• २ साउन २०८१, बुधबार

प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त ओलीद्वारा दाबी पेस

blog

काठमाडौँ, असार २९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पदमुक्त हुनुभएको छ । कार्यकारी नेतृत्व सम्हालेको १८ महिनापछि प्रतिनिधि सभामा पाँचौँ पटक विश्वासको मत लिने क्रममा बहुमत सिद्ध गर्न नसकेपछि प्रधानमन्त्री प्रचण्ड स्वतः पदमुक्त हुनुभएको हो । 

पाँचौँ पटक विश्वासको मत लिने क्रममा प्रधानमन्त्रीको प्रस्तावमा ६३ मत मात्र प-यो । प्रधानमन्त्रीको विपक्षमा दुई तिहाइ मत परेको छ । एक सदस्य तटस्थ बस्दा प्रधानमन्त्री प्रचण्डको विपक्षमा १९४ मत खस्यो । मतदानमा २५८ सांसद सहभागी थिए । प्रतिनिधि सभाले प्रधानमन्त्रीले  विश्वासको मत नपाएको जानकारी राष्ट्रपति कार्यालयमा शुव्रmबार नै पठाएको छ । 

प्रधानमन्त्रीले नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) को मात्र मत पाउनुभयो । प्रचण्ड पदमुक्त भएसँगै नेकपा (माओवादी केन्द्र) नौ वर्षपछि प्रमुख प्रतिपक्ष दलको हैसियतमा पुगेको छ । २०७२ असोज २५ मा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सामेल भएयता माओवादी केन्द्र सत्ताको नेतृत्व साझेदारीमा थियो । २०७७ मा भएको प्रतिनिधि सभा विघटनको छोटो अवधिमा भने माओवादी केन्द्र निकटका केही मन्त्रीहरू सरकारबाट फिर्ता भएका थिए तर एकीकृत दल नेकपाले नै सरकारको नेतृत्व गरेको थियो । 

पछिल्लो डेढ वर्षको अवधिमा प्रधानमन्त्री प्रचण्डले एमाले, कांग्रेससँग आलोपालो साझेदारी गरेर सरकारको नेतृत्व गर्नुभएको थियो । पाँच पटकमध्ये तीन पटक प्रचण्डले गठबन्धन हेरफेर गरेकै कारण विश्वासको मत लिनुपरेको थियो । पहिलो पटक प्रचण्डले २०५१ मा एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीपछिकै सदनको ऐतिहासिक समर्थन पाउनुभएको थियो । मतदानमा सहभागीमध्ये ९९ प्रतिशतको समर्थन प्रचण्डले पाउनुभएको थियो । डेढ वर्षको अवधिमा उहाँ एक चौथाइभन्दा कम मतमा खुम्चिनुभएको हो । 

शान्तिपूर्ण राजनीतिमा अवतरण भएसँगै माओवादीले सत्ता यात्रा सुरु गरेको थियो । २०६४ को पहिलो संविधान सभा चुनावपछि माओवादीले सत्ताको नेतृत्व सुरु गरेको थियो । प्रचण्डले नै माओवादीका तर्फबाट पहिलो पटक सरकारको नेतृत्व २०६५ साउन ३१ मा गर्नुभएको थियो । प्रचण्डले साढे नौ महिनामै राजीनामा दिएपछि २० महिना प्रतिपक्षमा बस्नुपरेकोे थियो । २०६७ मा झलनाथ खनाल नेतृत्वको सरकारमा पुनः माओवादी सहभागी भएको थियो । त्यसपछि २०६८ मा माओवादीका तर्फबाट डा. बाबुराम भट्टराईले नै सरकारको नेतृत्व गर्नुभएको थियो । दोस्रो संविधान सभा चुनावका लागि गैरदलीय सरकार गठन भएको थियो । संविधान सभा निर्वाचनमा अनपेक्षित हार बेहोरेपछि माओवादी संविधान जारी नहुँदासम्म प्रतिपक्षमा नै बसेको थियो । २०७२ असोज ३ मा संविधान जारी भएलगत्तै असोज २५ मा बनेको केपी ओली नेतृत्वको सरकारबाट माओवादीले पुनः सत्तामा कमब्याक गरेको थियो । त्यसयता माओवादी निरन्तर सत्तामा छ । 

पाँचौँ पटकमा असफल

सङ्घीय संरचनामा दोस्रो पटक भएको निर्वाचनपछि प्रचण्ड २०७९ पुस ११ गते प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । प्रारम्भमा उहाँ एमालेसँग गठबन्धन गरेर प्रधानमन्त्री हुनुभएको थियो । २०७९ पुस २६ मा प्रतिनिधि सभामा विश्वासको मत लिँदा उहाँले २६८ मत पाउनुभएको थियो । उपस्थितमध्ये दुई सांसदले मात्र विपक्षमा मतदान गरेका थिए । कांंग्रेस, एमालेलगायतका सबै दलले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका थिए । 

प्रधानमन्त्रीले दोस्रो पटक २०७९ चैत ६ मा विश्वासको मत लिनुपरेको थियो । उहाँले दोस्रो पटक १७२ मत पाउनुभएको थियो । एक वर्षको सत्ता सहयात्रापछि काग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्रीले पुनः एमालेसँग सहकार्य गर्नुभएको थियो । तेस्रो पटक २०८० फागुन ३० मा विश्वासको मत लिनुभएको थियो । तेस्रो पटक उहाँले १५७ मत पाउनुभएको थियो । यस्तै सरकारमा सहभागी भएको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएपछि भई एक पक्षले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले २०८१ जेठ ७ गते चौथो पटक विश्वासको मत लिनुभएको थियो । चौथो पटक पनि उहाँले १५७ मत नै पाउनुभएको थियो । पाँचौँ पटक शुक्रबार विश्वासको मत लिने व्रmममा प्रधानमन्त्रीले ६३ मत पाउनुभएको हो ।