• ३० असार २०८२, सोमबार

अवरुद्ध बिपी राजमार्ग पूर्ण रुपमा सुचारु

blog

बिपी राजमार्ग । फाइल तस्बिर

केदार तिमल्सिना
बनेपा, असार ३० गते ।
वर्षासँगै आएको लेदोका कारण अवरुद्ध भएको बिपी राजमार्ग सुचारु भएको छ । आइतबार साँझ वर्षासँगै रोसी गाउँपालिका– ९ पिन्थलीमा खहरे खोलामा आएको लेदोका कारण राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको थियो ।

यस्तै, वर्षासँगै आइतबार राति करिब १०ः३५ को समयमा राजमार्गअन्तर्गत रोसी गाउँपालिका–११ स्थित माम्ती खोलामा आएको भेल बाढीले राजमार्ग कटान गरेका कारण सडक पूर्ण रुपमा अवरुद्ध भएको थियो ।

आइतबार साँझ साढे ६ बजेदेिख बन्द रहेको पिन्थलीस्थित बिपी राजमार्ग सोमबार बिहान ५ः५५ बजेबाट पूर्ण रुपमा सुचारु भएको जिल्ला प्रहारी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।

प्रहरीले माम्तीस्थित खहरे खोलामा आएको भेल बाढीका कारण सडक कटान गरी अवरुद्ध भएको सडक पनि सोमबार बिहान ६ बजेदेखि पूर्ण रुपमा सुचारु भएको जनाएको छ ।

गत असोज महिनामा आएको बाढीका कारण बिपी राजमार्गको कटुन्जेदेखि सिन्धुलीको सिमाना बोक्सी कुनासम्मको २९ किलोमीटर सडक पूर्ण रुपमा क्षति भएको छ । बाढीका कारण क्षति भएको राजमार्ग सामान्य वर्षा भएसँगै अवरुद्ध हुन लागेको छ । वर्षायाममा हुने राजमार्ग अवरुद्ध हुन नदिनका लागि सडक डिभिजन भक्तपुरले २१ वटा उपकरण राजमार्गमा राखेको जनाएको छ ।