समयले सूचना र प्रविधिमा ठुलो फड्को मारिसकेको छ । पत्रपत्रिका, रेडियो, टेलिभिजनमा आउने सूचनाभन्दा कैयौँ गुना छिटो मोबाइलको एउटा स्क्रिनमा विश्वकै हजारौँ स्रोतका सूचना, समाचार, तर्क, विचार र टिप्पणी प्रवाह हुने गरेको पाइन्छ । पलपल हेरिने मोबाइलको स्क्रिनमै तत्काल भिडियो, फोटो, भ्लग र पोडकास्टदेखि लिएर सामाजिक सञ्जालका प्रत्यक्ष प्रसारणसम्म दैनिक हजारौँ सामग्री आइरहन्छन् । श्रव्यदृश्यसँगै एआईबाट सृजित अनगन्ती सामग्री पनि त्यही सानो स्क्रिनमा अटाएको छ । जीवनका प्रत्येक क्रियाकलापमा इन्टरनेटसँग साइनो गाँस्ने प्रवृत्ति दिनानुदिन बढ्दो छ । हुन पनि अहिले सूचना प्राप्तिको स्रोतभन्दा सूचना फैलाउने तकनिकी झन् द्रुत गतिमा विस्तारित छन् । ‘सूचना क्रान्ति’ को परिणामस्वरूप मानिसले सहजै आफ्नो वाक स्वतन्त्रताको भरपूर उपयोग गरिरहेका छन् । यसैमा कैयौँको आवाज बिकेको छ भने धेरैले आम्दानी बढाउन सफल भएका छन् । यसरी छलाङ मारेको ‘सूचना सञ्जाल’ भित्र सही गलत खुट्याउन नसकेर भ्रमित हुने नागरिकको सङ्ख्या पनि उल्लेखनीय देखिन्छ । सञ्जालमा आएका सूचनाको विश्लेषण गर्ने सिप र सामथ्र्य नहुँदा आज कैयौँ सर्वसाधारण नागरिक दुष्प्रचारको सिकार हुनु परेको हो ।
मिडियामा जे देखियो त्यसलाई विश्लेषण नगरी पूर्णतः सत्य मान्ने प्रवृत्तिको परिणामस्वरूप व्यक्तिमा कहिले मानसिक पीडा त कहिले त्रास अनि कहिले निराशापूर्ण चिन्तन र कहिले अरूप्रति द्वैषभाव बढ्ने गरेको पाइन्छ । ‘सनसनीपूर्ण प्रचारकारिता’ मा आउने झुटा र कपोलकल्पित सामग्रीलाई नै विश्वासको आधार मान्ने प्रवृत्ति बढ्नुले केवल इन्टरनेटको दुरुपयोग मात्र नभई आवश्यक मिडिया साक्षरताको खडेरीलाई प्रस्ट्याउँछ । आज हरव्यक्तिमा मिडिया साक्षरताको उन्नत रूप र प्रविधिको माग बढ्न थालेको छ । धेरै जसो सन्दर्भमा अलि पाको उमेरका लागि सही सूचनाका स्रोत पहिचान गर्न बढी समस्या देखिन्छ भने युवापुस्तामा प्राप्त सूचनाको सही विश्लेषण गर्नमा कठिनाइ बढेको आभास हुन्छ । किशोरावस्थाका लागि सामाजिक सञ्जाललगायतका आधुनिक मिडियाको दुरुपयोगबाट हुन सक्ने क्षति तथा मानसिक तनावबारे यथार्थपरक ढङ्गबाट बुझाउन पनि कठिन छ । यसैले अहिले सबै जसो उमेर समूहमा पाइने न्यून मिडिया साक्षरता तहलाई जगाउन र बढाउनका लागि देशव्यापी अभियान सञ्चालन गरिनुको विकल्प देखिँदैन ।
