• १० मंसिर २०८१, सोमबार

बीपी र पुष्पलालको त्यो बाटो

blog

नेपाली राजनीतिका शिखर पुरुष बीपी कोइरालाको साउन ६ गते र कम्युनिस्ट नेता पुष्पलालको ७ गते स्मृति दिवस मनाइयो। राजनीतिज्ञ, नेता, बुद्धिजीवी, कार्यकर्ता सबैले आआफ्नै तरिकाले यी दुई महापुरुषलाई सम्झिए। नेपाली कांग्रेसले आफ्ना संस्थापक बीपीलाई स्मरण ग-यो भने पुष्पलाललाई विभिन्न चिरामा विभक्त नेपालका अनेकौँ कम्युनिस्ट दलले शीर्ष पुरुषका रूपमा सम्मान प्रकट गरे। सालिकमा ढोगे, माला चढाए, मानौँ उहाँहरूले देखाएको पथमा नै नेपालको राजनीति चलिरहेको छ। यी दुई राजनेताका स्मरणमा अहिलेका नेताले खर्चिएका शब्द सुन्दा वर्तमानका नेता सिद्धान्त, आदर्श र व्यवहारका दृष्टिले अनुकरणीय छन्, प्रशंसनीय छन् र चरित्रका दृष्टिले सम्माननीय छन् भन्ने सबैलाई लाग्दथ्यो। बीपी र पुष्पलालबाट कोही टाढा पुगेजस्तो लाग्दैनथ्यो। जनताको चाहना त्यही नै हो तर वास्तविकता त्यस्तो नहुँदा भने सर्वत्र चिन्ता छाएको पाइन्छ।

मुलुक चल्ने नेताहरूबाट नै हो। नेपालको संविधानले राज्य सञ्चालनको अधिकार राजनीतिक दललाई नै दिएको छ। राजनीतिक दल नेताहरूबाट नै चलाइने संस्था हुन्। तसर्थ नेताहरू असल, चरित्रवान, सदाचारी, अनुकरणीय, प्रशंसनीय, सम्माननीय हुनैपर्छ। नेताहरूले बाटो बिराउनै हुँदैन र यदि बिराएका छन् भने उनीहरू सच्चिनुको अर्को विकल्प छैन। असल नेताहरूले देखाएको मार्गमा वर्तमानको राजनीति प्रविष्ट होस् भन्ने चाहना आम नागरिकको पनि हो। दलहरू र ती दलका नेताहरू दुई महापुरुषले देखाएको बाटोमा अगाडि बढ्न अब ढिलो गर्ने छैनन् भन्ने विश्वास दशकौँदेखि गर्दै आइएको छ।

जनता सुखी होऊन् । देश समृद्ध बनोस् । जनता अधिकारसम्पन्न बनून् । नेताहरू जनताप्रति उत्तरदायी बनून्। दलहरूको राजनीति जिम्मेवारीपूर्ण होस् जस्ता चाहना बीपी र पुष्पलालको थियो। प्रजातन्त्र स्थापनामा रगत बगाउन भने अहिलेका नेताहरू पनि पछि परेनन् भन्ने कुरामा जनता पूर्ण विश्वस्त छन् तर बीपीले सोचेझैँ जनता केन्द्रित राजनीति भयो कि भएन भन्नेमा भने हरप्रहर शङ्काका आवाज निस्किरहेको पाइन्छ।

