रामेछाप सदरमुकामको मन्थली मतदान केन्द्रमा बिहान ८ बजेसम्म पनि मतदान सुरु हुन सकेको छैन । निर्वाचन आयोगले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने भने पनि जिल्ला सदरमुकामस्थित जिल्ला समन्वय समितिमा रहेको मतदान स्थलमा ८ बजेसम्म पनि मतदान सुरु नभएको हो ।
राजु लामिछाने रुकुमपश्चिम, मङसिर ४ गते । प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका अर्थमन्त्री जनार्दन शर्माले मुसीकोट नगरपालिका ५ सेरीगाउँस्थित यमुनानन्द नमुना माविमा रहेको 'क' मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । शर्माले मतदान केन्द्रमा पहिलो मत खसाल्नुभएको मतदान अधिकृत जोखबहादुर खड्काले जानकारी दिनुभयो । मतदानपछि शर्माले सबैलाई ढुक्क भएर सही तरिकाले मतदान गर्न आह्वान गर्नुभयो । माओवादी केन्द्रका उपमहासचिवसमेत रहनुभएका अर्थमन्त्री शर्मा वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट साझा उम्मेदवार हुनुहुन्छ ।
निर्वाचन आयोगका निर्वाचन आयुक्त जानकी तुलाधरले लमजुङस्थित सुन्दर बजार नगरपालिका २ महेन्द्र मन्दिर मावि परेवाडाँडा मतदान केन्द्रबाट मतदान गर्नुभएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिका–२ स्थित राजतीर्थ मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उहाँ ललितपुर क्षेत्र नं ३ को उम्मेदवार हुनुहुन्छ । सो अवसरमा उहाँले लोकतन्त्रको अभ्यास गर्ने महत्वपूर्ण नमूनाको रुपमा मतदानलाई लिनुपर्ने टिप्पणी गर्नुभयो ।
सहरी विकास मन्त्री एवं दाङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मेटमणी चौधरीले गढवा गाउँपालिका स्थित जनता माध्यमिक विद्यालयमा रहेको बुथ नम्बर (ग) बाट मताधिकार प्रयोग गर्नुभएको छ ।
सिराज खान नेपालगञ्ज, मङ्सिर ४ गते । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले बाँकेको कोहलपुरमा मतदान गर्नुभएको छ । उहाँले बाँके क्षेत्र नं १ कोहलपुरको पिपिरीस्थित मतदानस्थलबाट पहिलो मतदान गर्नुभएको हो ।मन्त्री अथकसँगै लुम्बिनी प्रदेश सभाका निवर्तमान सदस्य पार्वती पुन उषा र आइपी खरेलले पनि मतदान गर्नुभएको छ । मन्त्री अथक बाँके क्षेत्र नं १ प्रतिनिधि सभाका उम्मेदवार पनि हुनुहुन्छ ।
पुर्व सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले ओखलढुंगाको मानेभञ्ज्याङ – ६ थाक्ले मतदान केन्द्र बाट मताधिकार प्रयोग गर्नुभएको छ ।
सभामुख अग्नि प्रसाद सापकोटाले सिन्धुपाल्चोकको कुबिण्डे सेतीदेवी पञ्चकन्या मावि मतदान केन्द्रबाट पहिलो मतदान गर्नु भएको छ ।
नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंह एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण सङ्गठनहरूको छाता सङ्गठन (ईफाप्का)को अध्यक्षमा चयन हुनुभएको छ। माल्दिभ्सको राजधानी मालेमा शुक्रबार सम्पन्न ईफाप्काको ४५औँ सम्मेलनले अध्यक्षमा सिंहलाई चयन गरेको हो। ईफाप्काको महासचिवमा महासङ्घका सल्लाहकार इन्जिनियर वीरेन्द्रराज पाण्डे र बोर्ड सदस्यमा महासङ्घका केन्द्रीय सदस्य सुशीलकुमार श्रेष्ठ चयन हुनुभएको छ। वणानुक्रमअनुसार (ईफाप्का)का सदस्य राष्ट्रहरूले सङ्गठनको नेतृत्व गर्ने प्रचलनअनुसार माल्दिभ्सपछि नेपालको पालो आएको हो। यसअघि सन् १९९८ मा नेपालका गणेशलाल श्रेष्ठ ईफाप्का अध्यक्ष चयन हुनुभएको थियो।
शालिग्राम नेपाल । चितवन, मङ्सिर ४ गते । नेकपा एमालेका उपाध्यक्ष तथा चितवनको निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार सुरेन्द्र पाण्डेले मतदान गर्नुभएको छ । उहाँले राप्ती नगरपालिकाको भण्डारा अस्पताल केन्द्रमा मतदान गर्नुभएको हो । २०७० र २०७४ सालमा भएको निर्वाचनमा विजयी उपाध्यक्ष पाण्डे अहिले यसै क्षेत्रबाट उम्मेदवार हुनुहुन्छ । १६२ मतदान स्थल रहेको चितवनमा ४६० केन्द्र तोकिएका छन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा एक लाख ३९ हजार ८४५ मतदान रहेका छन् । क्षेत्र नम्बर १ मा एक लाख २४ हजार २१४ र ३ मा एक लाख ४४ हजार २८३ जना रहेका छन् । मतदान स्थलमा बिहानदेखि नै मतदाताको ठुलो उपस्थिति रहेको छ ।
राष्ट्रिय सभाकाअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिका वडा नं. ७ राम्जाको पशुपति मावि (क) केन्द्रबाट मतदान गर्नुभएको छ ।
खेलकुदमा घरेलु मैदानमा खेल्ने आयोजकलाई ठूलो फाइदा पुग्छ। घरेलु समर्थक र मैदानको फाइनलमा साना टिमले पनि ठूला टिमलाई स्तब्ध पारेको कैयौँ इतिहास छ। विश्वकपको कुरा गर्ने हो भने छ पटक आयोजक राष्ट्रले पनि विश्वकप जितेको तथ्य भेट्टाउँछौँ। सन् १९३० मा उरुग्वे, सन् १९६६ मा इङ्गल्यान्ड, सन् १९७४ मा पश्चिम जर्मनी, सन् १९७८ मा अर्जेन्टिना र सन् १९९८ मा फ्रान्स आफ्नै घरेलु भूमिमा खेलेर च्याम्पियन बनेका थिए तर सन् १९९८ पछिको विश्वकपले आयोजकलाई साथ दिएको छैन। अझ यसपालि कतारले विश्वकप जित्ने भ्रममा सायदै कोही होला। कतार पहिलो पटक विश्वकप खेल्दै छ, त्यो पनि आयोजकका रूपमा तर कतार कमजोर छैन। कतार एसियाली च्याम्पियन टिम हो। घरेलु मैदानमा कतारको प्रमुख लक्ष्य नकआउट चरणमा पुग्ने हुनेछ। कतारको अर्को लक्ष्य सफल आयोजना गरेर विश्वको मन जित्नु नै हुनेछ। यसबाहेक एसियाका अन्य राष्ट्र, उत्तर अमेरिकी टिम र अफ्रिकी राष्ट्रको लक्ष्य लामोभन्दा लामो यात्रा तय गर्ने नै हुनेछ।
नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव पछि पनि गठबन्धन कायमै रहने बताउनुभएको छ ।
पूर्वमन्त्री तथा जनता समाजवादी पार्टीका केन्द्रीय नेता मोहम्मद इश्तियाक राईले नेपालगन्ज १५ मा मतदान गर्नुभएको छ ।
नेपाल टेलिकमले आफ्ना एनटीटीभी ग्राहकका लागि फिफा वर्ल्ड कप प्याकेज उपलब्ध गराउने भएको छ। मङ्सिर ४ गतेदेखि कतारमा आयोजना हुने विश्व कप फुटबल–२०२२ हेर्न निर्धारित करसहितको शुल्क ५६५ रुपियाँ ग्राहकले घरमै बसेर खरिद गर्न सकिने टेलिकमले जनाएको छ।