खासमा मिडिया साक्षरता भनेको प्राप्त सूचना ठिक हो वा होइन भनी जाँच्ने क्षमताको विकास हो । यसले सूचनाको विश्लेषणात्मक चिन्तन र तथ्य परीक्षणलाई बढावा दिन्छ । आमनागरिक मिडियाबारे साक्षरता नहुँदा अफवाह फैलिने, समाज विभाजित हुने, सर्वसाधारणले निराशापूर्ण जीवन जिउन बाध्य हुनुपर्ने, नीतिगत निर्णय प्रभावित हुने र कैयौँको चरित्रहत्या हुने जस्ता समस्या बढ्न सक्छन् । यस्ता तमाम समस्याबाट बच्नका लागि अबको निर्विकल्प उपाय भनेको मिडिया साक्षरताको राष्ट्रिय अभियान सञ्चालन गर्नु हो ।
आधिकारिक स्रोत पहिचान
इन्टरनेट पहुँचमा आएको क्रान्तिसँगै पछिल्लो दशकमा इन्टरनेट प्रयोगकर्ता बढेका छन् । प्रत्यक्षतः एन्ड्रोइड मोबाइल फोनको सहारामा सामाजिक सञ्जालमा समय बिताउने प्रवृत्ति मौलाउँदै छ । सामाजिक सञ्जाल र न्यू मिडियामार्फत रेडियो, टेलिभिजन, अनलाइन समाचार पोर्टल, अखबारका अनलाइन संस्करण जस्ता पत्रकारिताका आधिकारिक स्रोतमा पनि पहुँच बढ्दो छ । हुन पनि सामाजिक सञ्जालमै विश्वसनीय सूचना प्रवाह गर्ने पत्रकारिताका स्रोत पनि पाइने हुँदा कुन सही र कुन गलत भनेर खुट्याउन पक्कै कठिन हुन्छ । त्यसैले मिडिया साक्षरता अभिवृद्धिको अभियान अन्तर्गत प्रत्येक नागरिकलाई डिजिटल ‘महासागर’ मा आएका विषय सन्दर्भको आधिकारिक स्रोत कसरी पहिचान गर्ने भनेर पहिलो उद्देश्य निर्धारण गर्नु जरुरी देखिन्छ । यसका लागि रेडियो र टेलिभिजनको आधिकारिक वेबसाइट पहिचान गर्न सिकाउँदै सोही माध्यमबाट प्रसार भएका सामग्री सही हुन्छन् भन्ने ज्ञान प्रवाह गर्न सकियो भने अभियान निकै फलदायी ठहर्छ ।
यता अनलाइन समाचार पोर्टल र अखबारको आधिकारिक स्रोत पहिचान गर्न ती मिडियाको दर्ता नम्बर, दर्ता गर्ने निकाय, सम्पादक/प्रकाशकको आधिकारिक नाम तथा ठेगाना हेर्नुपर्ने विषय सुझाउनु बुद्धिमानी हुन सक्छ । यसरी पहिलो चरणमा सामाजिक सञ्जालमा लिङ्क जोडिएर आउने आधिकारिक सामाचारका प्रमुख स्रोत पहिचान गर्न सक्ने साक्षरता बढाउने हो भने सिङ्गो पत्रकारिता पेसाको गरिमा बढ्छ । कतिपय अवस्थामा आधिकारिक समाचार लेख्ने पत्रकारले सामाजिक सञ्जालमा कुनै विषयवस्तुबारे टिप्पणी लेख्दा पनि उक्त टिप्पणीलाई समाचार नै ठान्ने भ्रम विस्तार भइरहेको पाइन्छ । त्यसलाई पत्रकारको नितान्त व्यक्तिगत विचार हो भनी मिडिया साक्षरतामार्फत बुझ्न र बुझाउन जरुरी भइसकेको छ । यस्तै आधिकारिक समाचारबाहेक सामाजिक सञ्जालमा आउन सक्ने अन्य सामग्रीको स्रोत पहिचानमा अस्पष्टता रहने कारण मूलतः कृत्रिम बुद्धिमत्ता (एआई) बाट सृजित विषयवस्तु, सस्तो लोकप्रियता बढाउने नियतमा