अमरराज नहर्की
तनहुँ, मंसिर ४ गते । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका दिन आज नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदान गर्नुभएको छ ।
तनहुँ –१ बाट प्रतिनिधि सभा सदस्यमा सत्ता गठबन्धनका साझा उम्मेदवार समेत रहनुभएका पौडेलले तनहुँको दमौलीस्थित सत्यवती केन्द्रबाट मतदान गर्नु भएको हो । उहाँले सत्यवती केन्द्रबाट सबैभन्दा पहिले मत हालेर मतदानको शुभारम्भ गर्नुभएको हो ।
पौडेलले मतदानपश्चात् सञ्चारकर्मीहरूसँग कुरा गर्दै लोकतन्त्र संस्थागत गर्न शान्ति, स्थिरता र समृद्धिका लागि यो निर्वाचन महत्त्वपूर्ण रहेको बताउनुभयो । निर्धक्क भएर मत प्रयोग गर्नुपर्ने, विवेक प्रयोग गर्नुपर्ने, राष्ट्रप्रतिको कर्तव्य पूरा गर्न पनि मतदान गर्नुपर्ने उहाँको भनाइ छ ।
सातौँ पटक चुनावी मैदानमा उत्रिएका पौडेल २०४८ सालदेखि लगातार चुनाव लडिरहनु भएको छ । २०४८ सालमा तनहुँ क्षेत्र नं १ बाट विजय भएका पौडेलले २०५१ सालमा निर्वाचन क्षेत्र फेर्दै क्षेत्र नं २ बाट विजयी हुनु भएको थियो । त्यसपछि लगातार २०५६, २०६४ र २०७० मा उहाँ क्षेत्र नं २ बाटै निर्वाचित हुनुभयो ।
पौडेल सभामुख, उपप्रधानमन्त्री, स्थानीय विकास मन्त्रीलगायतका धेरै मन्त्रालय सम्हाल्ने मौका पाउनु भएको छ ।
तीनवटा क्षेत्र रहेको तनहुँमा नेपालको सङ्घीय पुनर्संरचना अनुसार २०७४ को चुनावमा दुईवटा मात्रै क्षेत्र कायम भयो । जसमा क्षेत्र नं १ रोजेर चुनाव लडेका पौडेल तत्कालीन नेकपा एमालेका उम्मेदवार कृष्णकुमार श्रेष्ठसँग पराजित हुनु भएको थियो ।
पौडेललाई श्रेष्ठले ६ हजार ८ सय २ मतान्तरले पराजित हुनुभयो । छैटौँ पटकको यात्रामा ठेस लागेका पौडेलले अहिले सातौँ पटक जित निकाल्ने प्रयासमा हुनुहुन्छ । पौडेलसँगै स्वतन्त्र उम्मेदवारी दिनुभएका नेपाली कांग्रेस पूर्व सह-महामन्त्री तथा पूर्व गृहमन्त्री गोविन्दराज जोशी र नेकपा एमालेका एकबहादुर राना गरी त्रिपक्षीय भिडन्त भएको छ । पूर्व सह महामन्त्री जोशीले भानु नगरपालिका–११ मानेचौका स्थित त्रिभुवन माविमा मतदान गर्नुभएको छ ।