• ९ जेठ २०८२, शुक्रबार

सुरक्षाबिना अध्यागमन सधैँ विवादमा

blog

विमानस्थल सुरक्षाका लागि उपत्यका प्रहरी कार्यालय मातहतको त्रिवि अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय स्थापान गरिएको भए पनि अध्यागमनमार्फत हुने आवतजावतमा प्रहरीको भूमिका शून्य छ ।

काठमाडौँ, जेठ ९ गते । अध्यागमनलाई मुलुकको ऐनाका रूपमा हर्ने गरिन्छ । विदेशी नागरिकले पहिलो पटक भेट्ने र सेवा लिने भएकाले अध्यागमनका गतिविधि र सुरक्षा व्यवस्था देशको परिचयसँग पनि जोडिएको हुन्छ । सबैभन्दा बढी विदेशीहरूको आवतजावत हुने अन्तर्राष्ट्रिय नाका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालय भने अक्सर विवादमा मुछिने गरेको छ । 

विमानस्थलबाट भिजिट भिसाको आवरणमा मानव तस्करी हुने गरेका घटना एकपछि अर्को बाहिरिँदै गर्दा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अपरेसन गरी अध्यागमन प्रमुख तीर्थराज भट्टराईसहित चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । विशेष अपरेसनका क्रममा महत्वपूर्ण प्रमाण फेला परेको दाबी गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार अध्यागमन कार्यालय र नियन्त्रणमा लिएका व्यक्तिबाट प्राप्त प्रमाणबारे अनुसन्धान भइरहेको छ । पौडेल भन्नुहुन्छ, “विमानस्थल अध्यागमनबाट अवैध गतिविधि भइरहेको सूचना पाएपछि त्यहाँ पुगेर केही कागजपत्र सङ्कलन गर्ने र सम्बन्धित व्यक्तिसँग आवश्यक सोधपुछ भइरहेको छ ।” उहाँले उक्त विषय अनुसन्धानका क्रममा रहेकाले थप खुलाउन भने चाहनु भएन ।

मानव तस्करीको गिरोहलाई सहयोग पुग्ने गरी अध्यागमनका कर्मचारीले भिजिट भिसाको आवरणमा ठुलो सङ्ख्यामा विदेश भ्रमणको अनुमति दिने गरेको आरोप भने नौलो होइन । यसअघि पनि मानव तस्करीमा संलग्न भएको आरोपमा अध्यागमनका कर्मचारी प्रहरी नियन्त्रणमा पर्ने गरेका थिए तर प्रमुख नै पक्राउ परेको भने यो पहिलो घटना हो । विसं २०८० माघ १२ गते दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमन कार्यालयका कर्मचारीबिच कुटाकुट भएको घटना पनि खुलेआम हुने गरेको मानव तस्करीसँग जोडिएको थियो । अध्यागमन अधिकृत छायालाल मोक्तान विमानस्थलको बाह्यबाट आगमनतर्फ बिनाचेकजाँच अघि बढ्न खोजेपछि प्रहरीले रोक्न खोज्दा ड्युटीमा रहेका प्रहरी जवानसँगै हात हालाहाल भएको थियो ।

विवाद बढ्दै गएपछि तत्कालीन विमानस्थलको सुरक्षा प्रमुख प्रहरी नायव महानिरीक्षक अर्जुन चन्दले राजीनामा नै दिनुभयो । प्रहरी प्रधान कार्यालयको आग्रहमा त्यो राजीनामा पछि फिर्ता भयो । सो विवादका कारण भिजिट भिसाका नाममा भइरहेको मानव तस्करीसँग जोडिएको थियो । उपत्यका अपराध अनुसन्धान कार्यालयले भिजिट भिसाको आवरणमा मानव तस्करी गरेको अध्यागमनका अधिकृत नरवीर खड्का पक्राउ परेको घटनासँग जोडिएको थियो । 

घटनाको दुई महिनाअघि पक्राउ परेका खड्कालगायत अध्यागमनका कर्मचारीमाथि प्रहरीले गरेको अनुसन्धानमा लामो सूची नै फेला परेको थियो । अर्का अधिकृत नाराबहादुर कुँवरलगायतको मिलेमतोमा नेपाली युवालाई रुसी सेनामा पठाउने गिरोहसँग पनि सम्बन्ध देखिएको थियो । प्रहरीले अध्यागमन कर्मचारीमाथि निगरानी बढाउन थालेपछि अध्यागमनका कर्मचारीले काम रोकेर तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र नै बुझाएपछि मानव तस्करी जस्तो जघन्य अपराधको घटनाको अनुसन्धानबाट पछि हट्न प्रहरी बाध्य भयो । 

यसअघि विसं २०७९ भदौ १० गते राति प्रहरीले विमानस्थलबाट खाडी मुलुक उड्न लागेको विमानबाट ९२ महिला र ८४ पुरुष गरी १७६ जनाको उद्धार ग¥यो । मानव तस्करको मिलेमतोमा अध्यागमनबाट भ्रमण स्वीकृति पाएका ती युवती अवैध रूपमा खाडी पु¥याउन लागिएको थियो । 

प्रहरीको उक्त कारबाहीप्रति पनि अध्यागमनका कर्मचारीले आपत्ति मात्र जनाएनन् तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेरै विरोध गरेपछि विमानस्थल सुरक्षा प्रमुखले उल्टै हप्कीदप्की खेप्नुप¥यो ।  भिजिट भिसामा दुबई उड्न लागेका अधिकांशको कागजपत्र बनावटी तथा कार्यविधि अनुरूप मापदण्ड नपुगेको पाइएको छ । यसमा अध्यागमन विमागको गम्भीर लापरबाही वा मिलेमतो देखिए पनि अनुसन्धान अघि बढेन । 

सुरक्षाबिनाको अध्यागमन 

विकसित र सुरक्षा चुस्त रहेका हरेक राष्ट्रको अध्यागमन सुरक्षाकर्मीको अनिवार्य उपस्थित रहन्छ तर सुरक्षाका दृष्टिले संवेदनशील मानिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनमा प्रहरीको उपस्थिति नै छैन । विमानस्थल सुरक्षाका लागि उपत्यका प्रहरी कार्यालय मातहतको त्रिवि अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय स्थापान गरिएको भए पनि अध्यागमनमार्फत हुने आवतजावतमा प्रहरीको भूमिका शून्य छ । 

केही महिनाअघि तत्कालीन राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास बैरागीले बुझाएको विमानस्थल सुरक्षा सुदृढीकरणसम्बन्धी प्रतिवेदनमा अध्यागमनको सुरक्षामा प्रहरीको उपस्थिति हुनुपर्ने सुझावसमेत कार्यान्वयन हुन सकेको छैन । उक्त प्रतिवेदनमा अध्यागमन कर्मचारीसँगै प्रहरीलाई विमानस्थलको आगमन कक्षतिर राख्नुपर्ने सुझाव दिइएको छ । प्रहरी उच्च स्रोतका अनुसार यो सुझावमा गृह र अर्थ मन्त्रालयले स्वीकृत दिए पनि कार्यान्वयन हुन सकेन । 

नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्ल सुरक्षाको दृष्टिले अध्यागमन अत्यन्तै संवेदनशील रहने कडा सुरक्षा निगरानी हुनुपर्ने बताउनुहुन्छ । राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष जोडिएको अन्तर्राष्ट्रिय बोर्डर (त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालय) बाट नै निरन्तर भइरहेको गलत गतिविधि रोक्न राज्यले विशेष साधनस्रोतसहितको सुरक्षा उपस्थिति राख्न ढिला गर्न नहुने मल्लको सुझाव छ ।