• २१ कात्तिक २०८२, शुक्रबार

महाकालीमा भारतीय गतिविधि रोक्न ज्ञापनपत्र

blog

प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै दार्चुलाका राजनीतिक दलका नेता । तस्बिर : कृष्णबहादुर धामी

खलङ्गा समाचारदाता  

खलङ्गा (दार्चुला), कात्तिक २१ गते । छिमेकी मुलुक भारतले सीमानदी महाकाली किनारमा आफूखुसी संरचना निर्माण गर्दै नदीको बहाब नेपालतिर फर्काएको भन्दै दार्चुलाका राजनीतिक दल र नागरिक समाजले मङ्गलबार ज्ञापनपत्र बुझाउँदै प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण गराएका छन् । 

यहाँका राजनीतिक दल नेपाली कांग्रेस, तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष र नागरिक समाजका अध्यक्षले दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलसमक्ष ज्ञापनपत्र बुझाएर प्रधानमन्त्रीको ध्यानाकर्षण गराई उक्त कार्य तत्काल रोक्न माग गर्नुभएको हो । 

हालै भारतले सीमाक्षेत्र नेपालको व्यास गाउँपालिकामा पर्ने घाँटीबगर, तम्बाकु क्षेत्रमा सडक निर्माण गर्दा विस्फोट गराएको तथा अत्यधिक मात्रामा ढुङ्गामाटो महाकाली नदीमा खसेर नदीको बहाब नेपालतर्फ फर्किएको ज्ञापनपत्रमा उल्लेख छ । नदीको बहाब नेपालतर्फ सोझिँदा सदरमुकाम खलङ्गाबाट व्यास जोड्ने घोरेटोबाटो भत्किने गरेको ज्ञापनमार्फत प्रधानमन्त्रीलाई जानकारी गराइएको छ । 

यस्तै सदरमुकाम खलङ्गामा रहेको महाकाली नगरपालिका–१ को श्रीबगडदेखि वडा नम्बर ५ को नमस्कारसम्मको सीमा क्षेत्रमा समेत भारतले एकतर्फी रूपमा तटबन्ध निर्माण गर्र्दै गइरहेको र नदीको बहाब नेपालतर्फ फर्काएको दलका नेता तथा नागरिक समाजका अगुवाले ज्ञापनमार्फत ध्यानाकर्षण गराएका हुन् । 

भारतले सीमानदीको बहाब नेपालतिर फर्काउँदा नेपालतर्फको नदीको किनारको तटबन्धमा जोखिम भई नेपाली भूमि तथा बस्ती क्षेत्रमा क्षति हुने भन्दै तटबन्ध निर्माण कार्य दुई देशको प्राकृतिक सीमाङ्कन स्पष्ट भएर सहमति नभएसम्मका लागि रोक्न आवश्यक कूटनीतिक पहल गर्न माग गरिएको छ । ज्ञापनमा नेपाली कांग्रेसका जिल्ला सभापति ललितसिंह बोहोरा, तत्कालीन नेकपा (माओवादी केन्द्र) का प्रतिनिधि खडकसिंह धामी, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति राजेशसिंह सामन्त, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष प्रकाश दयाली र नागरिक समाजका जिल्ला संयोजक महेशराज भट्टले हस्ताक्षर गर्नुभएको छ । भारतले यसअघि गत वैशाखमा दार्चुलाको सदरमुकामस्थित गल्फैपारि र खुल्लामञ्चपट्टिको क्षेत्रमा अन्तर्राष्ट्रिय सीमारेखा मिचेर तटबन्ध निर्माण गरेको थियो भने अहिले पनि निर्माण कार्य चलिरहेको छ ।  

दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले दुई देशको सीमा क्षेत्रमा भारतले बनाइरहेको संरचनाको निर्माण कार्य रोक्न तथा कूटनीतिक पहलमार्फत सीमा समस्या समाधान गर्न भारतको धारचुलास्थित एसडिएमको कार्यालयलाई पत्राचार गरेको बताउनुभयो । साथै उहाँले जिल्लाको सीमा क्षेत्रमा भइरहेको भारतीय गतिविधि र समस्या समाधानका लागि गृह मन्त्रालयलाई समेत पत्राचार गरिएको उहाँको भनाइ छ ।