चौमाला समाचारदाता
चौमाला (कैलाली), असार ३१ गते । थारू समुदायमा बढी देखिएको सिकलसेल एनिमियाका बिरामीको सङ्ख्या कैलाली तथा कञ्चनपुर जिल्लामा बढ्दै गएको छ । खास गरी थारू समुदायको बाहुल्य रहेको क्षेत्रमा यो रोग बढ्दै गएको हो ।
सेती प्रादेशिक अस्पतालका हरिबहादुर थापाले कैलाली र कञ्चनपुरमा एक हजार ३४ जना सिकलसेलका बिरामीको उपचार भइरहेको जानकारी दिनुभयो । त्यो अझै बढ्ने क्रममा रहेको उहाँले बताउनुभयो । उहाँले कैलालीमा ७५६ कञ्चनपुरमा २७८ जना बिरामी रहेको बताउनुभयो । त्यसमा महिलाको सङ्ख्या ५३६ रहेको छ भने पुरुषको सङ्ख्या ४९८ रहेको जानकारी दिनुभयो । अहिले एक हजार ३४ जना बिरामीमध्ये ३९२ जना घोडाघोडी अस्पतालमा र आठ जना कञ्चनपुरको महाकाली अस्पताल र बाँकी ६३४ जनाले सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार गरिरहेका छन् ।
सरकारले सिकलसेलको उपचार तथा सेवा सुविधाका लागि भनेर कैलालीको सेती प्रादेशिक अस्पताल, घोडाघोडी अस्पताल र कञ्चनपुरको महाकाली अस्पतालबाट सेवा दिइरहेको छ भने कैलालीको टीकापुरबाट सेवा दिने तयारीमा रहेको सामाजिक विकास मन्त्रालयका आयुर्वेदिक चिकित्सक डा. चेतराज जोशीले बताउनुभयो । सरकारले पश्चिम तराईमा विशेष गरी थारू समुदायमा देखिएको सिकलसेल एनिमिया रोगको उपचारलाई सर्वसुलभ र निःशुल्क गर्ने घोषणा गरेको छ । परीक्षण र उपचार दुवै निःशुल्क छ र एउटा बिरामीलाई एक लाख बराबरको औषधी दिने सरकारले घोषणा गरेको छ । सरकारले उपचारमा एक लाख रुपियाँसम्म दिने सेवा सुविधा लिने प्रक्रिया जटिल भएको थारू अगुवा माधव थारूको भनाइ छ । सिकलसेल रोगको उपचार र परीक्षण महँगो तथा घरका सम्पूर्ण सदस्यलाई उपचार गर्नुपर्ने कारणले थुप्रै मानिस रगत परीक्षण नै नगराई रोग लुकाउने गरेको उहाँले बताउनुभयो । उहाँले सरकारले एक लाखसम्म मात्र नभएर सिकलसेलका बिरामीलाई आजीवन उपचारको ग्यारेन्टी गर्नुपर्ने बताउनुभयो ।
उहाँले धेरै बिरामी देखिएका क्षेत्र र समुदायमा रहेका गर्भवतीको गर्भमा रहेका बच्चामा सिकलसेल हुन सक्ने जोखिमबारे परीक्षण गर्न सकिने व्यवस्था गर्न सके भविष्यमा यस सङ्क्रमण लिएर जन्मने बिरामीलाई कम गर्न सकिने बताउनुभयो । सिकलसेल एनिमिया भएका बिरामीमा सामान्यतया छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, सहनै नसकिने गरेर छाती दुख्ने, छाती, पेट, हातखुट्टा, ढाडमा अचानक र कडा खालको दुखाइ हुने, कमलपित्त हुने जस्ता लक्षण देखा पर्छन् । त्यस्तै आँखामा समस्या देखिने, अन्धोपना हुन सक्ने, पक्षाघात हुन सक्ने, सङ्क्रमण भइरहने, ज्वरो आउने, वाकवाक लाग्ने, बान्ता हुने, खोकी लाग्नेसमेत हुन्छ ।