• २१ कात्तिक २०८२, शुक्रबार

गुल्मीमा १५ हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

blog

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउँदै महिला स्वास्थ्य स्वयं सेविका । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा (गुल्मी), कात्तिक २१ गते ।
गुल्मीका १५ हजारभन्दा बढी बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै छ । सरकारले राष्ट्रिय पोषण कार्यक्रमअन्तर्गत देशभर बिहीबार र शुक्रबार दुई दिनसम्म बालबालिकाका लागि भिटामिन ‘ए’सँगै जुकाको औषधी खुवाउने अभियान सुरु गरेको छ ।

दुई दिनसम्म सञ्चालन हुने यस कार्यक्रममा छ महिनादेखि पाँच वर्ष उमेरसम्म बालबालिकालाई भिटामिन ‘ए’ र एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधी खुवाइने स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य निरीक्षक ताराबहादुर कार्कीले बताउनुभयो । जिल्लाका १२ स्थानीय तहमा रहेका १५ हजार ४३ बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने लक्ष्य राखिएको छ ।

स्वास्थ्य कार्यालय गुल्मीको तथ्याङ्कअनुसार रेसुङ्गा नगरपालिकाका एक हजार ८२७ बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने लक्ष्य राखिएको छ । मुसिकोट नगरपालिकाका एक हजार ८७७ बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने बताइएको छ । कालीगण्डकी गाउँपालिकाका ९०२, मालिकामा एक हजार ३१९, मदानेमा एक हजार ३२४, छत्रकोटमा एक हजार १४०, गुल्मीदरबारमा एक हजार १३४, सत्यवतीमा एक हजार १५९, इस्मामा एक हजार १७०, धुर्कोटमा एक हजार १३४, चन्द्रकोटमा एक हजार १३० र रुरुक्षेत्र गाउँपालिकाका ९२७ बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालय गुल्मीका जनस्वाथ्य निरीक्षक कार्कीले जानकारी दिनुभयो ।

जिल्लाका ९३ वटै वडामा कार्यरत ९९७ जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूले तोकिएका विभिन्न स्थनबाट भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउने योजना बनाइएको छ । छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषण जोखिम न्युनीकरण गर्न सरकारले २०५० सालदेखि भिटामिन ‘ए’ कार्यक्रम सञ्चालनसँगै २०५६ देखि जुकाको औषधी खुवाउन थालेको हो । सरकारले प्रत्येक आर्थिक वर्षको कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधी बालबालिकालाई निःशुल्क खुवाउने गरेको छ । अहिले कात्तिक पहिलो साता तिहार भएकाले पछि सरेको थियो ।