• १० मंसिर २०८१, सोमबार

गुणस्तरीय शिक्षाको अपरिहार्यता

blog

देश विकासको आधार नै गुणस्तरीय शिक्षा हो । कुनै मुलुक समृद्ध छ भन्नुको तात्पर्य त्यो मुलुक शिक्षाको क्षेत्रमा अब्बल छ भन्ने बुझिन्छ । सो मुलुकलाई चाहिने हरप्रकारका जनशक्ति प्रचुर मात्रमा रहेछ भन्न सकिन्छ । देशले शिक्षा क्षेत्रमा उल्लेख्य मात्रमा लगानी गरेको ठहर्छ । राज्यले तय गरेको नीतिले नै नागरिकलाई गुणस्तरीय शिक्षा दिई सक्षम बनाउन मद्दत गर्दछ ।

शिक्षा प्राप्त गर्ने व्यक्तिको नैसर्गिक अधिकारलाई नेपालको संविधानको धारा ३१ को शिक्षासम्बन्धी हकको व्यवस्थाले सुनिश्चित गरेको छ । त्यस्तै शिक्षा प्राप्त गर्ने व्यक्तिको अधिकारलाई धारा ३९ को बालबालिकाको हकले पक्षपोषण गरेको छ । शिक्षालाई वैज्ञानिक, प्राविधिक, व्यावसायिक, सीपमूलक, रोजगारमूलक, एवं जनमुखी बनाउँदै सक्षम, प्रतिस्पर्धी, नैतिक एवं राष्ट्रिय हितप्रति समर्पित जनशक्ति तयार गर्ने अपेक्षा राज्यका निर्देशक सिद्धान्त तथा नीतिले तय गरेको छ । यस्तो जनशक्ति उत्पादन गुणस्तरीय शिक्षाबाट मात्र सम्भव हुन्छ । 

मुलुक समृद्ध बनाउने अचुक जडी गुणस्तरीय शिक्षा हो भन्ने सन्दर्भमा राष्ट्रिय अन्तर्राष्ट्रिय तहमा बहस भइसकेका छन् । जापान, संयुक्त राज्य अमेरिका, बेलायत, सिङ्गापुर, चीन आदि राष्ट्रले शिक्षा क्षेत्रमा उल्लेख्य लगानी गरेर शिक्षालाई गुणस्तरयुक्त बनाएका छन् तर गुणस्तरयुक्त शिक्षाको परिभाषामा भने एकरूपता पाइँदैन ।

नोवेल पुरस्कार विजेता अल्वर्ट आइन्टाइनले शिक्षा भनेको विषयवस्तुको तथ्य जान्नु मात्र नभई रचनात्मक क्षमता वृद्धि गराउने तालिम हो भनी परिभाषित गरेका छन् । युनेस्कोले विद्यार्थीको बाह्य अनुभव, सिकाइ गर्ने वातावरण, शैक्षिक विषयवस्तु, सिकाइ प्रक्रिया, शैक्षिक परिणामलाई गुणस्तरीय शिक्षा भनी उल्लेख गरेको छ । गुणस्तरीय शिक्षालाई सक्षम नागरिक बनाउने साधनको रूपमा लिने गरिन्छ । 

राज्यको शिक्षा नीति, युगानुकूल पाठ्यक्रम, दक्ष र सक्षम शिक्षकद्वारा शिक्षण सिकाइ, सुविधायुक्त भौतिक पूर्वधार एवं प्रभावकारी अनुगमन मूल्याङ्कनजस्ता पक्ष गुणस्तरीय शिक्षाका अवयवहरू हुन् । भनिन्छ मुलुकको विकासमा अवरोध गर्न, सांस्कृतिक धरोहरलाई नस्ट पार्न, मुलुकलाई औपनिवेशिक बनाउन अरू केही गर्नु पर्दैन देशको शिक्षा नीतिलाई कमजोर बनाइदिए पुग्दछ ।

दूरदृष्टियुक्त शिक्षा नीतिले नै योग्य सक्षम तथा असल नागरिक तयार पार्न सक्दछ । दार्शनिक प्लेटो भन्दछन् अशल शिक्षाले व्यक्तिको भावी दिशानिर्देश गरेको हुन्छ । व्यक्ति समाजको सदस्य हो । असल व्यक्तिको समूहले असल समाज बन्दछ । असल समाजले सिङ्गो देशलाई सुसंस्कृत र समृद्ध बनाउँछ । 

