• १ भदौ २०८१, शनिबार

सोलुको थामे गाउँमा प्राकृतिक विपत्ति, भेलबाढी पस्दा सिङ्गो गाउँमा क्षति

blog

सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामे गाउँमा बाढीले क्षति गरेपछि पशुचौपाया उद्धार गर्दै सुरक्षाकर्मी । तस्बिर सौजन्य : सन्तोष राउत

काठमाडौँ, भदौ १ गते । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामे गाउँमा भेलबाढी पस्दा सिङ्गो गाउँमा क्षति पुगेको छ । बाढीले कैयौँ घर, होटल र विद्यालयसमेत बगाएको छ । गाउँमा बाढीले १६ घर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले जानकारी दिनुभयो । 

उहाँका अनुसार अरू सात वटा घर बाढीको उच्च जोखिममा परेका छन् । सात वटामध्ये पाँच वटा होटल बगाएको छ । ताल फुटेर बाढी गाउँ पसेको अनुमान गरिएको उहाँले बताउनुभयो । खुट्याउन माथिल्लो क्षेत्रमा जाने प्रयास गरे पनि प्रतिकूल मौसमका कारण जान नसकेको जानकारी उहाँले दिनुभयो । पाण्डेले भन्नुभयो, “सोलु सदरमुकामबाट हिँडेर जाँदा चार/पाँच दिन लाग्छ, मोटर बाटो छैन, यहाँ हेलिकोप्टर पनि जान सकेन, स्थानीयको ज्यान जोगाउन यहीँबाट प्रयास गरिरहेका छौँ ।”

वडाध्यक्ष पासाङ ग्याल्जेन शेर्पाका अनुसार थामे गाउँमा ४५ घरधुरी थिए । उहाँका अनुसार बचेका घरहरूसमेत बाढीका बिचमा रहेकाले स्थानीय घर फर्कन सकेका छैनन् । उद्धार गर्न प्रहरी टोली पुगेको छ तर राहतको टोली नपुग्दा गाउँलेहरू राति पनि खुला ठाउँमा बस्न बाध्य छन् । 

बाढीले स्थानीय विद्युत्गृहमा क्षति पु¥याएकाले गाउँमा बिजुली छैन । खानेपानीको मुहान र पाइपमा पनि क्षति पुगेकाले अप्ठ्यारो परेको छ । त्यस्तै सञ्चार सम्बन्ध पनि अपराह्नपछि अवरुद्ध बनेको छ । 

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले काठमाडौँबाट राहत तथा उद्धार लैजान नसकिएको बताउनुभयो । नेपाली सेनाको हेलिकोप्टरमा त्रिपाल, टेन्ट तथा खानेकुरासहितका राहतका सामग्री लैजान तयार पारिएको थियो । सोही हेलिकोप्टरले पहिरो गएको स्थान पत्ता लगाउन जाने तय भएको थियो । पोखरेलले भन्नुभयो, “शनिबार सखारै त्यता लाग्ने गरी अर्को तयारी गरेका छौँ ।”

केही झिक्न भ्याएनौँ 

थामे गाउँका बासिन्दा शुक्रबार अरू दिन झैँ आफ्नो दैनिकीमा व्यस्त थिए । बिहान खाना खाएपछि बालबच्चा विद्यालय गए । खेती किसानी गर्नेहरू खेतबारी र चरन क्षेत्रमा गाईवस्तु चराउन व्यस्त थिए । 

शुक्रबार आधा दिनको छुट्टी भएकाले स्कुले केटाकेटी थामे निम्नमाध्यमिक विद्यालयबाट घर फर्के । कोही खाजा खान थाले । कोही खेल्न थाले । त्यहीबेला मध्य दिनमा अचानक गाउँमा ठुलो भेलपहिरोसहितको बाढी गाउँ पस्यो । स्थानीय पासाङसोनाम शेर्पाले भन्नुभयो, “गड्याङगुडुङ गर्दै ठुला ठुला ढुङ्गा र माटोसहित थामेखोला हुँदै आएको बाढी गाउँ पस्यो, अनि हामी सबै भागाभाग गर्दै डाँडातिर उक्लियौँ ।” 

बाढी पसेपछि थामे गाउँ पहिले जस्तो रहेन । उहाँका अनुसार आकाशका बादलले छोपेर कालो थियो । दुई दिनअघिदेखि वर्षा होला जस्तो गरेर बादल गर्जे पनि शुक्रबारसम्म ठुलो वर्षा भएको छैन । हल्का सिमसिम पानी भने परेको शेर्पाले बताउनुभयो । 

