• ३० असार २०८२, सोमबार

‘भाषिक एकीकरणमा भानुभक्तको योगदान महत्वपूर्ण’

blog

काठमाडौँमा आइतबार आयोजित कार्यक्रममा सहभागी हुनुहुँदै सभामुख देवराज घिमिरे, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलगायत ।

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार ३० गते । सभामुख देवराज घिमिरेले पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरे जस्तै भानुभक्त आचार्यले भाषिक एकीकरण गरेको बताउनुभएको छ । 

२१२ औँ भानुभक्तको जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान र भानु प्रतिष्ठानले संयुक्त रूपमा काठमाडौँमा आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले भाषा, साहित्य र संस्कृतिमा क्षेत्रमा भानुभक्तले पुर्‍याएको योगदानकै कारण विश्वभर फैलिएका नेपाली भाषीले उहाँको सम्मान गर्ने गरेको बताउनुभयो । युवापुस्तामा भानुभक्तको विचार पुर्‍याउन अझै काम गर्नुपर्नेमा जोड दिँदै सभामुख घिमिरेले साहित्यका माध्यमबाट देश निर्माणमा योगदान गर्नेको सम्मान हुने वातावरणले नै यसको विकासमा सहयोग पुग्ने बताउनुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले नेपालीहरू जीवित रहेसम्म आदिकवि भानुभक्त आचार्यको महत्व रहिरहने बताउँदै नेपाली संसारका विभिन्न भूभागमा फैलिएसँगै नेपाली भाषाको पनि विस्तार भएको बताउनुभयो । रामायणमार्फत नै भानुभक्तले नेपाली भाषालाई विश्वभर फैलाएको मन्त्री पन्तको भनाइ थियो । प्रतिष्ठानका कुलपति भूपाल राईले राष्ट्रपति रामचन्द्र पौडेलको सक्रियतामा तनहुँमा विभिन्न भाषाभाषीका आदिकविको प्रतिमालगायत संरचना बनाउन लागिनु सुखद रहेको बताउनुभयो । प्रतिष्ठानले पनि विविध भाषाभाषीका प्रतिमा बनाउन लागेको जानकारी पनि उहाँले गराउनुभयो । कार्यक्रममा वरिष्ठ कवि तुलसी दिवस र छन्दकवि गोविन्दराज विनोदीलाई सम्मानित गरिएको थियो । कार्यक्रममा भानु प्रतिष्ठानका अध्यक्ष डा. नवराज लम्साल, प्रज्ञा–प्रतिष्ठान सदस्यसचिव डा. धनप्रसाद सुवेदीलगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमअघि रानीपोखरीस्थित भानु प्रतिमास्थलबाट सुरु भएको र्‍याली प्रज्ञा–प्रतिष्ठानको परिसरमा आएर समापन भएको थियो ।