• १३ असोज २०८२, सोमबार

विकासमा पर्यावरणीय सोच

blog

नेपाल कृषिप्रधान मुलुकका रूपमा चिनिए पनि हाम्रा विकासे अवधारणा कृषिविरोधी र प्रकृति विनाशक हुन थालेका छन् । आजकल, विकास भन्नासाथ सडक, भवन, गगनचुम्बी संरचना, प्लटिङ र कन्क्रिटको जङ्गल सम्झन थालिएको छ । माटो परीक्षण नगरी जथाभाबी सडक खनिएका कारण पहाडी गाउँतिर पनि पहिरो जाने र पानीका मुहान सुक्ने गरेका छन् । कतिपय ठाउँका मानिस पानीकै समस्याबाट दिक्क भएर पनि गाउँबाट सहर (खास गरी उपत्यका) तिर बसाइँ आउँदै छन् । सहरमा नयाँ नयाँ घर बनेर नयाँ बस्तीको विकास हुँदै छ । 

यसरी हामी सहर त बाक्लो बनाउँदै छौँ तर यस कममा हाम्रो जीवनको मेरुदण्ड माटो र पानीलाई चाहिँ हामीले बेवास्ता गरिरहेका छौँ ।

भूमिगत पानी सङ्कट 

नेपाल वाटर कन्जर्भेसन फाउन्डेसन (२०८०) को प्रतिवेदन अनुसार काठमाडौँ उपत्यकामा दैनिक ४० करोड लिटर पानी भूमिगत स्रोतबाट निकालिन्छ तर त्यसको पुनर्भरण हुने मात्रा आधाभन्दा कम छ १५÷२० करोड लिटर मात्र । परिणामस्वरूप पुराना इनार, ढुङ्गेधारा र मूलहरू क्रमशः सुक्दै गएका छन् । एक उदाहरण हेरौँ, काठमाडौँकोधोबीधारा । केही दशकअघि निरन्तर बग्ने यो धारा अहिले बर्सैपिच्छे कमजोर हुँदै गएको छ । वैज्ञानिकले यसलाई ‘भूमिगत पानी सङ्कट’ को प्रत्यक्ष प्रमाण ठान्छन् ।

पोखराको भूगोल 

पोखरा हाम्रो प्रसिद्ध पर्यटकीय सहर हो । त्यसमा पनि लेकसाइड क्षेत्र पोखराको आकर्षण मात्र होइन, प्राकृतिक सम्पदा पनि हो । आज त्यहाँ होटेल, रेस्टुराँ र पक्की ढलानले जमिन पूरै ढाकिएको छ । पोखरा विश्वविद्यालयको अध्ययनले देखाएको छ, २० वर्षमा भूमिगत पानी पुनर्भरण दर ५० प्रतिशतले घटेको छ । यसको असर फेवातालमै देखिन थालिसकेको छ । तालको सतह व्रmमशः घट्दै गएको कुरा स्थानीय बताउँछन् ।

तराई भासिँदो जमिन

तराईमा भूमिगत पानीको अति प्रयोगले जमिन भासिन थालेको छ । नेपाल भूगर्भ विभाग (२०८१) ले मोरङ र झापाका केही क्षेत्रमा सतह १०–१२ सेन्टिमिटर तल धसिएको तथ्य सार्वजनिक गरेको थियो । किसानहरूको अनुभवजन्य गुनासो छ, इनारको पानी तल झर्दै जाँदा अतिरिक्त खर्चिलो मोटरबिना पानी निकालेर सिँचाइ गर्न सम्भव छैन ।

कङ्व्रिmट र बढ्दो तापव्रmम

केही वर्षयता काठमाडौँमा ‘हिट आइल्यान्ड’ प्रभाव महसुस गर्न थालिएको छ । नेपाल इन्जिनियरिङ कलेज (२०७९) को अनुसन्धानले उपत्यकाको तापव्रmम वरपरका ग्रामीण क्षेत्रभन्दा दुई÷तीन डिग्री सेल्सियस बढी देखाएको छ । गर्मीयाममा सडकमा हिँड्दा खुट्टा पोल्ने तातो र कुनै पनि बगैँचाको माटोमा महसुस हुने चिसोपनबिचको फरक यही हो ।

हिमनदी सुक्दै

त्रिभुवन विश्वविद्यालयले २०७८ मा गरेको अध्ययनले लाङटाङ हिमनदीको हिउँ विगत ३० वर्षमा ४० प्रतिशत घटेको देखाएको छ । अन्तरसरकारी जलवायु परिवर्तन प्यानलले चेतावनी दिएको छ, २०५० सम्म आइपुग्दा नेपालको करिब ८० प्रतिशत हिमनदी हराउने खतरा छ । नदीहरूको मुहान नै हराउँदा खेतीबाली, खानेपानी र जलविद्युत् सबै सङ्कटमा पर्ने छन् । हामी भने गौरवका ठुला योजनासहित नदीको पानीबाट बिजुली निकाल्न भगीरथ प्रयास गरिरहेका छौँ । पहिला नदी बचाउने अभियानमा लाग्ने बुद्धि कहिले आउने होला !

