• १० चैत २०८२, मङ्गलबार

चैती छठको तेस्रो दिनः आज अस्ताउँदो सूर्यलाई अर्घ अर्पण

blog

विनय कर्ण
कल्याणपुर (सप्तरी), चैत १० गते ।
मिथिलाञ्चलको महान् सांस्कृतिक तथा धार्मिक पर्व छठको तेस्रो दिन मङ्गलबार अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरिँदै छ । चार दिनसम्म मनाइने कठोर व्रतका रूपमा मानिने यस पर्वको तेस्रो दिन ‘सन्ध्या अर्घ’का रूपमा अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरी मनाइन्छ ।

मङ्गलबार बिहानदेखि नै व्रतालुहरू सूर्यदेवलाई सन्ध्या अर्घ अर्पण गर्न दिनभर व्रतको तयारीमा व्यस्त देखिन्छन् भने परिवारका अन्य सदस्यहरू साँझपख अस्ताउँदो सूर्यको पूजा–अर्चनाका लागि छठघाटको तयारीस्वरूप पोखरी, नदी र तलाउको सरसफाइ तथा साजसज्जामा जुटेका छन् ।

असोज–कार्तिक महिनामा मनाइने छठजस्तो चैती छठमा भव्यता र सहभागिता कम देखिए पनि यसको विधि, विधान र महत्व उत्तिकै रहेको मैथिली साहित्य परिषद् सप्तरीका पूर्व अध्यक्ष सतिशकुमार दत्तको भनाइ छ ।

“चैती छठमा असोज–कार्तिकजस्तो मौसम अनुकूल हुँदैन, त्यसैले सहभागिता कम हुन्छ । तर यसको आस्था, मान्यता र पौराणिककालदेखि रहिआएको विश्वासमा कुनै कमी आएको छैन,” दत्तले भन्नुभयो ।

मङ्गलबार साँझपख सप्तरीको राजविराजसहित जिल्लाका विभिन्न स्थानमा सूर्यदेवलाई सन्ध्या अर्घ अर्पण गर्न पोखरी तथा जलाशय सजाउने काम भइरहेको राजविराज नगरपालिका–७ का वडा सदस्य रामानन्द देवले बताउनुभयो । उहाँका अनुसार राजविराजस्थित भगवती मन्दिर पोखरी, कल्टुदास पोखरी, तुरन्ती पोखरीलगायत स्थानमा छठघाट सरसफाइ तथा सजावटका काममा श्रद्धालु जुटेका छन् ।

अस्ताउँदो सूर्यदेवलाई अर्घ अर्पण गर्न महिलाहरू परम्परागत भेषभूषामा सजिएर बाँसको डोकोमा ठेकुवा, भुसुवा, केरा, नरिवल, गेरुवा फलफूललगायत सामग्री बोकेर छठघाटमा जाने परम्परा रहिआएको छ ।

श्रद्धालुहरूले परिवारको सुख, समृद्धि र सन्तानको दीर्घायुका लागि छठ मातासँग प्रार्थना गर्छन् । बुधबार बिहान चौथो तथा अन्तिम दिन ‘उषाकालीन अर्घ’ अर्पण गरेसँगै छठ पर्व सम्पन्न हुनेछ । उदाउँदो सूर्यलाई अर्घ दिएपछि व्रतालुहरूले व्रत तोड्ने चलन छ ।

छठ पर्व मिथिलाञ्चल, मधेश प्रदेश तथा भारतका बिहार र झारखण्ड क्षेत्रमा विशेष श्रद्धा र भक्तिभावका साथ मनाइन्छ । यो पर्व सूर्यदेव र छठ माताको आराधना गरी आत्मशुद्धि, अनुशासन र परिवारको कल्याणका प्रतीकका रूपमा लिइन्छ ।