शेर्पाले थप्नुभयो, “धन्न आज शुक्रबार भएकाले १२ बजे नै विद्यालयले विद्यार्थी घर पठाएका थिए, नत्र हाम्रा बालबच्चा बाँच्ने थिएनन् ।” छात्रावासमा बसेर पढ्नेहरू पनि शुक्रबार र शनिबारको छुट्टी घरमै मनाउने गरी फर्केकाले बाढीबाट बाँचेको उहाँले जानकारी दिनुभयो । खाना खाएर थामेडाँडामाथि गफिँदै गर्दा थामेखोलामा भेलबाढी आएको देखेपछि हारगुहार गर्दै गाउँले सबै डाँडामाथि उक्लेका थिए । एक जना करिब ५० वर्षका स्थानीय निमानुरु शेर्पा गाउँमै अड्केका छन् । उहाँले शेर्पाले कानसमेत नसुन्ने भएकाले बोलाउँदा आउन नसकेको स्थानीयले बताउनुभयो । 

बाढीले गाउँलेको घरभित्रका जायजेथा, पशुधन, खेतिपाती सबै बगाएको उहाँले बताउनुभयो । शेर्पाले भन्नुभयो, “केही निकाल्नै भ्याएनौँ, यत्रो बाढी आउला भन्ने के थाहा, कत्तिको त खानेकुरा पनि छैन अब ।”

चोमुचे हिमताल फुटेको आशङ्का

गाउँमाथिको हिमताल फुटेर त्यसरी अचानक भेलबाढी आएको अनुमान गरिएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाका प्रवक्ता लाक्पाछिरी शेर्पाले थामेखोलाको शिरमा रहेका हिमताल फुटेर बाढी आएको हुन सक्ने बताउनुभयो । माथिल्लो भेगमा फोन सम्पर्र्क हुन सकेको छैन । त्यसैले कुन ताल फुटेको हो भन्ने यकिन छैन । स्थानीय पासाङसोनाम शेर्पाले भने थाने गाउँमाथिको पारे चोमुचे नामको हिमताल फुटेको दाबी गर्नुभयो । गाउँबाट मानिस त्यो पोखरी छेउमा रहेको मन्दिरमा पूजाअर्चनाका लागि जाने गरेका छन् । वर्षा लागेपछि देवीदेउता भाकेर अनिष्ट नहोस् भनी झन् बढी पूजा गर्न जान थालेका थिए । तीन दिनअघिदेखि त्यो कुनामा पानी चाहिँ नपर्ने तर कालोमुस्लोसहितको बादल मडारिने, बादल गर्जने क्रम चलेकाले पनि स्थानीय त्यहाँ पुगेर देउता भाकिरहेका छन् । उहाँले भन्नुभयो, “कि त त्यही पोखरी फुटेको हुनु पर्छ, नत्र त्योभन्दा माथिको ताल फुटेर चोमुचेमा मिसिएर यता आएको हुनु पर्छ ।” बाढीको बहाव बेलुका हल्का कम भएको थियो । 

थामेखोलाको ठुलो बाढी दुधकोशीमा मिसिएसँगै तल्लोतटीय क्षेत्रमा जोखिम बढेको छ । जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले तटीय क्षेत्रका नागरिकलाई सुरक्षित जान अपिल जारी गरेको छ । दुधकोशी नदीको बहाव उच्च हुँदा सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाको तल्लोतटीय गाउँहरू उच्च जोखिममा छन् । त्यस्तै पारिपट्टि खोटाङ क्षेत्रका नागरिकमा त्रास बढेकाले सतर्क रहन भनिएको छ । 

वडाध्यक्षसहित पदाधिकारी सबै गाउँबाहिर

थामे गाउँका बासिन्दा बाढीको विपत्मा परेर खुला ठाउँमा रात बिताउन बाध्य छन् तर गाउँको जनप्रतिनिधिसहितका पदाधिकारी भने कोही काठमाडौँ र कोही अन्य क्षेत्रमा रहेका छन् । जनप्रतिनिधिविहीन भएकाले राहत र उद्धारको व्यवस्था राम्रो हुन सकेको छैन । 

वडाध्यक्ष पासाङ ग्याल्जेन शेर्पा, सदस्यहरू फूलमाया कामी र आङमाया शेर्पा काठमाडौँमा छन् । अर्की सदस्य ङवाङ जाङ्मु शेर्पा सोलुखुम्बुको नाम्चे बजारमा हुनुहुन्छ । त्यस्तै अन्य सदस्य पनि गाउँमा नरहेको स्थानीयले बताए । गाउँमा विपत् आएपछि काठमाडौँबाट गाउँ फर्कन तयार भए पनि खराब मौसमका कारण जहाज नगएपछि वडाध्यक्षसहितका पदाधिकारी यतै अड्किएका छन् । घर फर्किन त्रिभुवन विमानस्थलमा धेरैबेर बसेर डेरा फर्किएको वडाध्यक्ष ग्याल्जेन शेर्पाले बताउनुभयो । 

नाम्चेमा रहनुभएकी जाङ्मुले भन्नुभयो, “गाउँमा बत्ती छैन, टेलिफोन पनि चलेको छैन, गाडी जाने बाटो पनि भत्केको छ, म यतै अलपत्र छु ।” बाढीले ओर्लाङघाटको मोटरेबल पुलमा क्षति पु¥याएपछि आवागमन ठप्प हुँदा खुम्बुको यातायात सम्पर्कविच्छेद भएको छ ।