समय परिवर्तनको वाहक हो । यो निरन्तर गतिशील रहन्छ । समयजस्तै पाठ्यक्रमको विकास, परिमार्जन तथा अध्यावधिक गर्ने कार्य पनि निरन्तर र गतिशील हुनु पर्दछ । पाठ्यक्रमले शिक्षालाई उद्देश्यमूलक, व्यावहारिक, समसामयिक एवं स्तरीय बनाउन मार्गनिर्देश गर्दछ । विश्वमा द्रुतत्तर रूपमा विकास भएको प्रविधि, मानव चेतनास्तरमा वृद्धि भई आर्जन गरेको ज्ञानको भण्डार, समाजमा भएको सामाजिक, आर्थिक तथा राजनीतिक परिवर्तनसँग आजका बालबलिकाहरू समायोजित हुनुपर्ने हुन्छ ।

पाठयक्रमले यिनै परिवर्तनलाई अङ्गीकार गरी बालबालिकामा सोहीअनुसारको सक्षमताको विकास गर्न सक्नु पर्दछ । पाठ्यक्रमले निर्धारण गरेका सिकाइ उपलब्धिहरूलाई व्यक्तिको जीवन पद्धतिसँग आबद्ध गरी सफल मानव जीवन बनाउन सक्नु गुणस्तरीय पाठ्यक्रमको ध्येय हुनुपर्दछ ।

समृद्ध जीवनशैली विकास गर्न ज्ञान र सीप आवश्यक पर्दछ । गुणस्तरीय शिक्षाले अन्तरनिहीत क्षमतालाई प्रष्फुटित गराई आत्मनिर्भर हुन सक्ने सक्षम र दक्ष बनाउँछ । बालबालिकालाई गुणस्तरीय शिक्षाप्रदान गर्ने निकाय भनेको विद्यालय हो । विद्यालय भन्नाले त्यहाँ कार्यरत शिक्षक भौतिक पूर्वाधार र व्यवस्थापन पर्दछन् ।

विद्यालयका अवयव मध्ये सबैभन्दा महìवपूर्ण पक्षमा शिक्षक पर्दछ । नेपालको संविधानको भाग ३ को धारा ४२ मा सामाजिक न्यायको हकको व्यवस्था रहेको छ । सोही प्रावधानअनुसार शिक्षक सेवा आयोग नियमावली २०५७ को नियम ११ क मा शिक्षक सेवालाई समावेशी बनाउन महिला, आदिवासी जनजाति, मधेशी, अपाङ्ग पिछडिएको क्षेत्र गरी छ वटा समावेशी समूह र महिला समूहभित्र दलित महिला र मुस्लिम महिला गरी दुईवटा थप समावेशी समूह रहेको छ । आयोगले सोहीबमोजिम शिक्षक छनोट गरी सिफारिस गर्दछ ।

समावेशिताको सिद्धान्त अवलम्बन गर्दा खुलातर्फ राम्रो अङ्क ल्याउने उम्मेदवार असफल भएको र कम अङ्क ल्याउने उम्मेदवार सफल भएको पाइन्छ । अझ कतिपय विषयमा त उम्मेदवार सफल नै हुन नसकेको अवस्था रहेको छ । जसले गुणस्तरीय सिकाइको सवालमा प्रश्न उजाएको छ । यहाँ समावेशिताको विरोध गर्न खोजिएको होइन । समावेशितामा प्रतिस्पर्धा गर्ने उम्मेदवारलाई प्रतिस्पर्धा पूर्व नै सशक्तीकरण गर्ने या सिफारिसपश्चात् विशेष तालिमको प्रबन्ध गरिनुपर्दछ भन्ने हो । 

पूर्वाधारयुक्त बालमैत्री विद्यालयले गुणस्तरयुक्त शिक्षा प्रदान गर्न मद्दत पु¥याउँछ । हाम्रा विद्यालयहरू मापदण्ड अनुरूप बन्न सकेकाका छैनन् । विद्यार्थीको उमेर तथा तहअनुसारको कक्षाकोठा, फर्निचर, शौचालय, शैक्षिक सामग्री, प्रयोगात्मक सामान तथा पुस्तकालय छैनन् । विद्यालयमा पर्याप्त खेल मैदान, खेल सामग्री, स्वच्छ खानेपानी, हरियाली वातावरण, शुद्ध ताजा खाना पाइने चमेनागृह, स्वस्थ्य परीक्षणको व्यवस्था भएको पाइँदैन । अतः आधारभूत पूर्वाधार तयार भएका विद्यालयले मात्र गुणस्तरयुक्त सिकाइ गर्न सक्दछ । कुशल व्यवस्थापन गुणस्तरयुक्त सिकाइको अर्को खम्बा हो । विद्यालय व्यवस्थापन र प्रधानाध्यापक विद्यालय व्यवस्थापनका बढी जिम्मेवार पद हुन् ।

