तेहरान, चैत १० गते । अमेरिकाको धम्कीपछि केही घण्टामै इजरायली-अमेरिकी संयुक्त आक्रमणले इरानका दुई ग्यास सुविधा र पाइपलाइनलाई लक्षित गरेको इरानी मिडिया मङ्गलबारले जनाएको छ ।
फार्स समाचार एजेन्सीका अनुसार मध्य इरानमा रहेका ग्यास प्रशासन भवन र इस्फहानको काभेह स्ट्रिटमा रहेको ग्यास प्रेसर रेगुलेसन स्टेसन आंशिक रूपमा क्षतिग्रस्त भएको छ । देशको दक्षिणपश्चिममा रहेको खोर्रमसहर पावर प्लान्टको ग्यास पाइपलाइन पनि आक्रमणको निशानामा परेको बताइएको छ ।
तर स्थानीय गभर्नरले पूर्वाधार सामान्य रूपमा सञ्चालनमा रहेको र ग्यास आपूर्तिमा अवरोध नभएको पुष्टि गरेका छन् । इरानी मिडियाले यो घटनालाई ‘जियोनिस्ट र अमेरिकी शत्रुले गरेको चलिरहेको आक्रमणको हिस्सा’ भनेको फार्सले बताएको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्बन्धित ऊर्जा पूर्वाधारमा आक्रमण गर्ने धम्की दिनुभएको थियो, तर सोमबार अचानक प्रतिक्रिया परिवर्तन गर्दै ‘सबै कुरा धेरै राम्रो भइरहेको छ’ भन्नुभएको थियो ।
तर इरानी मिडियाले युद्ध अन्त्य वा वार्ताको कुनै सङ्केत नभएको उल्लेख गरेको छ । विशेषज्ञले यस घटनालाई क्षेत्रीय तनाव र ऊर्जा सुरक्षा जोखिमको सङ्केतका रूपमा हेरिरहेका छन् । अमेरिकी–इजरायली कदमले इरानको रणनीतिक ग्यास आपूर्ति र पावर प्लान्टमाथि दबाब कायम गर्ने प्रयास भएको देखिन्छ । स्रोतका अनुसार आक्रमणले तत्काल ग्यास आपूर्ति बाधित नगरे पनि आंशिक क्षतिले लामो समयमा मर्मत र निगरानी आवश्यक पर्ने अवस्था सिर्जना गरेको छ । रासस/एएफपी