकुमार शर्मा
चन्द्रपुर (रौतहट), असार ३२ गते । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट नतिजा हासिल गर्दै रौतहटको चन्द्रपुर नगरभित्रका सामुदायिक विद्यालयतर्फ प्रथम स्थान ल्याएको जनशक्ति माध्यमिक विद्यालय चन्द्रपुर–३, गैँडाटारलाई चन्द्रपुर नगरपालिका–३ का वडा कार्यालयले सम्मान गरेको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष भिमबहादुर भोलन, प्रधानाध्यापक रेणुका कुमारी जिसी, व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक तथा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरिएको वडाध्यक्ष बोधनाथ देवकोटाले जानकारी दिनुभयो ।
सम्मान कार्यक्रममा प्रदेशसभा सदस्य युवराज भट्टराई ‘समीर’ले विद्यालयलाई बधाई तथा शुभकामना दिनुहुँदै जनशक्ति माविलाई नमुना विद्यालयको रूपमा विकास गर्न आफु काम गरिरहेको बताउनुभयो । उहाँले आफ्नो निर्वाचन क्षेत्रका शैक्षिक संस्थाहरूको शैक्षिक अवस्था सुधारका लागि योजनाबद्ध रूपमा कार्य अघि बढाएको बताउनुभयो ।
वडाध्यक्ष देवकोटाले वडाको सम्पूर्ण ध्यान विद्यालयको विकासमा केन्द्रित रहेको बताउनुभयो ।
प्रधानाध्यापक रेणुका कुमारी जिसीले वडाबाट प्राप्त सम्मानले विद्यालयलाई अझ जिम्मेवार बनाएको बताउनुभयो । उहाँले निःशुल्क शिक्षालाई व्यवहारमा लागु गर्ने गरेको जानकारी दिनुभयो ।
२०८१ सालको एसइई परीक्षामा विद्यालयबाट ५७ जना विद्यार्थी सहभागी भएकोमा ५१ जना विद्यार्थी उत्तीर्ण भएको प्रधानाध्यापक जिसीले जानकारी दिनुभयो ।