सन्दर्भको विषयान्तर गर्दै पुनरुत्पादन गरिएका सामग्री, मानवीय संवेदना बढाउनका लागि गरिएका कल्पना, अतिशयोक्तिपूर्ण र उत्तेजक अभिव्यक्ति आदि प्रमुख ठहरिँदै छन् । यस्तै सामाजिक सञ्जालमै राम्रो तर्कभन्दा चर्को आवाज र तीव्र भावनात्मक अभिव्यक्तिमार्फत ‘सत्य’ देखाउन खोज्ने होडबाजीसमेत चल्न सक्ने हुँदा त्यसबारे पनि सबै सुसूचित हुनुपर्ने हुन्छ ।
विषयवस्तुको गहन विश्लेषण
सूचना बाढीमा आउने विभिन्न रूपका सूचनामा निहित विषयवस्तुको गहन विश्लेषण गरेर मात्र सोबारे आफ्नो धारणा सार्वजनिक गर्ने, उक्त सूचना अरूमाझ प्रसार गर्ने वा त्यसलाई बढावा गर्ने भन्ने कुराको जानकारी मिडिया साक्षरतामार्फत बढाउनुपर्ने हुन्छ । यसले सूचनाको उद्देश्य पहिचान गर्ने प्रभावकारी कला आवश्यक हुन्छ भन्ने कुरा सिकाउँछ । मिडिया साक्षरता भन्नु पनि मानिसलाई केवल सूचनाको विषयवस्तु पढ्न सक्ने बनाउनु होइन, उक्त सूचनाको विषयवस्तु बुझ्न सक्ने गरी सिकाउनु चाहिँ प्रमुख हो । सूचनाका विषयवस्तु बुझ्न र ग्रहण गर्नका लागि आमसर्वसाधारणलाई सोसम्बन्धी थप सामग्री खोजेर अध्ययन गर्न भन्नु पर्छ । सोको आधिकारिक स्रोतसम्म पहुँच बढाउन प्रेरित गर्नु पर्छ । सम्भव भएसम्म त्यस्तै प्रकृतिको अर्को सूचनाको विषयवस्तुसँग तुलना गर्न हौस्याउनु पर्छ ।
गुगलमा सोझै सर्च गरेर कहीँकतै आधिकारिक दस्ताबेज भेट्न सकिने पो हो कि त्यतातिरको बाटोसमेत स्पष्ट पारिदिनु पर्छ । कैयौँ विषयवस्तुमा धेरैले तथ्य नजानेरै टिप्पणी गर्ने र बाँकी धेरैले ‘अर्काले भनेको’ आधारमा विश्वास गर्ने परिपाटी पाइएकाले ती विषयवस्तुको टिप्पणीबारे पनि पहिले विश्लेषणात्मक रूपमा सोच्ने क्षमता बढाउने उपाय बताउनु आवश्यक हुन्छ । अहिले धेरै जसो सञ्जाल प्रयोगकर्ताले कुनै पनि समाचार देख्नासाथ माथि लेखिएको शीर्षक मात्र पढेर त्यसलाई सेयर गर्ने वा त्यसकै आधारमा आफ्नो धारणा सार्वजनिक गर्ने गरेको देखिन्छ । समाचारभित्रको तथ्य नपढी शीर्षकका आधारमा मात्र समाचार सेयर गर्दा वा धारणा विकास गर्दा विषयवस्तुको परीक्षण र मूल्याङ्कन हुँदैन । सामाजिक रूपमा राम्रो छवि बनाउने पनि शीर्षक मात्रै पढेका आधारमा समाचार सेयर गर्ने वा धारणा विकास गर्न अग्रसर हुँदा आमसर्वसाधारण उक्त सूचनाप्रति चाँडै विश्वस्त हुने गरेका छन् । यसरी पूरै विषयवस्तु नबुझी एकपछि अर्काको धारणा बढ्दै जाँदा अन्ततः आक्रामक रूपमा अफवाह फैलिने कुरातर्फ सचेतना बढाउन जरुरी छ ।
कानुनी सचेतनाको सन्दर्भ