दुवै नेताले नागरिक स्वतन्त्रताको विषयलाई गम्भीर रूपमा लिए र आजीवन त्यसैका निमित्त सङ्घर्षरत रहनुभयो। सबल राष्ट्रियता, सुदृढ प्रजातन्त्र र समृद्ध नेपालीको चाहना राखेर बीपी कोइराला प्रजातान्त्रिक समाजवादको सिद्धान्तसहित जीवनभर लडे भने कम्युनिस्ट राज्य स्थापना गरेर जनतालाई सुखी बनाउने परिकल्पनाका साथ पुष्पलालले इमानदारपूर्ण राजनीति गरेर आफ्नो जीवन न्यौछावर गर्नुभयो। बीपीले लिएको प्रजातान्त्रिक आदर्श विश्वव्यापी रूपमा स्वीकृत, विकासका लागि प्रमाणित र व्यावहारिक भएका कारण आजसम्म पनि सबैका लागि स्वीकार्य छ भने पुष्पलालले लिएको कम्युनिस्ट दर्शनको मार्ग विश्वभरि नै असफल हुँदै गएका कारण कम्युनिस्ट नाम राखेर राजनीति गर्नेहरूका लागि मात्र अनुकरणीय हुन पुगेको देखिन्छ।

जे होस्, दुवै नेता पवित्र उद्देश्य राखेर राजनीतिमा सक्रिय हुनुहुन्थ्यो। उहाँहरूका केन्द्रबिन्दुमा जनता मात्रै थिए। पहिलो र अन्तिम विकल्प पनि जनता नै थिए। राजनीतिक दर्शन अलगअलग अँगालेका भए पनि यी दुई शीर्ष नेताको चाहनामा स्वतन्त्र नेपालका अधिकारसम्पन्न समृद्ध नागरिक नै रहेका थिए। त्यसैले होला, आजसम्म पनि यी नेताहरूको जन्मजयन्ती र स्मृति दिवसमा भव्य कार्यक्रमसहित स्मरण गर्ने गरिएको छ।

बीपी कोइरालाको स्मरणमा नेपाली कांग्रेसले ७७रै जिल्लामा विविध कार्यक्रम आयोजना ग-यो भने पुष्पलालका स्मृतिमा थरिथरिका कम्युनिस्ट पार्टीहरूले विभिन्न कार्यक्रम गरे। वैचारिक शीर्षक दिएर छलफल, अन्तक्र्रिया सम्पन्न गरिए भने वृक्षरोपणका कार्यक्रमसमेत भए। साउन ६ र ७ गते नेपाली कांग्रेस र कम्युनिस्ट दलहरूले रोपेका सबै रुख हुर्किएका भए आज नेपालको ७५ प्रतिशतभन्दा बढी भूभाग हरियाली हुन्थ्यो होला। आफूले रोपेको रुख हुर्काउन केही समय मात्र दिने गरेको भए पनि सबै रुख नसप्रिए पनि आधाआधी ठडिएका हुन्थे होलान्। यिनै रुखका कारण वातावरण सन्तुलित भएर न जाडो न गर्मी, न अतिवृष्टि न अनावृष्टिको अवस्था आइसकेको हुन सक्दथ्यो। मुलुकको जताततै खानेपानीको हाहाकार छ, यो अवस्था पनि रहन्थेन होला। स्मृति दिवसका दिन रोप्यो, काम सिद्धियो। नत्र हरियो वन नेपालको धन भन्ने भनाइ आजसम्म पनि सार्थक नै देखिन्थ्यो भन्न सहजै सकिन्छ।

जसरी रुख रोपेर छाडेपछि कहिल्यै फर्केर नहेर्ने चलन चलेको छ, त्यसैगरी बीपी र पुष्पलालले कोरेको बाटोमा हिँडिएको छ कि छैन भनेर समय–समयमा मूल्याङ्कन गर्ने र बाटो बिराएको अनुभव भए तत्कालै सच्याउने गरिएको भए पनि मुलुकको आजको अवस्था रहन्थेन जस्तो लाग्दछ। साउन ६ र ७ गते भाषण गर्ने विषयवस्तु मात्रै बनाइँदा बीपीको सपना र पुष्पलालको कल्पना चर्चामा मात्रै सीमित हुन पुगेको पाइन्छ।

