• ४ साउन २०८१, शुक्रबार

निजी क्षेत्रको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध छ : अर्थमन्त्री पौडेल

blog

उपप्रधान एवम् अर्थमन्त्री पौडेल ।

काठमाडौँ, साउन ४ गते । उपप्रधान एवम् अर्थमन्त्री पौडेलले निजी क्षेत्रको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । अर्थ मन्त्रालयमा आज नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त अर्थमन्त्री पौडेललाई बधाई तथा शुभकामना दिने क्रममा उहाँले निजी क्षेत्रको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो । 

वर्तमान सरकार राजनीतिक र आर्थिक स्थिरताका लागि गठन भएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन सरकार प्रयासरत रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारप्रति आशा र भरोसा गर्नुहोस्, तत्काल गर्न सकिने काम यो वर्ष र बाँकी विषयहरु बजेटमै सम्बोधन गरेरै भए पनि निजी क्षेत्रको मागलाई सम्बोधन गर्छौं ।” चेम्बर अफ कमर्सले नीतिगत स्थायित्व र अर्थतन्त्रलाई चलायमान बनाउन ४० बुँदे सुझावसहित चेम्बर कार्यसमितिले अर्थमन्त्री पौडेलसमक्ष सिंहदरबारमा भेतवार्ता गरेको हो । 

सो अवसरमा अध्यक्ष कमलेशकुमार अग्रवाल सहितको चेम्बर केन्द्रीय कार्य समितिले नवनियुक्त अर्थमन्त्री पौडेललाई बधाई एवम् सफल कार्यकालको शुभकामना दिनुभयो । आर्थिक गतिविधिमा आएको सङ्कुचनले माग र आपूर्तिबीच असन्तुलन, निजी क्षेत्रको सम्पत्तिमा सङ्कुचन एवम् बैङ्क तथा वित्तीय संस्थामा तरलता भए पनि निजी क्षेत्रमा लगानीप्रति आकर्षण नभएकोप्रति चेम्बर अध्यक्ष अग्रवालले अर्थमन्त्री पौडेलको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “अर्थतन्त्र शिथिलताबाटै गुजरिरहेको छ । आर्थिक र वित्तीय क्षेत्रको निकासका लागि नीतिगत स्थायित्व र सरकारी संरक्षणको आवश्यकता छ, ।”

कालोसूचीमा पर्न लागेका उद्यमी-व्यवसायीलाई उद्योग-व्यवसायको प्रकृति हेरेर आवश्यकताअनुसार बैङ्क तथा वित्तीय संस्थासँगको आपसी विश्लेषणबाट केही समयका लागि कर्जाको पुनःतालिकीकरण गर्न समेत चेम्बरले सरकारको ध्यानाकर्षण गराएको छ । रासस