भदौ २३ र २४ गते नेपालमा जेनजीको सशक्त विरोधले विस्फोटको रूप लियो । आन्दोलन दक्षिण एसियामा नवीन भने थिएन । राजनीतिक विश्लेषकले ‘राजनीतिक सुनामी’ नाम दिएका जेनजीको आन्दोलन श्रीलङ्का र बङ्गलादेशमा सन् २०२२ देखि नै सुरु भएको थियो । पाँच महिनामा राजापाक्षेको सत्ता जसले श्रीलङ्कामा दशकौँदेखि अनवरत शासन गरेको थियो, समाप्त भयो । सन् २०२२ मा बङ्गलादेशमा १५ वर्षदेखि शासनको बागडोर समालेको शेख हसिनाको सरकार बाहिरियो । नेपालमा दुई दिनको आन्दोलनले इतिहासमै शक्तिशाली भनिएको दुई ठुला दल मिलेर बनेको केपी शर्मा ओली नेतृत्वको सरकार ढल्यो । पाकिस्तानमा मे २०२३ मा र म्यान्मारमा २०२१ मा जेनजीको यस्तै आन्दोलन भएको थियो । सेना र सुरक्षाकर्मीका कारण यो आन्दोलनले सरकार परिवर्तन गर्न त सकेन तर राजनीतिक सुनामीको कहर भने विश्वभर नै फैलियो । नेपालमा त यसले भयावह रूप नै लियो ।
पिँढीगत अन्तर
दक्षिण एसियाको राजनीतिमा पिँढीगत अन्तर छ । नेपाली युवा समूहको समस्या र चुनौतीलाई समाधान गर्न प्रभावकारी सरकारी कारबाहीको अपेक्षा सबै समूहका नागरिकले गरेका थिए । सुशासन र समृद्धिमा सरकारको भूमिकालाई लिएर नेपालमा जेनजीभन्दा अघिका पुस्ताले पनि प्रयास नगरेका होइनन् । हालैका दिनमा जेनजी युवाको समयसापेक्ष चुनौतीलाई समाधान गर्न सरकारको भूमिका निष्क्रिय जस्तो देखिन थालेको महसुस सर्वत्र गर्न थालियो । भाग्यवादको भावना दक्षिणपन्थी, मध्यमार्गी, वामपन्थीलगायत सबै नयाँ पुराना दलमा फैलिएको महसुस हुन थाल्यो । जेनजी फरक समूह हो भन्ने बुझ्न समय लाग्यो ।
भ्रष्टाचार मात्र होइन कृत्रिम बौद्धिकताले ल्याएको चुनौती र देशभित्रकै बढ्दो बेरोजगारीले नेपाली युवाले चरम निराशा महसुस गरेका छन् भन्ने विषयमा सरकार मौन रह्यो । युवा निराशा चिर्न नयाँ कार्यक्रम तर्जुमा त के त्यस विषयमा बहस गर्न पनि कसैको ध्यान गएन । जेनजीको आवश्यकताप्रति सरकार उदासीन रहँदै आएका घटनाक्रमले पुष्टि गरे । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयले आगोमा घिउ थप्ने काम ग¥यो । एक समूहका रूपमा जेनजीले पुरानो पिँढीले कल्पनै नगरेका खतरा महसुस गर्न थाले । अत्यधिक आर्थिक असमानता, तीव्र गतिमा भएको सूचना प्रविधिको परिवर्तन र जलवायु परिवर्तनले ल्याएको सङ्कट, जसले नेपालमा मात्र होइन विश्वभर नै राजनीतिक र अार्थिक स्थिरतालाई खलबल्याएको थियो त्यही मुद्दा नेपालमा पनि सतहमा नै छताछुल्ल भयो ।
सरकार अथवा भनौँ पुरानो पिँढीले यो नयाँ समस्या समाधान गर्न समय लगायो या पछि प¥यो, परिणाम विगतका चुनावमा ठुला दलको मतमा गिरावट आयो । केही नयाँ दलले आफ्नो अस्तित्व जमाए, जसलाई नयाँ विचार पैदा गर्ने परिस्थिति उत्पन्न भएको हो भनेर बुझ्न ठुला र पुराना दलले सकेनन् ।
राजनीतिसँग साइनो जोड्न नचाहने, ठुला दलले जे गरेका छन् त्यसैमा चित्त बुझाउने कि सङ्घर्ष गरेर देशलाई परिवर्तन गर्ने भन्ने प्रश्न जेनजीले डिस्कर्ड र सामाजिक सञ्जालमा उठाए । सामाजिक सञ्जालमा जेनजी मौलिक रूपले पुरानो पिँढीभन्दा फरक हो भन्ने भाष्य निर्माण भयो, जुन सम्भवतः उचित थियो । सामाजिक सञ्जालमा जेनजीले निर्माण गरेको भाष्यप्रति पुरानो पिँढीका नेतृत्व संवेदनशील हुन सकेन । ठुला दलले समेत पिँढीगत मूल्यका आधारमा राजनीतिक सहभागिता सुनिश्चित गरिनु पर्छ भन्ने बिर्सिए ।