राजनीतिलाई पेसा बनाउने नियत बीपी र पुष्पलालको कहिल्यै देखिएन। राजनीतिलाई सेवा ठान्नुहुन्थ्यो दुवै नेताले। सेवा पनि जनता र देशको नै गर्नुपर्छ भन्ने उहाँहरूको सोच थियो। जनताको सेवाका माध्यमबाट आफ्नो राजनीतिलाई अगाडि बढाउने र जनताको समृद्धिमा नै आफ्नो खुसी अन्तर्निहित गर्न राजनीतिज्ञहरूले सक्नुपर्छ भन्ने मान्यता उहाँहरूको थियो। यो वर्तमान समयमा ठ्याक्कै बदलिएको जनताले अनुभव गरिरहेका छन्। राजनीति कमाइखाने भाँडो हो भन्ने ठान्ने र जसरी पनि सत्तामै पुग्नुपर्छ भन्ने धारणा राख्नेहरूबाट नेपालको राजनीति निर्देशित भएको जनताले ठान्न थाल्नुले यी दुई नेताको स्मरण बोलीमा मात्रै सीमित हुन पुगेको ठानिएको छ।

बीपी १५ वर्षभित्रमा सम्पूर्ण नेपालीलाई प्रधानमन्त्रीको जीवनस्तरमा बाँच्न सक्ने बनाउँछु भन्नुहुन्थ्यो। उहाँको सपना सबै नेपालीलाई आर्थिक रूपमा सम्पन्न बनाएर ती सम्पन्न नागरिकको नेता बन्ने थियो। नेपालमा भने १५ दिन मात्रै मन्त्री भएको व्यक्तिको आर्थिक हैसियत जमिनमुनिबाट आकाशमाथि पुगेको जनताले देखिरहेका छन्। कुनै व्यक्ति एक कार्यकाल सांसद भयो भने उसको आर्थिक हैसियत बीस वर्ष व्यापार गरेर बसेको व्यापारीको भन्दा दसौँ गुणामाथि पुगेको पनि देखिएकै छ। कोही न सांसद भएको छ, न मन्त्री, न कुनै नियुक्ति पाएको छ र पनि राजनीतिमा छ भने राजधानीमा घर, गाडी जोडेर एक सम्पन्न उद्योगपतिसरहको जीवनयापन गरिरहेको पनि देखिएकै छ भने आजको राजनीति बीपी र पुष्पलालको मार्गमा अघि बढेको छ भन्ने सोच्न मुस्किल नै पर्छ। मुलुकमा प्रजातन्त्र आएपछि सुकिलामुकिला सल्बलाउँछन् र उनीहरूले नेताहरूलाई जनताबाट विमुख हुने बाटोतर्फ डो-याउन प्रयत्न गर्छन्। यसबाट जोगिन नेताहरूले हरसम्भव प्रयत्न गरिरहनुपर्छ भन्ने बीपी कोइरालाको भनाइ थियो। आजका नेताहरू न गाउँमा गएर जनताको बीचमा बस्न सक्छन् न गाउँलेका घरमा गएर सुत्न नै सक्छन्। होटलको वास र धनीमानी एवं बिचौलियाका बीचमा रम्नु नै नेताहरूको दैनिकी भएको देखुञ्जेल आजका राजनीतिज्ञ जनताप्रति संवेदनशील छन् भनेर आम जनताले सहजै विश्वास गर्न कठिन छ।

विदेशी पैसा र शक्तिको आडमा राजनीति गर्नु हुँदैन भन्ने मान्यता पुष्पलालको थियो। आफ्ना सबै सन्ततिको गाँस वासको प्रबन्ध अमेरिकामा मिलाएर नेपालमा कम्युनिस्ट राजनीति गर्न कस्सिएका नेताहरूले उनको त्यो आदर्शलाई मानेका छन् कि छैनन्, कसैले उल्लेख गरिरहनु पर्लाजस्तो लाग्दैन। नेपालमा सच्चा कम्युनिस्ट उत्पादन गर्न कैयौँ रात भोकभोकै बसेका पुष्पलालका अनुयायी आज कस्तो राजनीति गर्दैछन् पनि भनिरहनु पर्दैन होला। जोगी हुन राजनीति गरेको हो र भन्ने भनाइले डेरा जमाउँदै गएपछि आशलाग्दो राजनीति देख्न पाइएला भन्न पनि गाह्रो भइसकेको छ।