अहिलेको अवस्थामा मिडिया साक्षरतामार्फत उठान गर्नुपर्ने प्रमुख विषयमध्ये मिडिया कानुनको सन्दर्भ पनि हो । कोही पनि नागरिक कानुनभन्दा माथि छैन भन्ने कुराको बोध गराउन पनि मिडियासम्बद्ध कानुनी सचेतनाका कार्यक्रम बढाइनु पर्छ । ‘कानुनको अनभिज्ञता क्षम्य नहुने’ र नागरिकका मौलिक हक अधिकार पनि कानुनको सापेक्षमा मात्र उपयोग हुने कुरालाई सबैमाझ सञ्चार गरिनुपर्ने हुन्छ । नेपाली मिडियाको क्षेत्रमा प्रेस कानुनसँग सम्बन्धित भएर संविधानदेखि आचारसंहितासम्मका विधिविधान कार्यान्वयन भइरहेका छन् । सबै हक अधिकारमा देशको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र धार्मिक एवं जातीय सद्भावको प्रतिकूल हुने कुरालार्ई बन्देज गरेको विषय मिडिया साक्षरतामा समेटिनु पर्छ । कतै श्रमप्रति अवहेलना, गाली बेइज्जती, अदालतको अवहेलना, अपराधलाई प्रोत्साहन वा सार्वजनिक शिष्टतामा समेत खलल पुग्ने गरी सूचना सम्प्रेषण एवं विचार अभिव्यक्त भइरहेको पो छ कि ? भन्नेतर्फ मिडियाकर्मीलाई सचेत बनाइनु पर्छ । सबै जसो संहिता तथा ऐनमा आमनागरिक सरह मिडियाको कानुनी दायित्वबारे व्यवस्था भए पनि बेइज्जतीसम्बन्धी कसुरमा भने मिडिया प्रयोग हुँदा अझ बढी सजायको व्यवस्था गरिएको छ । मुलुकी अपराधसंहिता, २०७४ को दफा ३०७ को उपदफा १ मा भएको व्यवस्था अनुसार विद्युतीय वा अन्य आमसञ्चारका माध्यमबाट बेइज्जती गरे वा गराएमा थप एक वर्ष कैद र १० हजार रुपियाँसम्म जरिबाना हुने कुरा सबैमाझ पु¥याउन जरुरी देखिन्छ ।
सूचनाको ‘बाढी’ मा बग्न खोज्ने नागरिकलाई तर्क गरेर अगाडि बढ्न सक्ने बनाउनका लागि सरकारले विभिन्न शैक्षिक सङ्घ संस्था, मिडिया, नागरिक समाज र प्रत्येक प्रयोगकर्तामार्फत मिडिया साक्षरता अभियान अगाडि बढाउनुपर्ने हुन्छ । विद्यालय तहमा अनिवार्य पढाइ हुने नेपाली, सामाजिक, अङ्ग्रेजी जस्ता विषयमा यिनलाई सरल उदाहरणसहित राखिनु पर्छ । यस्तै नेपाल पत्रकार महासङ्घ, प्रेस काउन्सिल नेपाल र सञ्चारसम्बद्ध संस्थाले पनि यस विषयसँग सम्बन्धित भएर विभिन्न कार्यक्रम सञ्चालन गर्न सक्छन् । पत्रकारिताबाहेकका डिजिटल सामग्री निर्माणमा खासै नैतिकता नजोडिएकाले पनि अब युट्युबर, ब्लगर, टिकटक र अन्य सामग्री निर्माताका लागि आचारसंहिता बनाउन ढिलाइ गर्नु हुँदैन । सबल नीति, अद्यावाधिक पाठ्यक्रम, लक्षित वर्ग चयन, कुशल नेतृत्वकर्ता र प्रभावकारी अनुगमन संयन्त्रसमेत सुनिश्चित गरेर मिडिया साक्षरताको अभियान सञ्चालन गर्नु अपरिहार्य भइसकेको छ ।