जमिन भासिने जोखिम

२०७२ सालको भूकम्पपछि नेसनल सिस्मिक सेन्टरले भूमिगत पानी कम भएका क्षेत्रमा बढी चिरा देखिएको निष्कर्ष निकालेको थियो । कलङ्की, बल्खु जस्ता क्षेत्रमा जमिन धसिएको अवस्था यसकै उदाहरण हो । वैज्ञानिकहरूको भनाइ छ, भूमिगत तह भर्ने पानी नहुँदा भविष्यमा उपत्यकाका कतिपय भाग नै भासिन सक्छन् । यो निश्चय नै हाम्रा लागि सम्भावित भयावह अवस्था हो । 

सामाजिक सोच 

आज धेरैलाई हिलो नटेक्नुमा नै सुविधा भएको अनुभव हुन्छ । वातावरण विज्ञान अध्ययन संस्थान (२०२३) ले देखाएको छ, काठमाडौँका ७० प्रतिशत घरधनीले आफ्नो सम्पूर्ण जग्गा ढलान वा टायलले ढाक्छन् । यसरी ‘सफा’ देखिने जमिनले वास्तवमा भूमिगत पानी पुनर्भरणलाई रोकेको हुन्छ । हाम्रो सोच सोझो र विश्वास छिटो छ, “हाम्रो कर्तव्य कर तिर्नु हो । कर तिरेपछि नगरपालिकाले वातावरण जोगाउनेलगायतका सबै काम गर्छ ।” अधिकांश नगरपालिकालाई माटो र पानी जोगाउने विषयमा कुनै चिन्ता नै नहुन सक्छ । माटो र पानीलाई समस्या पर्दा, कर तिरेको भरमा हामी समस्याबाट मुक्त 

हुन सक्दैनौँ । माथिका केही बुँदाबाट के निश्चय गर्न सकिन्छ भने भविष्यमा माटो र पानीबाट उब्जने समस्या, निश्चय नै हाम्रा सन्तानका लागि पीडादायी बन्न सक्छ । त्यसैले त्यसबाट मुक्ति पाउनका लागि अहिले नै निम्न उपाय अपनाउन सकिन्छ ः

खुला माटो जोगाउने कानुन ः प्रत्येक घरभवन 

निर्माणमा कम्तीमा २५ प्रतिशत जमिन खुला राख्न अनिवार्य गर्नु पर्छ ।

वर्षा पानी सङ्कलन ः काठमाडौँमा वार्षिक एक हजार छ सय मिमी वर्षा हुन्छ । यसलाई सङ्कलन गरेर भूमिगत पानी पुनर्भरण 

गर्न सकिन्छ ।

हरियाली विस्तार ः हरियाली पार्क, सामुदायिक बगैँचा र वृक्षरोपणलाई विकासको मुख्य अङ्ग बनाउनु पर्छ ।

सचेतना अभियान ः विद्यालयदेखि समाजसम्म व्यावहारिक शिक्षा जस्तै, सडक तथा भवन निर्माणको वैकल्पिक उपाय, वर्षाको पानी सङ्कलन, वृक्षरोपणलाई अभियानका रूपमा व्यवहारमा 

उतार्नु पर्छ ।

निष्कर्ष

मानिसका लागि विकास अपरिहार्य छ । यो आधुनिकताबाट पछाडि सर्न पनि सक्दैन । विकासको नाममा अन्धाधुन्द प्रकृति नष्ट गरेर हामीलाई बचाउने माटोपानीको अस्तित्व नै बिगार्न थालिन्छ भने त्यसलाई विकास मान्न सकिँदैन । त्यसलाई विनाश भन्नु पर्छ । आजको सुविधामुखी सोचबाट हुने देखावटी विकासले भोलिका दिनमा मानवीय अस्तित्वमै प्रश्नचिह्न खडा गर्छ भने त्यसतर्फ हामी अहिल्यैदेखि गम्भीर बन्नु पर्छ ।