• २७ वैशाख २०८२, शनिबार

वनमा पाटेको निर्वाध शासन

blog

मांसाहारी पाटेबाघको शासन चल्छ जङ्गलमा । तथापि शाकाहारी हात्ती र गैँडाको सिकार गर्न पाटेबाघ पनि हच्किन्छ । त्यसैले जङ्गलमै रम्ने चितुवा, भालु, गोही, मृग, जरायो, चित्तल, घोरल, बँदेललगायत जनावर पाटेबाघको जङ्गली राज्यका प्रजा जस्तै लाग्छन् ।

नेपाली जङ्गलमा दुर्लभ पाटेबाघ छन् । जङ्गलको राजा मानिने पाटेबाघ बस्ने जङ्गलमा हात्ती निर्वाध घुमिरहेका पाइन्छन् । पाटेबाघकै इलाकामा एकसिङे गैँडा सुस्तसुस्त डुलिरहन्छन् । पाटेबाघ देखेपछि बुर्कुसी मार्ने मृग, चित्तल, घोरल, बँदेलजस्ता वन्यजन्तु हात्ती र गैँडासँग एकरत्ति डराउँदैनन् । घुम्छन् सँगसँगै । डुल्छन् सँगसँगै । नदीकिनारमा मस्त आहाल खेलिरहन्छन् गोही । यही सुन्दर दृश्य अवलोकनका लागि आउने पर्यटक भन्छन्, “आहा ! जङ्गलमा पनि सत्ताको अभ्यास पो रहेछ ।” 

मांशहारी पाटेबाघको शासन चल्छ जङ्गलमा । तथापि शाकाहारी हात्ती र गैँडाको सिकार गर्न पाटेबाघ पनि हच्किन्छ । त्यसैले जङ्गलमै रम्ने चितुवा, भालु, गोही, मृग, जरायो, चित्तल, घोरल, बँदेललगायत जनावर पाटेबाघको जङ्गली राज्यका प्रजाजस्तै लाग्छन् । जङ्गलको ‘महाराज’ पाटेबाघ बसोवास रहेको जङ्गल पर्यावरणीय दृष्टिमा समेत सन्तुलित मानिन्छ । जहाँ हरेकप्रकारका जीवजन्तुको बसोवास रहेको हुन्छ । घना जङ्गलका असङ्ख्य वन्यजन्तु, पशुपक्षी तथा जलचरको प्राकृतिक शासन सन्तुलनमा राख्न चोरीसिकार नियन्त्रणको सुरक्षा व्यवस्था उत्तिकै महत्वपूर्ण हुन्छ ।

जङ्गली हात्ती, भालु, चितुवालगायत वन्यजन्तु बसोवासका कारण जङ्गलको वातावरण शान्त छ । चित्तल, घोरल, मृग, बँदेललगायत जनावरको सङ्ख्या बढ्दै जाँदा पाटेबाघको आहारामा कुनै कमी छैन । एकले अर्कोलाई आहारा बनाउने जङ्गलको जीवनचक्रभित्र नेपालले पर्यटनको सम्भावना खोज्न थालेको धेरै भइसक्यो । त्यसो त दुर्लभ एकसिङे गैँडा भएपछि संसारभरका पर्यटकको आर्कषण यसै बढ्ने भयो । पर्यटकको आगमनपछि आर्थिक अवस्था यसै सबल हुने नै भयो । निकुञ्जमा ससाना बच्चासहित निर्वाध डुलिरहेका एकसिङे गैँडा पर्यटक देख्नेबित्तिकै कान र टाउको हल्लाउँदै ढुक्कले घाँसेमैदान तथा सिमसार चहारेको, जङ्गली हात्तीको ओहोरदोहोरले पर्यटकको जङ्गल सफारी अविस्मरणीय बन्न पुग्छ । यी दुर्लभ वन्यजन्तुको सुरक्षार्थ सरकारले ५० वर्षदेखि वन्यजन्तु तथा पर्यावरण सुरक्षाको (राष्ट्रिय निकुञ्ज) जिम्मा नेपाली सेनालाई दिएको छ । तथापि चोरीसिकारका समाचार नआएका होइनन् । 

