• १६ चैत २०८०, शुक्रबार

बुद्धभूमिमा विस्तारित कूटनीति

blog

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भारतीय राजनीतिका पारङ्गत राजनेतासँगै हिन्दु धर्म तथा पूर्वीय अध्यात्मवादतर्फ समर्पित व्यक्तित्वका रूपमा समेत विश्वभर परिचित हुनुहुन्छ । यसै कडीका रूपमा २५६६औंँ बुद्धजयन्ती नेपालका लागि विशेष अवसरका रूपमा देखियो । यो अनुपम अवसरमा मोदी शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि लुम्बिनीमा सोमबार आयोजित मूल समारोहमा सहभागी  हुनुभयो ।

यसअघि उहाँले सनातन धर्मका आस्थाका केन्द्र पशुपतिनाथ, मुक्तिनाथ तथा जनकपुरधामसमेत दर्शन गरेर भक्तिभाव प्रकट गरिसक्नुभएको छ । लुम्बिनी भ्रमणका क्रममा उहाँले प्रधानमन्त्री शेरबहादुर देउवासँगै धार्मिक समारोहमा सरिक भएर भगवान् बुद्धको पूजाअर्चना गर्नुभयो । सँगसँगै त्यहाँ आयोजित विशिष्ट कार्यक्रममा सहभागिता जनाएर यो बुद्ध पूर्णिमा र पूण्य भूमि लुम्बिनीलाई विश्वभर चिनाउन ठूलो भूमिका निर्वाह गर्नुभयो ।

विश्वभर कूटनीतिका अनेक आयाम हुन्छन् । बेलाबेलामा विभिन्न आयामिक कूटनीतिको प्रयोग भइरहेको हुन्छ र तिनीहरूको राम्रै चर्चासमेत भइरहेको हुन्छ । यसै सन्दर्भमा सोमबार भएको भारतीय प्रधानमन्त्री मोदीको आठघण्टे बुद्धभूमि यात्रालाई धार्मिक कूटनीतिको उच्चतम प्रयोगका रूपमा बुझ्नु आवश्यक हुन्छ । विभिन्न नामले पुकारिए पनि यस्ता भ्रमण तथा कूटनीतिको मुख्य उद्देश्य दुई देशबीचको सम्बन्ध अझ प्रगाढ एवं सुमधुर बनाउने अभिप्रायले नै प्राथमिकता पाएको हुन्छ ।

मोदीको यो पछिल्लो कूटनीतिको मुख्य उद्देश्य नेपाल र भारतबीचको ऐतिहासिक तथा परम्परागत सम्बन्धलाई अझै प्रगाढ बनाउने नै हो । नेपाल सरकारले यसको उच्चतम प्रयोग गरेको छ । नेपाल भ्रमणको पूर्वसन्ध्यामा भारतद्वारा सार्वजनिक विज्ञप्तिले समेत यही तथ्यलाई स्पष्ट पारेको महसुस गर्न सकिन्छ । लुम्बिनीकै एक कार्यक्रमलाई सम्बोधनका क्रममा भारतका प्रधानमन्त्री मोदीले नेपाल आउँदा बेग्लै किसिमको धार्मिक तथा सांस्कृतिक अनुभूति प्राप्त हुने अभिव्यक्ति दिई नेपाललाई देवभूमिका रूपमा पनि चित्रित गर्नु नेपालको गौरव बढाउनु हो ।

मोदीको सम्पन्न भ्रमण अवधिका आधारमा छोटो भए पनि दीर्घकालीन रूपमा उल्लेख्य मान्न सकिने प्रशस्त आधारहरू निर्माण भएका छन् । प्रधानमन्त्री देउवा र उहाँका भारतीय समकक्षी प्रधानमन्त्रीबीच भेटवार्ताले कूटनीतिक उपलब्धिका नयाँ आयाम खोलेको छ । यति छोटो अवसरमा प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनु त झनै सकारात्मक पक्ष हो । यसबाट सम्बन्ध अझ घनिष्ठ भएसँगै विगतका विभिन्न योजना परियोजना कार्यान्वयनका दिशामा सकारात्मक छलफलको अवसरसमेत उपलब्ध भएको मान्न सकिन्छ ।

यसका साथै शैक्षिक, सांस्कृतिक तथा प्राविधिक विषयमा सहकार्य गर्ने उद्देश्यले नेपाली तथा भारतीय विभिन्न शैक्षिक संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर हुनु अर्को महत्त्वपूर्ण पक्ष हो । यसबाहेक मन्दिर तथा इन्डिया इन्टरनेसनल सेन्टर फर बुद्धिस्ट कल्चर एन्ड हेरिटेज नेपालको शिलान्यासले पनि बुद्ध दर्शन तथा ज्ञानका क्षेत्रमा महत्त्वपूर्ण योगदानको वातावरण निर्माण हुनेमा विश्वस्त हुन सकिन्छ । बुद्धजयन्तीका अवसरमा प्रधानमन्त्री मोदीको यस भ्रमणले लुम्बिनीको पर्यटकीय बजार विश्वस्तरमा विस्तार तथा प्रवद्र्धनमा समेत सघाउ पु-याउनेछ । 

संयोग नै मान्नुपर्छ– बुद्धजयन्ती, नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन तथा भारतीय प्रधानमन्त्रीको भ्रमण निकै सकारात्मक संयोगका रूपमा एकसाथ भएको छ । भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा नेपालको सङ्खुवासभा जिल्लास्थित अरुण नदीमा निर्माण गरिने अर्धजलाशययुक्त जलविद्युत् आयोजना संयुक्त रूपमा निर्माण गर्न नेपाल विद्युत् प्राधिकरण तथा भारतीय सतलज जलविद्युत् निगमबीच समझदारीपत्रमा हस्ताक्षर हुनु उर्जा क्षेत्रको थप उपलब्धि हो । यसबाट अरुण ४ को निर्माण सुनिश्चिततामा बल पुगेको छ । 

 प्रधानमन्त्री देउवाको चैत महिनामा सम्पन्न भारत भ्रमणका क्रममा दुई मुलुकबीच विद्युत् उत्पादनमा सहकार्य गर्ने प्रतिबद्धताबमोजिम अरुण ४ को निर्माण अगाडि बढाउन थालिएको हो । वार्षिक दुई अर्ब १४ करोड युनिट उत्पादन हुने यो विद्युत् आयोजना निर्माणमा ७९ अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ । यस आयोजनाको निर्माणपछि दुवै मुलुकको ऊर्जा सङ्कट समाधान गर्न केही सहयोग पुग्नेछ ।

शान्तिका अग्रदूत भगवान् बुद्धको जयन्तीमा लुम्बिनीमा पूजाअर्चना गर्न पाउनु आफैँमा सुखद तथा महत्त्वपूर्ण धार्मिक कार्य हो । यो पुण्य अवसर दुवै देशका प्रधानमन्त्रीले एकसाथ प्राप्त गर्नुभएको छ । शान्ति, सत्य, वन्धुत्व, अहिंसा जस्ता भगवान् बुद्धका उपदेशहरूको पालना सबैको हितमा छ । मानवताको हितमा छ । अन्तर्राष्ट्रिय रूपमा अशान्ति बढिरहेको समकालीन विश्वमा बुद्धउपदेशको मर्मको विशिष्ट महत्त्व छ ।