• १९ असोज २०८२, आइतबार

देशभर फैलिँदै वर्षा प्रणाली

blog

काठमाडौँ, असोज १९ गते । मुलुकको मधेश, बागमती, गण्डकी प्रदेशमा जारी अविरल वर्षा आइतबारसम्ममा देशैभर फैलिने भएपछि उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अपिल गरेको छ । शुक्रबार रातिदेखि सुरु भएको वर्षा शनिबार दिनभर कायम रह्यो । मधेश र बागमती प्रदेशका कतिपय स्थानमा भारी वर्षा रेकर्ड भएको विभागको मौसम पूर्वानुमान महाशाखा र जलवायु विश्लेषण शाखाले जनाएको छ । 

शनिबार रातिदेखि आइतबार बिहानसम्म अत्यधिक वर्षाको क्रम जारी रहने भएकाले नेपाल सरकार, आमनागरिक तथा सरोकारवाला सबै निकायलाई उच्च सतर्कतामा रहन पनि विभागले अपिल गरेको छ ।

विभागका महानिर्देशक कमलराम जोशीका अनुसार बङ्गालको खाडीमा उत्पन्न तीव्रगतिको मनसुनी न्यूनचापीय प्रणाली नेपालको मध्यभागबाट देशभर फैलिएको छ । उहाँका अनुसार अझ अर्को प्रणाली पछि पछि आउँदै रातमा भारी वर्षाको मात्रा बढाउने सम्भावना उच्च छ । उहाँले भन्नुभयो, “विशेष गरी शनिबार राति १० बजेदेखि बिहान २ बजेसम्म अति भारी वर्षाको सम्भावना छ, त्यसैले सबै सचेत रहेर जिउधनको सुरक्षामा लागौँ ।”

उहाँका अनुसार बागमती प्रदेश, मधेश प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो भूभागमा थप अधिक वर्षा हुने सम्भावना उच्च छ । ती क्षेत्रका नदी तथा ठाडो खोला तटीय क्षेत्रसँगै सहरी भेगका बासिन्दा डुबानको उच्च जोखिममा रहेकाले पहिले नै सुरक्षित उपाय अपनाउनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।

यी क्षेत्रका धेरै जिल्लामा विपत् उद्धारको पूर्वतयारीसँगै उद्धारमा खटिनुपर्ने अवस्था छ । विभागले असोज १५ गते नै वक्तव्यमार्फत टीकाको भोलिपल्टदेखि नै नेपालमा मनसुन सक्रिय हुने सूचना जारी गर्दै आवतजावत नगर्न सुझाएको थियो । वर्षा गराउने प्रणाली पूर्व उत्तरबाट पूर्व दिशातर्फ सर्ने क्रम जारी छ । नेपाल भित्रिएको अहिलेको सक्रिय प्रणाली आइतबार दिउँसोपछि बिस्तारै मत्थर हुँदै जाने अनुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार विगत २४ घण्टामा मधेशका १२ स्थानमा अधिक भारीदेखि भारी वर्षा रेकर्ड भएको छ । जस अनुसार रौतहटको महेशपुरमा सबैभन्दा बढी ३४८ मिलिमिटर अति भारी वर्षा भएको छ । रौतहटकै गौरमा ३२७ र गरुडामा २७६ मिलिमिटरसम्मको भारी वर्षा रेकर्ड भएको छ । पर्साको वीरगन्जमा २८५ र पोखरियामा २३३ बाराको कलैयामा २५५, परवानीपुरमा २०६, निजगढमा १९१, जितपुरमा १८६ मिलिमिटरसम्मको भारी वर्षा रेकर्ड भएको छ । यो रेकर्ड रातभरमा अझ बढ्ने जनाइएको छ ।

आइतबार दिउँसोसम्म कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराईका केही स्थानसँगै लुम्बिनी प्रदेशका तराई भेगका केही स्थानमा भारी वर्षाको सम्भावना कायमै रहेको महाशाखाले औँल्याएको छ । कोशी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेशका केही स्थानमा अति भारी र केहीमा भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन भनिएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । लगातारको वर्षाले माटो जमिन गलिसकेको हुनाले सानो पानीले पनि पहिरो जाने, ठाडो खोलामा भेलबाढी आउने, ठुला नदीको जल सतह बढ्ने भएकाले रातमा विशेष सचेतना अपनाउन भनिएको छ ।