महाराजा बनेको बाघ

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ नयाँ गोरख गण खटिएको छ । गस्तीमा जाने सेनाले बाघलाई ‘महाराजा’ कोड नाम दिएको छ । एकसिङे गैँडालाई ‘सरकार’ र जङ्गली हात्तीलाई ‘सर’ भनेर सम्बोधन गरिन्छ । जङ्गलमा वन्यजन्तुको अन्तरसम्बन्धको ख्याल गरी सायद यस्तो सम्बोधन राखिएको होला । यिनै ‘महाराज’, ‘सरकार’ र ‘सर’ को सुरक्षा व्यवस्थापनमा ध्यान दिएकैले पछिल्लो समय वनजङ्गलमा मानव अतिव्रmमण रोकिनुका साथै मानव–वन्यजन्तु द्वन्द्व कम भई जङ्गल तथा मानव बस्तीको वातावरण शान्त बन्दै गएको छ । 

नेपाली सेनाले सुरक्षा प्रदान गरेका नेपालका १२ वटा राष्ट्रिय निकुञ्ज तथा एक आरक्षण र एक सिकार आरक्षमा विश्वमै दुर्लभ बन्दै गएका बाघ, गैँडा, सोँस (डल्फिन), घडियाल, रेडपान्डालगायत वन्यजन्तु तथा पक्षीको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ । राष्ट्रिय निकुञ्जका दुर्लभ वन्यजन्तु तथा वन पैदावर संरक्षण गर्न सेनाले २०६७ सालदेखि सञ्चालन गरेको ‘अपरेसन संरक्षण’ पछि पछिल्लो डेढ वर्षमा चोरीसिकार पूर्ण नियन्त्रणमा आएको दाबी गरिएको छ । चोरीसिकार तथा तस्करी पूर्ण नियन्त्रण आउनुमा नेपाली सेनाको चुस्त सुरक्षा व्यवस्थापन, समस्या पहिचान तथा प्रभावकारी समन्वय रहेको बताइन्छ । 

प्रकृति संरक्षणमा ५० वर्ष 

प्रकृति तथा पर्यावरण संरक्षणका लागि नेपाली सेनाले जिम्मेवारी लिएको ५० वर्ष पूरा भएको छ । २०३२ सालदेखि सेनाले औपचारिक रूपमा चिनवन राष्ट्रिय निकुञ्जबाट प्रकृति तथा पर्यावरणको सुरक्षा दिन थालेको हो ।

पहिलो पटक प्रकृति संरक्षणको शुभारम्भ नागार्जुन जङ्गलबाट भएको थियो । राजा सुरेन्द्र वीरविक्रम शाहले सन्‌ १८६९ मा संरक्षणको सुरु गरेका थिए । नेपाली सेनाको आठ वटा गण, सात वटा गुल्म र एक प्रकृति संरक्षण शिक्षालयमार्फत झन्डै नौ हजार सैनिक प्रकृति संरक्षणमा खटिएका छन् । वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण अन्तर्गतको राष्ट्रिय निकुञ्ज कार्यालय तथा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको सहकार्यमा निकुञ्ज सुरक्षा र व्यवस्थापन हुँदै आएको छ । यसैबिच मध्यवर्ती क्षेत्रका बासिन्दाको जीवनस्तर उठाउने अनेक प्रयास भइरहेका छन् ।

