• ३२ असार २०८२, बुधबार

रोपाइँ सकेर भारततिर

blog

बाजुरा समाचारदाता

बाजुरा, असार ३२ गते । असारमा रोपाइँ सकेर बाजुराका विभिन्न ठाउँबाट भारततर्फ जानेको सङ्ख्या बढ्न थालेको छ । गाउँमा केही रोजगारी नभएपछि यहाँका नागरिक असारे खेती सकेर मजदुरी गर्न अहिले भारततिर जान थालेको त्रिवेणी नगरपालिका डबलबहादुर नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा कुनै रोजगारीको अवसर छैन, त्यही भएर मजदुरीका लागि भारत जानुपर्ने बाध्यता छ । यहाँ पढेलेखेकालाई त गाउँमा केही नोकरी छैन भने म त पढेको पनि छैन । अनि कसरी गाउँमा नोकरी पाउनु ?”

स्थानीय सरकारको मनोमानीका कारणले गाउँमा पाउने सबै रोजगारी गुमेका छन् । यहाँका बासिन्दा वर्षमा दुई पटक मजदुरीका लागि भारत जानुपर्ने बाध्यता छ । त्रिवेणी नगरपालिकाले बजेट तालिम भेला शिविरमा खर्च गर्ने तथा भौतिक पूर्वाधार, सडक, खानेपानी निर्माणलगायतका काममा पनि प्रायः एक्साभेटर प्रयोग गर्ने भएकाले यहाँका अधिकांश युवाले काम पाउँदैनन् । 

पछिल्लो समय गाउँमा हुने विकासनिर्माणका योजना पनि ठेक्का दिने प्रवृत्तिले पनि यहाँका युवाले गाउँमा काम नपाएका हुन् । ठेकेदारले सस्तो ज्यालामा काम गराउन खोज्छन् । त्यो ज्यालाले घर खर्च पनि चल्दैन । अलि भएका योजनामा पनि उपभोक्ता आफू नजिकका बनाउने र उनीहरूले विभिन्न बहानामा आफ्ना मान्छेलाई मात्र काम दिने भएकाले यहाँका सर्वसाधारणले गाउँमा काम पाउन छाडेको बताइएको छ । 

यहाँ त्रिवेणी, बुढीगङ्गा, बडीमालिका, गौमूल, जगन्नाथ, स्वामीकार्तिक खापर गाउँपालिकाका युवा मजदुरीका लागि भारतका विभिन्न ठाउँमा जाने गर्दछन् । यहाँका स्थानीय सरकारले वर्षमा करोडौँ रकम रोजगारीका लागि भनेर खर्च गर्ने गरेको भए पनि यहाँका युवा भने एक पटक असार, साउन र अर्को पटक मङ्सिर, पुस, माघ, फागुन, चैतमा भारतका विभिन्न ठाउँमा रोजगारी गरिरहेका हुन्छन् ।

अहिले मार्तडी, बाम्का र बेतालमाण्डौका बसपार्क युवाले भरिभराउ छन् । सबैभन्दा बढी बुढीगङ्गा र त्रिवेणीका विभिन्न गाउँका युवा भारतमा जान थालेका छन् । गाउँमा हुने प्रधानमन्त्री स्वारोजगारले केही युवालाई गाउँमा बस्न सहज बनाएको भए पनि स्थानीय सरकारले केही काम नदिँदा भारत जान बाध्य भएका हुन् । आर्थिक वर्ष २०८१/८२ मा यहाँका ८० जनाले गाउँमा एक सय दिने रोजगारीको काम पाएको त्रिवेणी नगरपालिकाका रोजगार संयोजक अर्जुन रोकायाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गत वर्षमा ५८ लाख ६० हजार रुपियाँ मात्र आएको थियो । त्यो रकमबाट यहाँका ८० जनाले काम पाएका थिए । उनीहरूले एक सय दिन काम गरेबापत एक जनाले एक दिनको ७२० पाएका छन् ।” यो वर्ष रकम आएको छैन । यहाँका बेरोजगारलाई गाउँमै राख्ने गरेर स्थानीय सरकारले केही व्यवस्था गर्नुपर्ने हो । त्यो गर्न नसक्दा यहाँ युवा धमाधम भारत जाने गरेको संयोजक रोकायाले बताउनुभयो ।