बीपी कोही न कोही अपोजिसनमा हुनुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो। प्रजातन्त्रमा विश्वास गर्ने र आफूलाई पनि माया गर्ने मान्छे अपोजिसनमा भयो भने उसले सधँै सचेत गराउँछ भन्ने उहाँको धारणा थियो। आलोचना भएन भने मान्छे बिग्रन्छ र डिक्टेटर हुन्छ भन्ने ठान्ने बीपीका आजका अनुसरणकर्ता कस्ता छन् भनेर यहाँ लेखिरहनुपर्छ जस्तो लाग्दैन। आजका कुनै पनि कांग्रेसका नेतालाई तपार्इंको यो कमजोरी छ भन्यो भने त्यो भन्ने मान्छेले सायदै ती नेताको घरमा प्रवेश पाउने सम्भावना रहन्छ होला। नेकपा एमालेमा नेताको आलोचना गर्दा पार्टी नै छाडेर जान परेको घटना त अस्ति भर्खरैको हो।

पुराना कम्युनिस्ट नेता मोहनविक्रम सिंहका अनुसार पुष्पलाल, मनमोहन अधिकारी र उहाँलाई दर्जनौँ पटक गद्दार भनेर आरोप लगाइएको थियो। यो पदवी दिने पार्टी माले हो र उसले आजसम्मका कुनै पनि दस्तावेजमा यो कुरा सच्याएको पाइँदैन। त्यही माले पछि एमाले बन्यो र एमाले पार्टीको अध्यक्ष मनमोहन अधिकारी हुनुभयो। यही पार्टीबाट प्रधानमन्त्री पनि बन्नुभयो। मोहनविक्रमले भनेझैँ त्यो आरोप आजसम्म पनि यथावत् छ भने एमालेले कसरी स्मृति दिवस मनाइरहेको छ भन्ने सोच्दा पनि अचम्म लाग्छ।

पुष्पलालको दर्शनले केन्द्रीय नेतृत्वको विरोध गर्नुलाई त्यति उपयुक्त ठान्दैन होला तर बीपीको दर्शनले स्वच्छ आलोचनालाई प्रश्रय नै दिन्छ। सिद्धान्तमा कम्युनिस्टको पनि नागरिक हकअधिकार नै होला तर लेनिन, स्टालिनदेखि अहिलेको उत्तर कोरिया र चीनमै समेत सरकारको आलोचना गर्न नपाइने व्यवस्था रहेको सन्दर्भलाई मनन गर्दा पुष्पलालले देखाएको बाटोका बारेमा समीक्षा गर्न सकिन्छ भने बीपीले देखाएको प्रजातान्त्रिक समाजवादको मार्गलाई भने समयानुसार अपडेट गर्दै अघि बढे पुग्छ।

बोल्ने एउटा र गर्ने अर्कै भइरह्यो भने दल र नेतामाथिको जनविश्वासमा ह्रास आउँछ। जनतालाई धोका होइन कि सेवा दिनेतर्फ दललाई अग्रसर गराउन नेता नै सक्षम हुनुपर्छ नत्र भने काठमाडौँ महानगरमा स्वतन्त्रले विजय हासिल गरेजस्तै प्रादेशिक र सङ्घीय चुनावमा समेत दलका निम्ति खतराको घण्टी नबज्ला भन्न सकिन्न। त्यसैले नेताहरूले जनतालाई राजनीतिको केन्द्रमा राख्न छाड्ने छैनन् भन्ने विश्वास गरिएको छ।