• ३० असार २०८२, सोमबार

भानुभक्त सबैका साझा कवि : राष्ट्रपति पौडेल

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार ३० गते ।  राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त आचार्य नेपाली भाषाका मात्र नभएर मातृभाषालाई माया गर्ने सबैका साझा कवि भएको बताउनुभएको छ । २१२ औँ भानुजयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान र भानु साहित्य उद्यानद्वारा आइतबार शीतलनिवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले प्रत्येक भाषाका स्रष्टाले उहाँबाट प्रेरणा लिएर आआफ्नो मातृभाषामा साहित्य सिर्जना गरी नेपाली समाजलाई विविध भाषा र साहित्यको सुन्दर बगैँचाका रूपमा सिँगार्न सक्नुपर्ने बताउनुभएको छ ।

उहाँले भानु साहित्य उद्यानले अघि सारेको चुँदीरम्घालाई साहित्यिक तीर्थस्थलका रूपमा विकास गर्ने अवधारणामा पनि यस्तै साझा सांस्कृतिक परिवेश निर्माण गर्ने चाहना प्रतिविम्बित गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “त्यसमा भानुभक्तलाई केन्द्रमा राखेर नेपाली भाषाका प्रमुख र नेपालका विविध भाषाका स्रष्टालाई एकसाथ जोड्नु पर्छ र त्यसबाट साझा नेपाली संस्कृतिलाई बलियो बनाउन सक्नु पर्छ ।” राष्ट्रपति पौडेलले भानुको जन्मस्थल चुँदीरम्घालाई विश्वभरि छरिएर रहेका नेपालीले जीवनमा कमसेकम एक पटक भ्रमण गर्नैपर्ने ठाउँका रूपमा विकास गर्न आवश्यक रहेको औँल्याउनुभयो । उहाँले भन्नुभयो, “यसो गर्न सके पर्यटनको विस्तारमा पनि योगदान पुग्छ । राष्ट्रपति पौडेलले भानु उद्यानलाई नेपाली संस्कृतिको साझा केन्द्रका रूपमा विकास गर्नुपर्ने भन्दै नेपालका सातै प्रदेशका प्रमुख सांस्कृतिक केन्द्रलाई प्रतिविम्बित गरी त्यसलाई सप्तधामका रूपमा अघि बढाउन जोड दिँदै नेपाली राष्ट्रियताको संवर्धनमा भानुभक्तले दिएको योगदानलाई मूर्त रूप दिन सक्नुपर्ने उल्लेख गर्नुभयो ।” उहाँले सो योजनालाई अघि बढाउन सरकारले लिएको नीति र कार्यव्रmमको पनि सराहना गर्नुभयो । राष्ट्रपति पौडेलले भानुभक्तको युगमा नेपाली राष्ट्रियताको जग बस्दै गरेको र राष्ट्रनिर्माणको अभियानमा नेपाली योद्धाहरू पूर्वमा टिस्टा नदीसम्म र पश्चिममा काँगडासम्म पुगेको बताउनुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले अहिले जस्तो सञ्चार र सूचनाको प्रभावकारी माध्यम नभएका समयमा रामायणले नेपाली भाषीबिचमा एकता कायम गर्न ठुलो योगदान पु¥याएको बताउनुभयो । 

प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले सबै भाषाभाषीका अग्रजलाई समेट्ने गरी तनहुँमा अघि बढाइएको उद्यान जस्तै प्रज्ञा–प्रतिष्ठानभित्र त्यस प्रकारको अवधारणामा काम सुरु गर्ने लक्ष्य लिइएको बताउनुभयो । प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले आदिकविले लोकको हित गरुँ भनी गर्नुभएको रचना अहिलेको लोककल्याणकारी राज्यको आदर्शसँग मिल्दोजुल्दो रहेको बताउनुभयो ।