शिवशङ्कर मिश्रा
बारा, चैत १० गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एक सेवानिवृत्त शिक्षकसहित दुई जनाको मृत्यु भएको छ। तीव्र गति र सडक सुरक्षामा गरिएको लापरबाहीका कारण पछिल्लो समय दुर्घटना बढ्दै गएका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढका अनुसार रौतहटको सङ्ग्रामपुर घर भई जीतपुरसिमरा–२ मा बसोवास गर्दै आएका ६२ वर्षीय सेवानिवृत्त शिक्षक केदारप्रसाद शर्माको सडक दुर्घटनामा ज्यान गएको हो। उपमहानगरपालिकाको वडा नम्बर–१५ स्थित रजघट्टाबाट डुमरवानातर्फ जाँदै गरेका दुई वटा ट्याक्टर एकापसमा ओभरटेक गर्ने क्रममा दुर्घटना भएको हो।
ना. ७ त. ५२५६ नम्बरको ट्याक्टरले सोही दिशामा मोटरसाइकल चलाइरहेका शर्मालाई आज बिहान ९:४५ बजे ठक्कर दिएको प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिनुभयो। उहाँका अनुसार ठक्करबाट गम्भीर घाइते भएका शर्मालाई उपचारका लागि वीरगन्जस्थित मेडिसिटी अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो। प्रहरीले ठक्कर दिने ट्याक्टरका चालक १७ वर्षीय सन्देश कुशवाहा र सवारी साधनलाई नियन्त्रणमा लिएको छ।
यसैबिच, आइतबार राति भएको अर्को दुर्घटनामा बसको ठक्करबाट अर्का एक मोटरसाइकल चालकको मृत्यु भएको छ। जीतपुरसिमरा–२२ मा बा. प्र. ०१–००६ ख. ९९७७ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्र. ३–०२–०१३ प. ३०२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गोरखा निवासी ३५ वर्षीय रामकुमार कोइरालाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढले जनाएको छ।
लगातार भइरहेका यस्ता दुर्घटनाले सडक सुरक्षा व्यवस्थापनमा थप कडाइ आवश्यक देखिएको स्थानीयवासीले बताएका छन्। प्रहरीले दुवै दुर्घटनाबारे थप अनुसन्धान गरी कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ।