नवीन सुवेदी
सुर्खेत, कात्तिक २१ गते । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ । लागुऔषध कारोबार मुद्दामा थुनामा रहेका वीरेन्द्रनगर नगरपालिका–११, पिपिराका ३५ वर्षीय गंगे सुनारको शुक्रबार बिहान मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी मोहनजंग बुढाथोकीका अनुसार सुनारको आज बिहान बेहोस अवस्थामा फेला परेपछि उपचारका लागि तत्काल कर्णाली प्रदेश अस्पताल पुर्याइएको थियो । चिकित्सकले सुनारलाई उपचारकै क्रममा मृत घोषणा गरेका हुन् ।
‘‘सुनारसँगै सुतेका अन्य थुनुवाले बिहान उठाउन खोज्दा नउठेपछि प्रहरीलाई खबर गरेका थिए,’’ डीएसपी बुढाथोकीले भन्नुभयो, ‘‘त्यसपछि सुनारलाई तुरुन्त अस्पताल पुर्याइयो, तर चिकित्सकले मृत घोषणा गर्नुभयो ।’’
प्रहरीका अनुसार मृतक सुनार ७८ दिनदेखि हिरासतमा थिए । चार दिनअघि सुनारको मुद्दा सरकारी वकिल कार्यालयमा पुगेको र शुक्रबार नै अदालतमा पेशी तय गरिएको थियो ।
डीएसपी बुढाथोकीका अनुसार घटनापछि हिरासतको सीसीटीभी फुटेज पनि परीक्षण गरिएको छ । फुटेजमा सुनार सुत्नुअघि बाथरुममा गई टाउको नुहाएर फर्किएको र सुत्दा घुर्ने भएकाले साथीहरूले नघुर्न भनेर उठाएको दृश्य देखिएको बताइएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ ।