राधा लुइटेल फिदिम, मङ्सिर ४ गते । पाँचथरका एक सय ७७ वटै मतदान केन्द्रमा मतदान भइरहेको छ । जिल्लाका सबै स्थानमा शान्तिपूर्ण मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत टिकेन्द्र दाहालले जानकारी दिनुभयो ।यसैबीच जिल्लाबाट प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार भिष्मराज आङदेम्वेले शान्ति बाल विकास मावि र एमालेका वसन्तकुमार नेम्वाङले फिदिम मावि केन्द्रबाट मतदान गर्नुभएको छ । सुखवोध मावि जोरसालमा भने सुत्लीवम विस्फोट भएपछि केही त्रास फैलिएको थियो । तर अहिले शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।
केशवचन्द्र महरा दिपायल, मङ्सिर ४ गते । डोटीमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । जिल्लाका एक सय ७८ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान प्रक्रिया हुँदै गरेको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले जानकारी दिनुभयो ।“शान्तिपूर्ण र भयरहित वातावरणमा मतदाताले मतदान गरिरहेका छन्," उहाँले भन्नुभयो,"कुनै पनि स्थानमा अप्रिय घटना नहुन सुरक्षा व्यवस्था कडा पारिएको छ । अहिलेसम्म जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सुरु भएको छ ।"मतदान सुरु भएदेखि ३ घण्टाको अवधिमा ३ प्रतिशत जति मात्रै मत खसेको मुख्य निर्वाचन अधिकृत पाण्डेले बताउनुभयो । बिहानको समय भएका कारण मतदाताहरू कमै मात्रामा मतदान केन्द्रमा पुग्नुभएको छ," उहाँले भन्नुभयो,"यहाँका मतदाता ढिलो गरी मतदान गर्न आउनु हुँदो रहेछ । मतदान केन्द्रमा त्यस्तो भीडभाड देखिँदैन । लाइनमा मतदाता काम देखिन्छन्।"जिल्लाका अति संवेदनशील र संवेदनशील मतदान केन्द्रमा विशेष सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताउनुभयो । हालसम्म जिल्लामा शान्तिपूर्ण रूपमा मतदान भइरहेको उहाँले जानकारी दिनुभयो ।डोटीमा मतदानका लागि एक सय १५ वटा मतदान स्थल र एक वटा अस्थायी मतदान केन्द्रसहित एक सय ७८ वटा मतदान केन्द्र तोकिएको छ । १० वटा मतदान केन्द्रलाई अतिसंवेदनशील केन्द्रका रूपमा छुट्याइएको छ । जिल्ला सुरक्षा समितिले जिल्लाका थप ३० वटा मतदान केन्द्रलाई संवेदनशील र एक सय ३७ मतदान केन्द्रलाई सामान्य मतदान केन्द्रका रूपमा छुट्याएको हो ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराको गन्यापधुरा– १ रुवाखोला स्थित आसिग्राम माध्यमिक विद्यालयबाट मतदान गर्नुभएको छ ।
नेकपा एमालेका महसचिव एवंम् लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शङ्कर पोखरेलले मतदान गर्नुभएको छ । तुलसीपुर उपमहानगरपालिका – १९ जनता विद्यापीठ बिजौरीमा रहेको मतदान केन्द्रबाट मतदान गर्नु भएको हो ।
राममणि दाहालहेटौँडा, मङ्सिर ४ गते । प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनअन्तर्गत मकवानपुरमा आइतबार बिहानैबाट मतदान जारी रहेको छ । मतदान बिहान ७ बजेबाट सुरु भएसँगै मतदान केन्द्र र वरपरको क्षेत्रमा चहलपहल सुरु भएको हो । मतदान शान्तिपूर्ण सम्पन्न गर्न तीन तहमा सुरक्षा व्यवस्था मिलाइएको छ । मतदान केन्द्रको पहिलो घेरामा म्यादी प्रहरी र नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र अन्तिम घेरामा नेपाली सेना सुरक्षाका लागि रहेका छन् । सुरक्षाकर्मीले मतदातासँगै, मतदान केन्द्र मतपत्र र मतपेटिकाको सुरक्षा गर्नेछन् । मकवानपुरमा म्यादी प्रहरी एक हजार ६९९, जनपथ प्रहरी एक हजार ६९, सशस्त्र प्रहरी चार सय र नेपाली सेना खटाइएको छ ।जिल्लाको १६७ मतदान स्थल र दुई अस्थायीसहित ३६६ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । जिल्लाको सबै मतदान केन्द्रमा मतदाताले निर्बाध रूपमा मतदान गरिरहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिनुभयो ।जिल्लाको प्रतिनिधि सभा सदस्यमा निर्वाचन क्षेत्र नं. १ मा दुई स्वतन्त्रसहित १७ जना र क्षेत्र नं. २ मा एक स्वतन्त्रसहित १० जना प्रतिस्पर्धामा छन् ।यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र १ मा दुई स्वतन्त्रसहित १० जना र प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ मा छ स्वतन्त्रसहित १५ जना तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभा निर्वाचन क्षेत्र १ मा तीन स्वतन्त्रसहित आठ जना र प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ मा छ तीन स्वतन्त्रसहित १० जना प्रदेश सभा सदस्यमा उम्मेदवार रहनुभएको छ ।मकवानपुरमा आइतबार जारी निर्वाचनका लागि एक लाख ५३ हजार ५२८ पुरुष, एक लाख ४७ हजार दुई सय महिला र अन्य पाँच जना गरी तीन लाख ७३३ मतदाता कायम भएको छ।प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा ७४ हजार ९३० पुरुष, ७५ हजार २२१ महिला र अन्य चार गरी एक लाख ५० हजार १५५ मतदाता मतदानमा सहभागी हुँदै छन् । निर्वाचन क्षेत्र नं. २ मा ७८ हजार ५९८ पुरुष, ७१ हजार ९७९ र अन्य एक जना गरी एक लाख ५० हजार ५७८ मतदाता रहेका छन् ।प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा ६२ मतदान स्थल र १७२ मतदान केन्द्र तथा निर्वाचन क्षेत्र नं. २ मा मतदान स्थल १०५ र मतदान केन्द्र १९२ वटा रहेको छ । यसैगरी मकवानपुरमा प्रतिनिधिसभा क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा पुरुष ४० हजार १११, महिला ३७ हजार ८७७ र अन्य एक गरी कुल मतदाता ७७ हजार ९८९ जना तथा प्रदेश सभा निर्वाचन क्षेत्र २ मा पुरुष मतदाता ३४ हजार ८१९, महिला ३७ हजार ३४४ र अन्य तीन जना गरी ७२ हजार १६६ मतदाता छन् । यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंं २ को प्रदेश सभा निर्वाचन क्षेत्र १ मा पुरुष मतदाता ४२ हजार ८४३, महिला मतदाता ४० हजार २५५ र अन्य एक जना गरी ८३ हजार ९९ जना तथा निर्वाचन क्षेत्र २ मा पुरुष मतदाता ३५ हजार ७५५ र महिला ३१ हजार ७२४ गरी ६७ हजार ४७९ जना रहेका छन् । प्रतिनिधि सभा १ को प्रदेश सभा निर्वाचन क्षेत्र १ मा मतदान स्थल ४७ र मतदान केन्द्र ९५, क्षेत्र नं. २ मा मतदान स्थल १५ र मतदान केन्द्र ७७ तथा प्रतिनिधि सभा क्षेत्र नं. २ को प्रदेश सभा क्षेत्र नं. १ मा मतदान स्थल ५६ र मतदान केन्द्र १०८, प्रदेश सभा २ मा मतदान स्थल ४९ र मतदान केन्द्र ८४ रहेको छ ।
प्रमुख राजनीतिक दलका उम्मेदवारले मतदान गर्नुभएको छ । प्रतिनिधिसभा र प्रदेशसभाकाे आज देशभर मतदान भइरहेको छ । मतदान आज बिहान ७ बजेदेखि सुरु भएको हो ।
शेरबहादुर सार्कीबाजुरा, मङसिर ४ गते । बाजुरामा शान्त वातावरणमा मतदान भइरहेको छ । बिहान ७ बजेबाट सुरु भएको मतदानमा मतदाताहरूले शान्त वातावरणमा मतदान गरेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । आज भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्यका निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय बाजुराले कात्तिक २९ गतेबाट निर्वाचन सामग्री रुजु गर्दै कर्मचारीहरूलाई मतदान स्थलमा पठाएको जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले बताउनुभयो ।बाजुरामा ७० वटा मतदान स्थल र ११२ मतदान केन्द्र र २ वटा अस्थायी केन्द्र अहिले शान्तपूर्णरुपमा मतदान सुरु भएको छ । सो मतदान केन्द्रमा अहिले ९०१ जना कर्मचारीसमेत खटाएका छन् । आजको निर्वाचनमा महिला ४० हजार ८३८ र पुरुष ४२ हजार ७२७ गरी ८३ हजार ५६७ जना मतदाताले मतदान गर्न पाउने छन् ।बाजुरामा जङ्गबहादुर गिरी स्वतन्त्र टेक बहादुर बडुवाल जन समाजवादी राम बहादुर शाही, नेकपा एमालेका कर्ण बहादुर थापा र नेपाली कांग्रेसका पार्टीका बद्रीप्रसाद पाण्डे प्रतिनिधि सभा सदस्यका उमेदवार रहेका छन् । भने प्रदेश (क) नेकपा एमालेका बलदेव रेग्मी नेकपा नेकपा माओवादी केन्द्रका कर्ण बहादुर बि.क. एकीकृत समाजवादी पाटीका नरेश शाही उम्मेदवार रहेका छन् । प्रदेश (ख) बाट नेकपा एमालेका लालबहादुर थापा नेपाली काँग्रेसका पदम बहादुर शाही उम्मेदवार रहेका छन् । चुनावलाई सभ्य र भयरहित तरिकाले सम्पन्न गर्ने गरी नेपाल आर्मी, नेपाल प्रहरी, नेपाल सशस्त्र प्रहरी, अनुसन्धान विभाग गरी चारवटा तहका सुरक्षाकर्मीको समेत व्यवस्था गरेको छ, अहिले जिल्ला सबै मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका दिन आज नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदान गर्नुभएको छ ।
आफ्नो मताधिकार प्रयोग गरी योग्य उम्मेदवारलाई छनाेट गर्न निर्वाचन आयुक्त इश्वरप्रसाद पौड्यालले आग्रह गर्नुभएको छ । लोकतन्त्रमा मतदानबाट मात्र नेतृत्व र विधि पद्धतिको चयन हुने भएकाले मतदान प्रमुख भएको भन्दै निर्धक्क भएर योग्य उम्मेदवार छनौट गर्न उहाँले बताउनुभयो ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहटको रामजानकी कन्या आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
नेपाली कांग्रेसका प्रभावशाली नेता तथा मोरङ क्षेत्र नं. ६ का लोकतान्त्रिक–बाम गठबन्धनका उम्मेदवार डा. शेखर कोइरालाले विराटनगर महानगरपालिका वडा नं. ७ स्थित आदर्श उच्च माविको मतदान केन्द्रबाट मतदान गर्नु भएको छ ।
राधाकृष्ण डुम्रेवालिङ, मङ्सिर ४ गते । नेपाली काँग्रेसका उपसभापति तथा स्याङ्जा -२ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार धनराज गुरुङले मतदान गर्नुभएको छ । गुरुङले स्याङ्जाको अर्जुन चौपारी रानीचरी खाल्टेमा रहेको मतदान केन्द्रमा मतदान गर्नुभएको हो । गुरुङले आफैँलाई भने मतदान गर्न पाउनु भएन । उहाँले मतदान गरेको क्षेत्र १ नं हो भने उहाँ २ नम्बरको उम्मेदवार हुनुहुन्छ ।
संविधानसभा अध्यक्ष तथा नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले देशमा आर्थिक, सामाजिक, सांस्कृतिक परिवर्तन आवश्यक रहेको बताउनु भएको छ ।
निर्वाचन आयोगका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले काठमाडौं महानगरपालिकास्थित अनामनगरको मिलन विद्यामन्दिर स्कुल मतदान केन्द्रबाट मतदान गर्नुभएको छ।
कतारमा हुने यो विश्वकप धेरै मानेमा विशेष छ। हिउँदयाममा आयोजना हुने यो पहिलो विश्वकप हुने छ। इस्वी संवत् वर्षको मध्य समयमा हुने गरेको विश्वकप कतारको प्रचण्ड गर्मीका कारणले त्यस अवधिमा हुन नसक्ने भएका कारण फिफाले हिउँदमा विश्वकप सञ्चालन गर्ने निर्णय लिनु परेको थियो। मध्यपूर्व क्षेत्रमा अवस्थित कतारमा धेरै गर्मी हुने गर्छ। गर्मीयाममा यहाँको तापक्रम ५० डिग्री सेल्सियससम्म पुग्नुलाई अचम्म मानिँदैन। यस्तो विषम परिस्थितिबीच विश्वकप परम्परागत समयमा आयोजना सम्पन्न गर्ने सम्भव नदेखिँदा कतारले आफूले पाएको आयोजना अधिकारसमेत गुमाउने अवस्था सिर्जना भएको थियो। तर कतारले हिउँदमा आयोजना गर्ने प्रस्ताव राख्यो र सबै रङ्गशालालाई वातानुकूलित बनाउने प्रतिबद्धता जाहेर गरेपछि फिफा आयोजक परिवर्तन गर्ने विचारबाट पछाडि हट्यो।