• १० चैत २०८२, मङ्गलबार

क्षयरोग नियन्त्रण तथा व्यवस्थापनमा नवलपरासी उत्कृष्ट

blog

क्षयरोग नियन्त्रण तथा व्यवस्थापनको क्षेत्रमा देशकै उत्कृष्ट जिल्लाको रुपमा स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख अंगद शाहीलाई प्रमाणपत्र प्रदान गर्दे स्वास्थ्य मन्त्रालयका सचिव विकास देवकोटा ।

बिकास अधिकारी

पश्चिम नवलपरासी, चैत १० गते । स्वास्थ्य कार्यालय पश्चिम नवलपरासी क्षयरोग नियन्त्रण तथा व्यवस्थापनको क्षेत्रमा देशकै उत्कृष्ट भएको छ । विश्व क्षयरोग दिवस २०८२ को अवसरमा काठमाडाैंमा आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटा स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख अंगद बहादुर शाहीलाई प्रमाणपत्रसहित सम्मान गर्नुभएकाे हाे । 

सम्मान समारोहमा बोल्दै सचिव देवकोटाले विविध चुनौतीका बाबजुद पनि क्षयरोग नियन्त्रण तथा व्यवस्थापनमा नवलपरासीले उत्कृष्ट उपलब्धि हासिल गरेको बताउँदै रोगी पहिचानको काममा ध्यान दिन सबैमा आग्रह गर्नुभयो । 

स्वास्थ्य कार्यलयका प्रमुख शाहीले समयमै पहिचान, प्रभावकारी उपचार, बिरामीको नियमित निगरानी तथा समुदाय स्तरमा जनचेतना अभिवृद्धि जस्ता पक्षमा जिल्लाले उल्लेखनीय प्रगति गरेको आधारमा देशमै उत्कृष्ट भएको बताउनुभयो । "यो स्वास्थ्य कार्यालयको मात्र नभई सबै स्थानीय तह तथा सरोकारवाला सहयोगी निकायको साझा उपलब्धि हो," शाहीले भन्नुभयो । 

नवलपरासीमा क्षयरोगी खोजपडतालमा केही स्थानीय तहले प्रभावकारी रुपमा काम गरेका थिए । जसका कारण पनि नवलपरासीको सूचकाङ्कमा उल्लेख्य प्रगति भएको पाइएको छ । नवलपरासीमा चालु आर्थिक वर्षको हाल सम्मको अवधिमा ६ सय १० जना नयाँ क्षयरोगी पहिचान भएका छन् भने ८ महिनाको अवधिमा १० जना क्षयरोगीको मृत्यु भएको छ । गत आर्थिक वर्षमा १ हजार ६० जना नयाँ क्षयरोगीको पहिचान र १६ जनाको मृत्यु भएको थियो ।

गत आर्थिक वर्षमा ९३ जना उपचार पछि निको भएका थिए भने चालु आर्थिक वर्षको हाल सम्मको अवधिमा पनि नियमित औषधि सेवन पछि ८७ जना निको भएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा सबैभन्दा बढी क्षयरोगी रामग्राममा पहिचान भएका छन् । रामग्राम नगरपालिकाले गाउँ गाउँमा क्षयरोगी खोजपड्ताल अभियान सञ्चालन गरेको थियो । क्षयरोगीको पहिचान गर्ने र उपचारको दायरामा ल्याउने कामनै अहिलेको मुख्य चुनौती भएको स्वास्थ्य कार्यालय प्रमुख शाहीले बताउनुभयो ।