वन्यजन्तु हेर्न बढे पर्यटक

सन् २०११ मा रसियाको पिटर्सवर्गमा बाघ पाइने राष्ट्रका प्रमुखहरूको सम्मेलन भएको थियो । सम्मेलनमा सहभागी नेपालसहितका राष्ट्रप्रमुखले बाघको सङ्ख्या तीन गुणा बनाउने प्रतिबद्धता व्यक्त गरे । अन्य राष्ट्र लक्ष्यमा अझै पुग्न सकेका छैनन् । तथापि नेपालले तीन गुणाले बाघको वृद्धि गरी नयाँ रेकर्डसँगै विश्वको ध्यान खिच्न सफल भएको छ । सन् २०११ मा नेपालमा १२१ को सङ्ख्यामा रहेको पाटेबाघ अहिले ३५५ पुगेको छ । सन् २००५ मा ४०० को सङ्ख्यामा रहेको एकसिङे गैँडाको सङ्ख्या ७५२ पुगेको छ । चितवन राष्ट्रिय निकुञ्जमा हात्ती ४५, चौँरीगाई ३८८, घडियाल गोही ६९४ रहेका छन् । स्तनधारी ७० प्रजातिका, चरा ५४६, सरिसृप र १२० प्रजातिका माछा रमाइरहेका छन् । अघिल्लो आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा मात्र तीन लाख ६० हजार पर्यटक पुगेकोमा चालु आवको नौ महिनामा एक लाख ८२ हजार पर्यटकले भ्रमण गरेका छन् । यस आर्थिक वर्षमा हालसम्म २३ अर्ब ६४ करोड ९९ लाख ९५ हजार ९०० राजस्व सङ्कलन भएको बताइन्छ । बढ्दो बसाइँसराइका कारण तराई क्षेत्रका वनजङ्गलको अतिक्रमण रोकिएको छैन । निकुञ्ज सुरक्षार्थ आवश्यक प्रविधिसहितको जनशक्तिको साङ्गठनिक क्षमता अभिवृद्धि, पूर्वाधार विकास, प्रभावकारी सूचनाको पहुँच विस्तारमा राज्यले समयमै ध्यान दिन नसके संरक्षित चोरी तस्करी फेरि बढ्ने पो हो कि भन्ने चिन्ता आमसरोकारवाला निकायमा छ । 

निकुञ्ज सुरक्षाका लागि निर्धारित गस्ती, सवारी गस्तीको संयुक्त अनुगमन, सिसी क्यामरा तथा चोरीसिकारको रेकर्ड राख्ने स्प्रे क्यामराबाट पनि अनुगमन गरिँदै आएको छ । निकुञ्ज भ्रमण गर्ने पर्यटकका सवारीको निगरानी गर्न भिटिआरएस जडान गरिएको सेनाले जनाएको छ । 

सुरक्षाको समन्वय

सशस्त्र द्वन्द्वको सुरुवातसँगै बढ्दो हतियार प्रयोगका कारण वन्यजन्तु चोरीसिकार बढेको थियो । द्वन्द्वको त्यो अवधिमा एकसिङे गैँडा र पाटेबाघको अस्तित्व झन्डै समाप्त हुने अवस्थामा पुग्यो । तर नेपाली सेना वन्यजन्तु संरक्षणको दायित्वबाट पछि हटेन । सैनिक मुख्यालय जङ्गी अड्डाका अनुसार निकुञ्ज सुरक्षार्थ तैनाथ रहँदा वन्यजन्तु तथा चोरीसिकारीको आक्रमणमा परी हालसम्म ११६ जना सैनिकले ज्यान गुमाएका छन् । 

बाघको सुरक्षा, वासस्थान व्यवस्थापन र आहार प्रजातिको उपलब्धताका आधारमा चितवन राष्ट्रिय निकुञ्ज सन् २०१५ मा बाघ पाइने देशमध्ये पहिलो राष्ट्रिय निकुञ्जका रूपमा पुरस्कृत भयो । निकुञ्जमा सेनाको तैनाथीपछि बाघ, गैँडा, हात्ती, घडियाल गोहीजस्ता दुर्लभ वन्यजन्तु चोरीसिकार नियन्त्रण र वासस्थान विनाश रोकिँदा यी जनावर नेपालबाट लोप हुनबाट जोगिएका हुन् ।

