• २१ कात्तिक २०८२, शुक्रबार

एक हजार सात सय मतदाता थप

blog

बेलौरी समाचारदाता

कञ्चनपुर, कात्तिक २१ गते । आगामी फागुन २१ का लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि कञ्चनपुरमा नयाँ मतदाता नामावली तथा अद्यावधिक कार्यमा युवाको उत्साहजनक सहभागिता देखिएको छ । 

जारी रहेको मतदाता नामावली सङ्कलन अभियानमा हालसम्म एक हजार सात सयभन्दा बढी नागरिकले आफ्नो नाम दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका अनुसार असोज १० देखि कात्तिक २० सम्म जम्मा एक हजार ७६५ जनाको नामावली दर्ता भइसकेको छ ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भानबहादुर महराका अनुसार कात्तिक पहिलो सातापछि मतदाता नामावली दर्ता गर्नेको उत्साहजनक सहभागिता देखिँदै आएको छ । यसअघि भने दसैँतिहार, छठ पर्व जस्ता चाडबाडका कारण केही समय काम प्रभावित बने पनि हाल भने दैनिक रूपमा ८० जनादेखि १२० जनासम्म नयाँ नाम दर्ताको काम भइरहेको सूचना अधिकारी महराले बताउनुभयो । उहाँका अनुसार हाल प्रायः तीव्र गतिमा काम अगाडि बढिरहेको छ । हालै सरकारले ल्याएको अध्यादेश अनुसार ‘जेनजी पुस्ता’ का युवा मतदाताले पनि आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मतदान गर्न पाउने भएपछि नाम दर्ता गर्न आउने युवाको सङ्ख्या उल्लेख्य रूपमा बढेको सो कार्यालयले जनाएको छ । कार्यालयका अनुसार ७० प्रतिशत युवाको सहभागिता देखिएको छ भने अन्य उमेर समूहका व्यक्ति निकै कम आइरहेको कार्यालयका सूचना अधिकारी महराले बताउनुभयो । 

निर्वाचन आयोगले यस पटक देशभरका नागरिकलाई जुनसुकै जिल्लाको निर्वाचन कार्यालयमा गएर मतदाता नामावली दर्ता वा अद्यावधिक गर्न सक्ने व्यवस्था गरेको छ । कञ्चनपुरबाट हालसम्म अन्य जिल्लाका १०३ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको सो कार्यालयले जनाएको छ । मतदानका लागि उमेर १८ वर्ष पूरा हुनुपर्ने छ । नामावली दर्ता तथा अद्यावधिक प्रक्रिया कात्तिक ३० सम्म जारी रहने छ ।