नेपालका जेनजीले जलवायु परिवर्तनले ल्याएको परिवर्तन, कोभिडका बेलामा गरिएको उद्धार र उनीहरू हुर्किएको समयमा पालैपालोमा समयसारिणी अनुसार केही व्यक्तिलाई मात्र प्रधानमन्त्री भएको देखे । असलमा जेनजी प्रविधिप्रेमी छन् र अन्य देशमा भएका घटनामा समेत ऐक्यबद्धता जनाएका छन् भन्ने हेक्का राख्न पुरानो पिँढीलाई समय लाग्यो । देशमा भएको बेरोजगारीको सङ्कट, खाडीमा जान पर्ने बाध्यता र कोभिड महामारीले समेत जेनजीमा गहिरो सांस्कृतिक छाप छोडेको छ भन्ने आत्मसात् गर्न दलले सकेनन् । असलमा जेनजी पुरानो पिँढीको तुलनामा निर्णायक रूपमा उदार छ । उनीहरूको मूल्य अधिक समतावादी छ भन्ने हेक्का नहुँदा त्रासदीपूर्ण घटनाले जन्म लियो ।
नेपालको शासनव्यवस्थाको कमी, धन र शक्तिको असमान वितरण र भ्रष्टाचारबारेमा जेनजीको दृष्टिकोण आलोचनात्मक रहेको थियो । जेनजी विश्वको बदलिँदो मूल्य संरचना, जलवायु परिवर्तन, सावैभौमिक स्वास्थ्य सेवा, बेरोजगारी समस्याको अन्त र भ्रष्टाचार जस्तो मुद्दामा अधिक संवेदनशील बन्न पुगे । जेनजी आफ्नो भविष्य र देशको भाग्यलाई लिएर निराशावादी थिए । नेपाली समृद्धिको सपनामा पनि दलका क्रियाकलापले जेनजी निराशावादी भएको नै प्रतीत हुन्छ । जसले गर्दा युवाको वितृष्णा पुराना दलप्रति चरमचुलीमा पुग्यो ।
नेपालका युवाले दलप्रति सम्पूर्ण रूपमा वितृष्णा देखाएको थिए भनेर सम्झनु गलत हुन्छ । जेनजीले पुस्तान्तरणको मुद्दा अघिसारेका हुन् जसलाई अहिलेको राजनीतिक यथास्थितिमा व्यापक असन्तोषको परिणाम हो भनेर बुझ्न जरुरी छ ।
अबको बाटो
मनोवैज्ञानिक अनुसन्धानबाट युवा जुनसुकै विचारधाराका भए पनि उनीहरू सबै पृष्ठभूमिका मानिसप्रति सहिष्णु र खुला विचार भएका समूह हुन् र नीतिगत मुद्दामा ऐक्यबद्धता जनाउँछन् भन्ने प्रमाणित भएको छ । राजनीतिक सीमाभन्दा पर बसेर ठुला दल तथा वर्तमान सरकारले समाजका समस्या हल गर्न अधिक प्रयास गर्न जरुरी छ । युवालाई प्रत्यक्ष प्रभाव पार्ने शिक्षा, रोजगारी स्वास्थ्य सेवा सम्बोधन गर्न सरकार विफल भयो भने यसले भविष्यमा गम्भीर प्रभाव पार्ने छ ।
विगतका सरकारले युवाको सन्दर्भमा केही गम्भीर त्रुटि गर्दै आएका छन् । प्रत्येक युवाको आफ्नै किसिमको चाहना, प्राथमिकता र आकाङ्क्षा हुन्छ भन्ने विगतका सरकारले बुझ्न चाहेनन् । मनोविज्ञान अनुसार पुरुष व्यक्तिवादी दृष्टिकोणप्रति ज्यादा झुकाव राख्छन् भने महिला समतावादी मूल्यप्रति ज्यादा झुकाव राख्छन् । यो धारणालाई मध्यनजर गरी राजनीतिक व्यवस्थाले उनीहरूको हितको प्रतिनिधित्व गर्छ कि गर्दैन या गरेको छ कि छैन जान्न जरुरी हुन्छ । आर्थिक, सामाजिक र पर्यावरणीय जोखिमका लागि उनीहरूका खास कार्यक्रम छन् कि छैनन् यो महìवपूर्ण छ । यिनै मूल्यले आगामी सरकारको सफलता असफलतासमेत निर्धारण गर्ने छ । चुनावमा पनि युवाले नै प्रभाव पार्ने निश्चित छ ।
जेनजी अब स्थापित या नयाँ दल जोसुकै हुन् त्यहाँ उनीहरूको प्रतिनिधित्व हुन्छ कि हुँदैन भन्नेमा जिज्ञासु छन् । अहिले विभिन्न वैचारिक समूहमा बाँडिएका जेनजी भए पनि देशका प्रमुख मूल्य र मुद्दामा राजनीतिक दलको तुलनामा एक कदम माथि देखिन्छन् । यस कारण नयाँ पुराना सबै दलले युवालाई समेट्नु जरुरी छ किनभने आगामी केही वर्षमा अहिलेका यिनै युवा प्रमुख चुनावी तागत बन्ने छन् । नीतिगत तहमा समृद्धिका लागि एक जुट हुने सम्भावना अधिक प्रबल छ । यस कारण सबै दलले जेनजी समूहसँग जोडिन र उनीहरूलाई राजनीतिमा प्रेरित गर्न ढिलो गर्न हुँदैन ।
फागुन २१ को चुनावमा नयाँ पुस्तालाई जोड्न सकिएन भने देश अधोगतितिर उन्मुख हुने छ । नयाँ पुस्ताको सही प्रतिनिधित्व भयो भने अहिले अस्तित्वगत खतरा महसुस गरेका दलले पनि भयको भावनाको प्रतिकार गर्न सक्ने छन्, जसले लोकतन्त्रलाई संस्थागत विकास हुने छ ।