डेढ वर्षअघि अर्थात् २०८० कात्तिक ३० गते चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर अन्तर्गत चपरचुली क्षेत्रमा तस्करले खाडलमा हालेर छ र १८ वर्षका दुई वटा पोथी गैँडा मारे ।

तिहारलगायत चाडबाडको समयमा घना जङ्गलभित्र योजनाबद्ध रूपमा गैँडा मारिएको घटनाले सुरक्षाकर्मीलगायत संरक्षणकर्मीलाई स्तब्ध बनायो । यो घटनाबारे सरकारले पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । 

समितिको छानबिन चलिरहेका बेला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), नेपाली सेना र निकुञ्ज प्रशासनको संयुक्त अपरेसनबाट घटनाको दुई हप्ता नपुग्दै तस्कर समूहका आठ जना जना पक्राउ परे ।

घटनाको अनुसन्धान र छानबिन समितिको प्रतिवेदनमा खाग तस्करीका लागि गैँडा मार्न तस्करले निकै लामो योजनाबद्ध तयारी गरेको भेटियो । यो घटनापछि नेपाली सेना, निकुञ्ज व्यवस्थापन तथा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले संयुक्त रूपमा वन्यजन्तुको चोरीसिकार नियन्त्रण तथा अवैध गतिविधि नियन्त्रणका लागि संयुक्त अपरेसन सुरु गरे ।

सम्भावित चोरीसिकार हुने इलाकामा एम्बुस, सर्च एन्ड स्विप, चेक प्वाइन्टलगायतका कारबाहीले सुरक्षा थप बलियो बनायो । पैदल गस्तीसँगै संरक्षण कार्यमा खटिएका फौजले साइकल, मोटरसाइकल, भेहिकल, हात्ती तथा डुङ्गा गस्तीमार्फत निकुञ्ज क्षेत्रलाई पूर्ण रूपमा निगरानी र नियन्त्रणमा राखिएको छ ।

चालु आर्थिक वर्षमा सेनाले गस्तीका क्रममा ११ थान हतियार, एक हजार चार सय ६७ पासो, एक हजार पाँच सय ६५ घरेलु औजार, दुई सय ५२ सवारीसाधन र १० वटा आखेटोपहार बरामद गरेको जनाएको छ ।

प्रविधिको बढ्दो प्रयोग, वनजङ्गल अतिक्रमण र सीमित स्रोतसाधनका कारण प्रकृति संरक्षण जटिल र चुनौतीपूर्ण बन्दै गएको छ । संयुक्त सुरक्षा प्रणाली अपनाएपछि गैँडा, बाघलगायतका वन्यजन्तु नेपालबाट लोप हुनबाट जोगिएका छन् तर वनजङ्गलको विनाश र मानवजन्य चुनौती बढ्दै गइरहेका कारण अहिलेको अवस्था कायम गर्न चुनौतीपूर्ण बनेको छ । 

बढ्दो सहरीकरण तथा न्यून आर्थिक स्रोतका कारण मानिसको जङ्गलप्रतिको परनिर्भरता बढ्दो छ । वन्यजन्तुका लागि निकुञ्ज तथा आरक्षण क्षेत्रभित्र सुहाउँदो वातावरण, वासस्थान तथा आहारा अभावका कारण वन्यजन्तु गाउँबस्तीभित्र प्रवेश गर्नाले मानव–वन्यजन्तु द्वन्द्व बढेका छन् । वन्यजन्तु तस्करले प्रयोग गर्ने आधुनिक हातहतियार, जाल तथा एम्बुसजस्ता उपकरणको निरन्तर निगरानीका लागि सेनासँगै निकुञ्ज प्रशासन र संरक्षण कार्यमा साझेदार निकायबिच प्रभावकारी समन्वय आवश्यक देखिन्छ ।

निकुञ्ज तथा आरक्षणभित्र हुने गतिविधि निगरानी तथा नियन्त्रणका लागि ‘रियल टाइम पेट्रोल मनिटरिङ सिस्टम, स्मार्ट आई, भेहिकल ट्र्याकिङ रेकर्ड सिस्टम (भिटिआरएस) तथा सिसी क्यामरा प्रयोग गरेको छ ।

