• १० चैत २०८२, मङ्गलबार

सप्तरीमा गहुँ उत्पादन कम हुने अनुमान

blog

वर्षा र हावाहुरीले खेतमै लडाएको गहुँबाली । तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह

राजविराज, चैत १० गते । सप्तरीमा यसवर्ष गहुँ उत्पादनमा कम हुने अनुमान गरिएको छ । धानपछिको दोस्रो गहँुबाली पाक्ने बेलामा भएको बेमौसमी वर्षासँगै आएको हावाहुरीको असरले यसपटक जिल्लामा गहुँ उत्पादन कम हुने अनुमान गरिएको हो । 

चार दिनअघि भएको वर्षासँगै हावाहुरीले गहुँ खेतमा पानी जम्नुको साथै गहुँबालालाई खेतमै सुताएकोले (लडाएको) नोक्सानी पुर्‍याएकाे कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ ।

यस्तै धान भित्र्याउने बेलामा परेको पानीले बाली लगाउने बेलासम्म खेत अत्यधिक चिस्यान भएको कारण गहुँ खेतीमा ढिलाइ भएको कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख किसुनदेव राउतले जानकारी दिनुभयो । उहाँले खेतमा गहुँ बिउ राख्न ढिलो हुनु र खेत लामो समयसम्म चिस्यानले गहुँबाली राम्ररी नसप्रिएको कारण पनि उत्पादनमा कमि आउने अनुमान रहेको बताउनुभयो ।

गहुँ खेती समयमा लामो समयमा खेतमा पानी जमेकोले गहुँ बिउ राख्ने खालको खेत तयार हुनमै धेरै समय लाग्यो उहाँले भन्नुभयो, खेत चिस्याएको कारण गहुँको उर्वरा शक्ति पनि कम भयो । उम्रेका बोटमा पनि ताकत कम देखियो । फलेका गहुँको बालामा दाना पनि पुष्ट छैन, यसले तौल पनि कम हुन्छ, उहाँले भन्नुभयो ।

गहुँ छर्ने बेलामा खेत सुक्खा नहुँदा बेलामा खेती गर्न धेरै ढिलो भयो, रुपनी गाउँपालिका वार्ड नं। २ का किसान उत्तिम साहले बताउनुभयो । उहाँले भन्नुभयो, ढिलै भएपनि १० कठ्ठामा गहुँ खेती गरियो, तर सन्तोषजनक बाली छैन । गहुँ खेतीबाट यसपटक धेरै आम्दानी हुने आशा पनि छैन, लागत जति उठ्न सक्छ । र, वर्षभरी खान पुग्नेछ ।

गहुँबाली भित्र्याउने मुख्य चैत र बैशाख महिना नै हो । अहिले धेरैको गहुँबाली पाकेको छैन । चैत–वैशाखमा फेरि हावाहुरी, असिना पानी आउने सम्भावना रहन्छ, यसले ठूलो क्षती पुर्‍याउने सम्भावना रहँदा किसानहरुमा चिन्ता जागृत नै छ ।

गहुँबाली उत्पादन हुनेमध्ये सप्तरी पनि प्रमुख स्थानमै रहेको कृषि ज्ञान केन्द्र राजविराजका प्रमुख राउतले जिल्लामा यस वर्ष ३५ हजार हेक्टर क्षेत्रफल खेती योग्य जग्गामा गहुँबाली लगाएको जनकारी दिनुभयो । यस वर्ष करिब दुई दशमलव दुई ९२.२० मेट्रिक टन प्रति हेक्टर गहुँ उत्पादन हुने अनुमान गरिएको उहाँले बताउनुभयो ।