विद्यालय सुधार योजना, वार्षिक योजना, दैनिक पाठयोजना, विषय समितिको कार्य योजना अग्रिम बनाएर कार्यान्वयन गरिनु पर्दछ । विद्यालयको बजेट निर्माण र खर्च पारदर्शी हुनुपर्दछ । सामाजिक परीक्षण गरेर अभिभावकको विश्वास लिनुपर्छ । राईट म्यान इन राईट प्लेसको सिद्धान्त अपनाउनु पर्दछ । हाम्रो होइन राम्रो भन्ने कुरालाई व्यवहारमा देखाउन सक्नु पर्दछ । विद्यलयका हरेक निर्णय प्रक्रिया तथा रचनात्मक कार्यमा अभिभावक, शिक्षक एवं विद्यार्थीलाई सहभागी गराएमा सबैमा अपनत्वको भावना जागृत भई उपलब्धि हासिलमा सहयोग पुग्न जान्छ । योजना अनुरूपका उपलब्धि हासिल हुनु भनेको गुणस्तरीय सिकाइमा टेवा पुग्नु हो । 

गुणस्तरीय शिक्षाका लागि अभिभावक तथा विद्यार्थीको भूमिका पनि महìवपूर्ण रहन्छ । अभिभावकले बालबालिकका लागि उचित पालनपोषण गर्नुपर्ने, स्वास्थ्य अवस्थाको ख्याल गर्नुपर्ने, पारिवारिक वातावरण बालमैत्री बनाउने गर्नुपर्दछ । बालबालिकाका लागि शैक्षिक सामग्री जुटाइदिने, सिकाइका लागि हौसला प्रदान गर्ने गर्नुपर्दछ । सिकाइका लागि बालबालिकाको शारीरिक, मानसिक, संवेगात्मक तथा सामाजिक विकासले महìवपूर्ण भूमिका निर्वाह गर्दछ ।

हाम्रा अभिभावकमा व्याप्त गरिबी, अशिक्षा, चेतनाको स्तर कमजोर भएका कारण बालबालिकाको सर्वाङ्गिण विकासमा ठोस योगदान पु-याउन सकिरहेका छैनन् । राज्यले गुणस्तरीय शिक्षाको अपेक्षा गर्दा अभिभावकको आयस्तर उकास्ने नीति तथा कार्यक्रममा ध्यान दिनुपर्ने हुन्छ । अभिभावक शिक्षामा समेत जोड दिनुपर्ने हुन्छ । गुणस्तरीय शिक्षाका सन्दर्भमा बालबालिका स्वयं जानकार नहुन सक्छन् । 

शिक्षामा पर्याप्त लगानी छैन । आ.व. २०७१/०७२ मा कुल बजेटको झन्डै सोह्र प्रतिशतसम्म पुगेको शिक्षाको बजेट हाल घटेर नौ प्रतिशतमा झरेको छ । विकशित तथा विकाशील मुलुकले कुल बजेटको कम्तीमा बीस प्रतिशत लगानी शिक्षामा गरेको पाइन्छ । मुलुक विकासको पूर्वाधारको रूपमा रहेको शिक्षालाई हाम्रो मुलुकले पनि कम्तीमा बीस प्रतिशत लगानी शिक्षा क्षेत्रमा गरिनु पर्दछ ।

एउटै विद्यालयमा अध्यापन गराउने शिक्षक दशौँ प्रकारका छन् । विद्यालयमा विषयगत शिक्षक तथा पर्याप्त दरबन्दी छैन । शिक्षक सेवाको नियमित स्थायी पदपूर्ति हुन सकेको छैन । विद्यालयमा अस्थायी शिक्षक छनोट गर्दा राम्रो होइन हाम्रो भन्ने चलन छ । विद्यालयमा प्रशासनिक तथा कार्यालय सहयोगी कर्मचारी छैनन् । यस्तो अवस्था रहँदासम्म हामीले भन्ने गरेको गुणस्तरीय शिक्षा बोलीमा मात्र सीमित रहनेछ । 


Author

हरि आत्रेय