चितवन राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूची तथा रामसार क्षेत्रका रूपमा सूचीकृत छ । ४० भन्दा बढी प्राकृतिक ताल रहेको निकुञ्ज रिउ, राप्ती र नारायणी नदीको घेरोमा घेरिएको छ । यस निकुञ्जमा गैँडा, पाटेबाघ, सोँस, गौरीगाई, काठेभालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिङे, बाँदर र लङ्गुरलगायत ६० भन्दा बढी किसिमका स्तनधारी जनावर रहेका छन् । 

चुनौती 

प्रकृति संरक्षणमा हाल उल्लेख्य उपलब्ध हासिल भए पनि यसलाई जोगाइराख्ने चुनौती कायम छ । निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको अतिक्रमण अवैध तथा छाडा चरिचरन, निकुञ्जभित्र विकासका पूर्वाधार निर्माण, वन्यजन्तुमैत्री पूर्वाधार अभाव, बढ्दो औद्योगिकीकरण, वातावरणीय प्रदूषण, खुला सिमानालगायतले संरक्षण कार्य थप चुनौतीपूर्ण तथा जटिल बन्दै गइरहेको छ । जीर्ण बन्दै गएका बर्सौं पुराना मचान (सुरक्षा निगरानी गर्ने काठका टावर) ले उल्टै सुरक्षा चुनौती बढाएका छन् । सञ्चार र विद्युत् अभावका कारण गस्ती गरेका सुरक्षाकर्मी नै वन्यजन्तु तथा तस्करको आक्रमणको निशानामा पर्ने खतरा बढी छ । गस्तीमा बर्सौं पुरान सवारीसाधनको विकल्प हट्न सकेको छैन । आवश्यक स्रोतसाधन अभावका कारण गैँडा, बाघलगायतका दुर्लभ वन्यजन्तुको गणनै रोकिएको छ । 

बाघले पर्यावरण सन्तुलन गर्छ 

डा. गणेश पन्त 

संरक्षणविज्ञ, चितवन राष्ट्रिय निकुञ्ज 

जङ्गलको पर्यावरण सन्तुलनको आधारै बाघको उपस्थितिमा आधारित हुने गर्छ । बाघका लागि औसत हप्तामा एक सिकार अनिवार्य हुन्छ । मृग, जरायो, हरिण, घोरल, बँदेल र निलगाई बाघका मुख्य आहारा हुन् । यी जनावरका लागि पानीको प्रशस्त स्रोत, घना जङ्गल, खुला घाँसेमैदान आवश्यक हुने भएकाले बाघ रहेको जङ्गल पर्यावरणीय सन्तुलित मानिन्छ । चोरीसिकारको पूर्ण नियन्त्रणपछि निकुञ्ज क्षेत्रमा बाघ, गैँडा, हात्तीलगायत जनावरको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ । २०३० सालमा स्थापना भएको चितवन राष्ट्रिय निकुञ्ज ९५२.६३ वर्गकिमिमा फैलिएको छ । २०५३ सालमा थप ७२९ वर्गकिमि मध्यवर्ती क्षेत्र विस्तार भएपछि वन्यजन्तु अवलोकनालका लागि आकर्षक गन्तव्य बनेको छ । 

चोरीसिकार नियन्त्रण छ 

प्रकाश ढुङ्गाना 

अध्यक्ष, चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति

नेपाली सेनाको कुशल सुरक्षा व्यवस्थापनका कारण वन्यजन्तुको चोरीसिकार पूर्ण नियन्त्रण अर्थात् जिरो पोचिङमा पुगेको छ । मध्यवर्ती क्षेत्रका बासिन्दाको जीवनस्तर उकास्ने गरी गरिएका विभिन्न प्रयास, प्रभावकारी जनचेतनासँगै बलियो सुरक्षा व्यवस्थापनका कारण चोरीसिकार नियन्त्रण हुँदा वन्यजन्तुको सङ्ख्या उल्लेख्य वृद्धि भई निकुञ्ज पर्यटकको आकर्षणको केन्द्र बन्न सफल भएको छ ।निकुञ्जको सुरक्षालाई दीर्घकालीन बनाउने गरी राज्यले समयमै ध्यान दिन सके दक्षिण एसियामै नेपाललाई इको टुरिजमको हब बनाउन सकिने सम्भावना प्रशस्त रहेको छ । 


चितवनका वन्यजन्तु तर्संदैनन्

सागर गिरी

वाइल्डलाइफ फोटोग्राफर 

चितवन राष्ट्रिय निकुञ्जकमा पहिले पाटेबाघ, एकसिङे गैँडा मानिस देख्नेबित्तिकै तर्सेर कोसौँ भाग्ने गर्थे तर अहिले मानिसको आवतजावत हुँदा यी जनावर त्यसो गर्दैनन् । बारा, कोशीटप्पु, बाँकेका धेरै जङ्गलमा बाघ, गैँडाको फोटो लिन धेरै कठिन छ । चोरसिकारीको डरले होला मानिस देख्नेबित्तिकै त्यहाँका जनावर धेरै पर भाग्छन् । चितवन राष्ट्रिय निकुञ्जको अवस्था ठिक फरक छ । बाघ, गैँडाको सङ्ख्या उल्लेख्य बढेको छ । वन्यजन्तु संरक्षणमा भएका प्रयासका परिणामस्वरूप बिस्तारै यहाँका जनावर मानिससँग ‘फेमिलियर’ हुँदै गइरहेका छन् । चितवन राष्ट्रिय निकुञ्जको व्यवस्थापन र सुरक्षा समन्वय अत्यन्तै प्रभावकारी देखिन्छ ।


लयमा फर्कंदै पर्यटन

वासुदेव ढुङ्गाना

पर्यटन व्यवसायी, सौराहा 

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षा व्यवस्थापन, समन्वय विश्वका लागि उदाहरणीय रहेको छ । कोभिड–१९ सङ्क्रमणपछि पर्यटन व्यवसाय पुरानै लयमा फर्किने प्रयासमा रहेको छ । सौराहा क्षेत्रमा पर्यटनको उच्च सम्भावना भएका कारण अन्तर्राष्ट्रिय प्रख्यात होटलहरूले सौराहामा शाखा खोल्न इच्छा देखाइरहेका छन् ।

‘चितवन राष्ट्रिय निकुञ्ज संरक्षणमा अपनाइएको संयुक्त अभ्यास विश्वका लागि उदाहरणीय छ । नेपाली सेनाको अथक प्रसायका कारण शून्य चोरीसिकारका अवस्थामा पुगेका कारण दुर्लभ वन्यजन्तुको सङ्ख्या उल्लेख्य वृद्धि हुँदा पर्यटन प्रवर्धनमा टेवा पुगेको छ । 


पारिस्थितिक प्रणालीमा अनुकूल

गौरवकुमार केसी 

प्रवक्ता, नेपाली सेना

नेपाली सेनाले राष्ट्रिय निकुञ्ज र संरक्षित क्षेत्रको सुरक्षा र संरक्षणमा जिम्मेवारी लिएपश्चात् लोपोन्मुख जीव, वनस्पति, वनजङ्गल तथा जङ्गली जनावरको सङ्ख्यामा उल्लेखनीय वृद्धि हुनुका साथै समग्र पारिस्थितिक प्रणालीमा अनुकूल हुँदै गएको छ । सीमित स्रोतसाधन र कठिन भौगोलिक अवस्थाको बाबजुद पनि नेपाली सेनाले संरक्षण कार्यमा उल्लेखनीय जनशक्ति परिचालन गरी नतिजामुखी परिणाम हासिल गर्दै आएको छ ।